खोइ त महिला ? जहाँपनि पुरुषकै बर्चस्व ?

1234878585_a.jpg

(खोइ त महिला ? जहाँपनि पुरुषकै बर्चस्व ? यो ड्यासमा बस्न लायकको महिला एक जनापनि नभएर हो ?)

 

यो नारी समानता र संलग्नताका गफ धेरै उठ्छन । गरमागरम बहस र छलफलपनि निकै चल्छन । यो उठाउनेपनि समाजमा जाने बुझेका, पढेलेखेका र सामाजिक हैसियत बनाएकालेनै हो मुलत । तर मलाई भने त्यो नारा र ति भनाईमा निरन्तर महिला बिरोधी हस्को आउने गर्छ । अधिकांश त्यस्तो माग उठाउनेहरु र बहस चलाउनेहरुलेनै नारीहरुलाई घरको सुन्दर कैदमा स्वतन्त्र छोडेर आफु घर बाहिरका बिभिन्न कार्यक्रममा नारी सहभागिता र समानताका गफ छाँड्दै हिँड्छन ।

टाढा किन जाने ? हालसालै पेरिसमा भएको गैह्र आवासिय नेपालीहरुको ब्रिहद भेलालाई नै लिउँ । यसैपनि समितिमा महिलाको उपस्थिति ३० प्रतिशतपनि छैन । झन फ्रान्सको अन्य केहि शाखामा त एक जनापनि छैनन महिला । अहिले नेपालमै कम्तिमा ३३ प्रतिशत महिला सहभागिता हुनै पर्ने नियम बनेको छ । नेपालकै महिलाले बरु ३३ प्रतिशत किन ? ५० प्रतिशत महिला हुनुपर्छ भन्ने माग उठाइरहेका छन । अनि एन आर एन जस्तो विश्वभरि फैलिएको संस्थामापनि कम्तिमा त्यो पालना हुनुपर्ने होइन ? बिकसित देशमा बस्ने महिला र पुरुष दुबैको चेतनास्तर नेपालमा भन्दा उच्च हुन्छ भनिन्छ । अनि बिदेशमा बस्नेले घिरौंला जत्रो नाक पारेर आफु नेपालमा बस्ने महिलाभन्दा जान्ने बुझ्ने भएको दाबी पनि गर्छन । तर खोइ त त्यो ब्यवहारमा देखिएको ?

यत्रो बिकसित, अवसरै अवसर, महिला स्वतन्त्रता भएको ठानिने यो मूलुकमा बस्ने महिलाको सहभागिता कति लाजमर्दो छ यसैले देखाउँछ । फर्वरी १५ मा भएको त्यो ब्रिहद भेलामा हल्याण्ड, जर्मनी, बेलायत लगायतका मूलुकबाट धुरन्धर बिद्वानहरु आएका थिए भेलामा उठ्ने विविध जिज्ञासाको जवाफ दिनकालागि । तर ति देशबाट एक जनापनि महिला आएनन । सबै पुरुष थिए । मलाई लागेको के हो भने त्यत्रा धुरन्धर बिद्वानहरुका पत्नी, छोरी, बुहारी के सबै निरक्षर थिए होलान ? होइन भने किन एक जना महिलाकोपनि सहभागिता हुन सकेन ? के ति बिद्वानहरुका सबै पत्नी, छोरी, दिदी बहिनी कोहिपनि यस्ता कुरामा चासो राख्दैनन ?  कि सबैको काखमा ससाना वालवच्चा भएकोले कार्यक्रममा सहभागि हुन नसकेर हो ?

ब्रिहद भनिएको भेलामा मञ्चमा बस्ने एक जनापनि थिएनन महिला । कार्यक्रममा नेपाली साहित्यलाई कसरि फ्रान्सेली साहित्यमा प्रवेश गराउन सकिन्छ भन्ने विषयमा कल्पना घिमिरेले नबोलेको भए त्यो कार्यक्रम महिलाबिहिन हुने थियो । उद्घोषिका महिला थिईन । महिला उद्घोषिका कुनैपनि कार्यक्रमको शोभा बढाउन र मिठो हुन्छ महिला स्वर भन्ने मनशायले राखिएको हुन्छ कार्यक्रममा सक्रिय सहभागिता भन्दापनि ।

