महिला वस्त्रको किन अपमान ?

(सामाजिक सञ्जालहरुमा देखिने तस्विरको नमुना)

के खराब काम जति सप्पै महिलाले गर्छन् ? देश बिगार्ने महिला ? बोलीको ठेगान नहुने महिला ? ज्यान मार्ने महिला ? राष्ट्रियता बिरोधी महिला ? हेप्नेपनि एउटा हद हुन्छ नी हैन ? महिलाहरुका प्रिय वस्त्रलाई किन खराब आचरणका नेतालाई पहिराइदिएर महिला वस्त्रको बेइज्जत गर्ने ? के खोट छ महिला वस्त्रमा ? के महिला वस्त्रको माध्यम लिएर नेपाली महिलालाई हेप्न खोजेको ? चुरा र पोते भनेको आफ्नो जिवन साथी, लोग्नेको सम्मान हो । आदर्श हो । ईज्जत र महिलाको प्रतिष्ठा हो । यी नेतालाई गाली गर्न महिलाले श्रद्दा गर्ने ति वस्त्र र गहना लगाइदिनु भनेको “आइमाइहरु यस्ता” भनेर महिलाहरुको बेईज्जत गर्नु हो ।

चुरा पोते र सिन्दुर भनेको म विवाहित छु भनेर समाजलाई देखाउने वस्तु हुन् । महिला परिपक्कता, जिम्मेवारी अनि धार्मिक सामाजिक रुपमा भिन्न पहिचान स्थापित गर्ने ति साधन हुन् । त्यससित पुरुषको ईज्जत, प्रतिस्ठा र नातो गाँसिएको हुन्छ ।  महिलाले सम्मान गर्ने, महिलाले श्रद्दाले लगाउने तिनको  अपमान गर्ने अधिकार कसैलाई सुरक्षित छैन ।

असफल, राष्ट्रघाती, बोलीको कुनै ठेगान नभएका, जनताको मनबाट दिन दिनै खुइलिँदै गएका नेताका शरिरमा यसरि महिला वस्त्र लगाएर महिलालाई हेप्ने चल्न बढिरहेको छ । पत्रीकाका पाना मात्रै होइन कि फेस बुक जस्ता सामाजिक सञ्जाल वा अनलाइन मेडिया । आजकाल नेताहरुको बेईज्जति गर्नु पर्दा होस् कि कमजोरी देखाउन यसैगरि महिलाका पहिरन लगाइदिने गरिन्छ । त्यस्ता सञ्जालहरुमा बिरोध गर्नुको साटो झन मन पराउनेमा महिला अगाडि देखिन्छन् । हत्त न पत्त लाईक (Like) मा क्लिक गरिहाल्छन् ।

के खोट छ महिलाको चुरा, पोते, धागो र टिकामा ? नेताहरुको असफलता, बदमासी, असक्षमता, दरिद्रता, राष्ट्रघात देखाउन किन दुरुपयोग गर्ने महिला पहिरनको ? सबै नकारात्मक चिजका संकेत हुन् महिलाका पहिरन ? महिला वस्त्रको आफ्नै सुन्दरता, महत्व र प्रयोगको तरिका छ । ति महिलाका गहना हुन् । तिनको आफैंमा कुनै खोट छैन । असफल पुरुष नेता र तिनका दोषहरुलाई संकेत गर्न महिलाका वस्त्र प्रयोग गर्नु महिलालाई हेप्नु हो । यस्ता बदमास नेता र तिनको कर्तुतलाई महिला वस्त्रसित जोड्नु न्याय होइन । यसको चौतर्फी बिरोध हुनु जरुरी छ  ।  महिलाहरुलेनै समर्थन गर्ने होइन ।

तपाइँको प्रतिक्रिया