जनजातिले नचिनेका पत्रकार
नेपाल जनजाति महासंघले आव्हान गरेको नेपाल बन्दबारे छलफल गर्न बोलाइएको कार्यक्रममा जनजति नेता आङकाजी शेर्पाले ‘नेपाल पत्रकार महा संघलाई बाँकि राख्दैनौं’ भन्नासाथ तत्कालै तनाब उत्पन्न गरायो हल भित्रै । अहिलेसम्म यसको राप, बहस र मतमतान्तर टुंगिएको छैन । सायद पत्रकरको भूमिका, कस्ता पत्रकारको दायित्व र अधिकार, सिमा र प्रभाव कति हो भन्ने बुझेको भए न त आङकाजी त्यसरि बम्किन्थे । नत त्यहाँ जंगिने पत्रकारले पत्रकारिताका न्युनतम मापदण्डलाई आदर गरिदिएकै भए त्यो अवस्था निम्तिने थियो ।
पत्रकारलाई त्यो आन्दोलन भन्दा जनजातिलाई पत्रकारको बढि जरुरत थियो । त्यसैलेपनि आङकाजी बढि संयमित त हुनै पर्थ्यो । आक्रोशित नै हुँदापनि उपस्थित पत्रकारसित उनको आक्रोश जायज थिएन । किनभने सडक र हलमा समाचार खोज्दै हिँड्ने अधिकांश पत्रकारसित उनले अपेक्षा गरेको भाषा त हुन्छ तर संचार माध्यममा पहुँच हुँदैन ।
पश्चिम नेपालमा बाहुन क्षेत्रीले अखण्ड सुदुर पश्चिम भन्दै २१ दिन सम्म बन्द गराएको समाचारले बढिनै स्थान पाएको जायज हो । २१ दिनसम्म सूदुर पश्चिम बन्द हुँदा नकुहिएको गोलभेडा, बजार पाइरहेको दुध र साग काठमाडौंमा एकै दिन बन्द हुँदा कसरि कुहिए ? जनजातिको यो आक्रोश केहि हदसम्म जायज हो । किनभने कसको आन्दोलन कस्तो भनेर हेर्ने भन्दापनि पत्रकारले सहि सूचना जनतासमक्ष लैजाने हो । तर बास्तविकता के हो भने नेपालका अधिकांश संचार माध्यम जातिय पहिचानको पक्षमा थिएनन् । काठमाडौं केन्द्रित आन्दोलनले आफुलाई बढि असर गर्थ्यो र पनि तिनले उति प्राथमिकता दिएनन् । यद्दपी संचार माध्यमले त्यसो गर्ने होइन नै । जातिय सद्भाव भड्किन्छ कि भन्ने त्रासलेपनि त्यो समाचारलाई न्युन गरेका हुन सक्छन् ।
तर त्यसको जिम्मेवार अङकाजीले अक्रोश पोखेका पत्रकार थिएनन् । सडकमा थोत्रो मोटर साईकल बत्ताउँदै समाचार संकल न गर्दै हिँड्ने पत्रकार । हलमा नेताले के बोल्ला भनेर क्यामरा र रेकर्डर सोझ्याउने पत्रकार आङकाजीले आशा गरे अनुसार समाचार दिन सक्ने हैसियतका कम हुन्छन् । केहि साप्ताहिक पत्रीकाका सम्पादक स्तरका पत्रकारलाई छोडेर समाचार संकलनमा पुग्ने अधिकांश पत्रकार भनेका पत्रीकामा न्युन पहुँचका हुन्छन् । तिनको काम समाचार संकल गर्ने त हो । तिनले सकेसम्म अन्य पत्रकारले भन्दा आफुले गतिलो समाचार लेखौं भन्ने आशयले खटेका हुन्छन् दिन्भरि । तर समाचार लेखिसकेपछि तिनले सिधै कम्प्युटरमा लगेर भकाभक उतार्ने र भोलिपल्ट त्यहि निकाल्ने गर्न पाउँदैनन् । तिनको काम आफु भन्दा माथिल्लो तहकोलाई दिने न हो । अर्थात आफुभन्दा अलिकति माथिको हाकिमलाइ बुझाउने ।
