यसरि पो बनाउने रैछन् हाम्रा नेताले नेपाललाई स्विजरल्याण्ड ?
गत हप्ता स्विजरल्याण्ड बिताइयो तिन रात । झण्डै एक वर्षको प्रयत्नपछि बल्ल तला मिल्यो त्यो भ्रमण । किनभने आफूलाई घुम्नुभन्दा काम गर्नु थियो । अर्थात नेपाल चिनेजानेका, लामो समयदेखि देखे भोगेका केहि स्विस नागरिक र बिदेशको बसाईका क्रममा मन छुने कथा बोकेका केहि नेपालीसित । त्यसको मेसो बल्ल तल्ल मिलाइदिए नेपालप्रेमी आमुसले ।
म धेरै ठाउँ घुम्न देख्न त पाइन । कता पाइएलान उचित पात्र यस्सो बातचित गर्ने भनेर खोजिम लाग्दै बित्यो । तैपनि केहि नेपाली मित्रहरु फेला परे । कोहि भेटिए प्रत्यक्ष । कसैसित फोनमैपनि गफगाफ मरियो । कसैले निम्ता दिंदापनि स्विकार सकिएन । आशिस, कमल केसी, दीपक शर्मा, सानुभाइ महर्जन, जोली प्रधान, पुण्ड्य पौडेल, धनपती सापकोटा लगायत अरुकेहि सित भेट भयो । केहि कुरा सुनियो । कुरा केशरी लामा दिदीका झन घतलाग्दा थिए ।
स्विजरल्याण्ड यस्तो देश हो जसले धेरैलाई आकर्षित गर्छ । हाम्रा नेता त पाएसम्म ज्याननै हुत्याउँछन् । नेताको लर्को लाग्छ यहाँ । भूपरिबेष्ठित देश यो पनि हाम्रो जस्तै । हाम्रा नेता नेपाललाईपनि यस्तै बनाउने भनेर आउंछन् हुल बाँधी बाँधी । तर के हेर्न आउंछन् ? के सिक्छन् ? के देखेर बुझेर जान्छन् ? ति आएर साँच्चै बुझ्न तिर लाग्छन् कि घुम्घाम, मस्ति, यो देशको सुन्दर द्रिष्य बिचरण गर्नतिर लाग्छन् ? मलाई खुलदुली थियो । देखे भेटेका धेरै नेपाली होउन् कि स्विस मेरो चसोको विषय योपनि थियो । नेपाली नेता साँच्चै के गर्छन् ? रोचक रोचकका घटना, थरी थरीका चर्तिकला सुनिए ।
एक दिन म र आमुस सेर्ज लुसान भन्ने ठाउँमा हुइँकिएका थियौं एडि मुलेमान सित बातचित गर्न । मुलेमानसितको अन्तर्वार्ता आगामी पुस्तककालागि हो । केहि अनुभव छुट्टै दिन लेखौंला । जेनेभा ताल देखिने डाँडोमा पुगियो । त्यहिँ डाँडाको टुप्पोमा बसेर मैले उनीसित अन्तर्वार्ता गर्दा गर्दै धनपती सापकोटाले फोन गरे ‘कहाँ हुनुहुन्छ ददिजी म त्यहिँ तपाईहरुलाई भेट्न आएको, रेल स्टेशनमा छु”। हतारिएर रेल स्टेशनको एउट रेस्टुरेन्टमा गयौं । मुलेमान भएपछि हँसो र ठट्यौलीको दुखै नहुने रहेछ । शब्द शब्दमा हँसाउने । तर गज्जबको कुरो चल्यो त्यहाँ नेपालको राजनितिबारे । म, सेर्ज, मुलेमन र उनैकी नेपाली श्रीमती । सबैले नेपाली बुझ्ने ।
संघियता बारे स्विजरल्याण्डमा अध्ययन गर्न भनेर खुब जान्छन् नेता । एक पटक नेपाली कांग्रेसका उपसभापती रामचन्द्र पौडेल पुग्दा संघियताबारे चासो राखेछन् । नेपालमा कस्तो संघियता चाहिन्छ ? कस्तो संघियताले देशको भलो गर्छ ? नेपाली कांग्रेसले चाहेको कस्तो खालको संघियता हो ? केहि जवाफ नै दिन सकेनछन् नेपालीहरुलाई । धनपती भन्दै थिए “संघियताको अध्ययन गर्न भनेर बिदेश आउँछन् । तर कस्तो संघियता चाहिएको हो समेत भन्न सक्दैनन् । यस्ता मान्छेले देश चलाउँछु भनेर कहाँ पुग्ने ?
नेताहरु धेरै जान्छन् स्विजरल्याण्ड । कार्यक्रममा भाग लिन भनेर । केहि सिक्न । जानेर पार्टीमा छलफल अनि बहस गर्न । जानेको सिप अरुलाइ हस्तान्तरण गर्न । निति नियम बनाउँदा स्विजरल्याण्डको अनुभव, त्यो देशले गरेका प्रगतिका अक्किल समेटेर, अनुभव लिएर कार्ययोजना बनाउने । तर स्विजरल्याण्डमा ति कोहि त कार्यक्रम हुँदा सुपरमार्केटतिरै घुमिरहेका हुने रहेछन् । आएकै दिनदेखि पाँच तरे होटेलमा बसे । कार्यक्रम चलिरहेको हुन्छ । तर ति मस्तिले बाहिर बाहिरै घुमिरहने रहेछन् । कोहि मनमोहक ठाउँ घुम्न जाने । कोहि महँगा पसलहरुको खोजि गर्दै फोन घुमाउने । कतिपय त अझ अनेक थरी बिल बनाउने । तर खानपिन दुतावासमा वा अझ चिनेजनेका स्थानिय नेपाली र स्विसको घरमा खाएर खर्च देखाइ देखाइ देश लुट्ने ।
स्विजरल्याण्डका चाखलाग्दा प्रसंग धेरै छन् हेर्दै गर्नुहोला ।