यहि तर्क निकाल्दा एक जनाले सर्भाईवल इज द फिटेस्ट भन्ने जवाफ दिनु भयो । साँच्चिकै त्यो ड्यासमा बस्ने सबै सर्भाईबल इज द फिटेस्ट (परिस्थिति सँग जो लडेर आफ्नो अस्तित्व कायम गर्न सक्छ वा जो बलियो छ उसैले जित्छ वा उहि अस्तित्वमा रहन्छ) भएर हो ? यो चार्ल्स डार्बिनले पारिद गरेको सिद्दान्त हो । सय वर्ष भन्दापनि अघि । अहिले यो मान्यता लागू हुँदैन तपाईहरुलाई जानकारी छ भने । सय वर्ष अघिको त्यो थोत्रो सिद्दान्त जपेर बस्नु त्यसपछि बिज्ञानको क्षेत्रमा के भयो भन्ने सामान्य ज्ञान पनि नहुनु हो । तैपनि लौ सर्भाईबल इज द फिटेस्ट नै रहेछ रे । के त्यसको अर्थ त्यो ड्यासमा बस्नेहरु अरुभन्दा तगडा भएर हो ? यहि अर्थ लागेन ? त्यहाँ बस्नेहरु भन्दा सक्षम बाहिरका एक जनापनि महिला थिएनन होला ? थिए । नामनै लिने हो भने कल्पना घिमिरे जो त्यहाँ भएका कम्तिमा आधा ब्यक्तिलाई जुनसुकै विषयमा चुनौती दिन सक्ने हैसियत भएकि महिला । र त्यहाँ बस्ने केहि पुरुषलाई चुनौति दिन सक्ने हैसियत म सितपनि थियो र छ । लेख्न बोल्न, पढ्न वा भाषण नै गर्न । अंग्रेजी, फ्रान्सेली, नेपाली भाषामा । बिज्ञान, संस्क्रिति, समाज आदि विषयमा । त्यसैले त्यहाँ बस्दैमा सर्भाईबल इज द फिटेस्ट भन्ने भ्रम नपाले हुन्छ।

जे होस, त्यहाँ महिला सहभागिताका कुरा भने निकै उठे । यूरोप भरिका महिलाको भेला गराउने, जागरुक गराउने, महिला सञ्जाल तयार पार्ने लगायतका निकै विषय उठाइए । भएका महिलाहरुपनि अधिकांश भान्छाको काममा खटेका थिए र तिनले वक्ताका कुरा सुन्नै पाएनन। हलमा भएका मध्येपनि अपवादलाई छोडेर सबैभन्दा पछिल्लो पंक्तिमा थिए । मैले यहाँ उठाउन खोजेको के भने सबैले आफ्ना छोरी, बुहारी, पत्नीहरुलाई घरैमा छोडेर कसरि हुन्छ महिला सहभागिता ? कसरि हुन्छन महिला स्वतन्त्रत ? बौद्दिक स्तरका मानिसहरु बिभिन्न देशबाट आएर बौद्दिक खुराक साझेदारी गरेकै ठाउँमा आफ्ना दिदी बहिनी, छोरी, बुहारीलाई नल्याउने हो भने कसरि बन्छन ति जगरुक अर्काका छोरी बुहारी र पत्नी आइदिउन कार्यक्रममा भन्ने सोच्ने हो भने कसरि सफल हुन्छ त कार्यक्रम ? कहिले सिक्छन त ति महिलाले ? कि त्यस्ता बौद्दीक स्तरका कार्यक्रममा ल्याउने हो भने ति चनाखा बन्छन र तिनलाई घरभित्रको सुन्दर कैदमा राख्न सकिन्न । तिनले बुझेर अधिकार खोजेभने आफैलाई अप्ठेरो पार्छन भन्ने निहित स्वार्थ लुकेको छ त्यसमा ? अर्काको घरका महिलाहरु आउन् । र म भाषण ठोकौंला, क्रान्तिकारी बनौंला भन्ने यो सामन्ति सोच होइन र ?

नारी समानता, जागरण र सहभागिताका कुरा गर्नेले त आफ्नै घरबाट शुरु गर्नु पर्दैन र ? आफैंबाट शुरु गरेर उदाहरणिय बन्नु पर्ने होइन ? कि आफुले भनेका कुरा सुन्दैनन् आफ्ना घरकाले ? आफ्नै घरकालाई चित्त बुझाउन नसक्नेले कसरि अरुलाई चित्त बुझाउने ? आफ्नै घरमा विश्वास दिलाउन नसक्ने, आफ्ना घरकालाई सक्रिय गराउन नसक्नेले अरुको घरकालाई सहभागि गराउन सक्छ ? त्यो नैतिकता रहन्छ ?

तपाइँको प्रतिक्रिया