रेडियो, टिभी र दैनिक पत्रीकामा काम गर्ने रिपोर्टरको हैसियत भनेकै आफुले देखे भेटेको खबर टिप्ने र सकेसम्म मिठो भाषामा लेखेर दिने न हो । प्रशारण गर्ने नगर्ने । छाप्ने नछाप्ने । छापे वा प्रशारण गरे कति दिने ? कस्तो बनाएर दिने ? कतिखेर दिने ? कुन पेजमा दिने ? त्यसमा फोटो दिने कि नदिने ? दिए कत्रो र कुन पेजमा दिने ? यी तिनका पहुँचमा हुँदैनन् । ति भन्दा माथि कपी एडिटर, पेज सम्पादक, सह सम्पदक, उपसम्पादक, कार्यकारी सम्पादक, सम्पादक, प्रमुख सम्पादक लगायतका अनेक तह हुन्छन् । ति सबै बिचरो रिपोर्टरका हाकिम हुन् । यी मध्ये जो कसैले उसले लेखेको, बनाएको समाचार नदिन सक्छ । जहाँ र जत्रोपनि दिन सक्छ । रिपोर्टरले लेखेर ल्याएको चित्त नबुझे अर्कोलाई लगाएर थप्न सक्छ । अलगै छाप्नपनि सक्छ । कहिलेकाहिँ रिपोर्टरले लेखेर दिएको चिज भोली पल्ट अर्कैले लेखे झैं गरेर भाषा बदलिएर, सप्रिएर, बिग्रिएर आइरहेको हुन्छ ।
गतिलो समाचार ल्याउँन ति भोकै, अनिँदै र अनेक जोखिम लिएर दगुर्छन् । समाचार अनेक दुख गरेर ल्यायो । सम्पादकले राखिँदैन । जसले समाचार दिएको हुन्छ उ त कहिले आउला भनेर कुरेर बसेको न हुन्छ । नआउँदा वा दिएको भन्दा भिन्न किसिमले आउँदा रिपोर्टरको समाचार स्रोतसितै संवन्ध बिग्रिन्छ पनि । त्यो बेला पीडा थपिन्छ । वर्षदिन अनेक कस्ट भोगेर फलाएको बाली काट्नु अघि असिनाले झारिदिए जस्तै त हो पत्रकारको लागि आफुले ल्याएको समाचार ।
समाचार कस्तो दिने ? कुन समाचारलाई प्राथमिकता दिने ? कुन समाचारलाई न्युनिकरण गर्ने ? प्राय सबै प्रकाशन ग्रिहका नियम हुन्छन् । प्रकाशकले आफ्नो प्रकाशन ग्रिहबाट के आशा गर्ने ? कोसँग निकट हुने ? कस्तो फाइदा लिने ? कस्तो संस्था बनाउने, कुन पहिचान बोक्ने भन्ने निर्णय गर्छ । उसको निति भन्दा अलग खालको समाचार आउनासाथ जतिसुकै राम्रो होस् त्यो कटानमा, कलमीमा वा सिधै रद्दीको टोकरीमा पुग्छ । जस्तै: प्रकाशक र सम्पादकले जनजातिको आन्दोलन ठिक छैन, बढि उचाल्नुहुन्न भन्ने निर्णय गरेका रहेछन् भने त्यो सडक सडक भोकै र धुलै दगुरेर जतिसुकै राम्रो समाचार रिपोर्टरले ल्याएपनि सहि स्थान पाउँदैन । जनजातिको समाचारले प्राथमिकता नपाएको साँचो हो र प्रकाशन ग्रिहहरु जनजातिको आन्दोलनप्रति कम समर्थक भएकैले पनि हो । त्यसैले आङकाजी शेर्पा संचार मध्यममा जनजातिको समाचारले प्रथामिकता पाएन भनेर हलका रिपोर्टरसित जंगिनु उनको अबुझपन हो ।
कस्ता समाचारलाई प्रथमिकता दिने ? कस्तालाई नदिने भन्ने निर्णय प्रकाशकलेपनि गर्छन् । यद्दपी यो सम्पादकिय टोलीको जिम्मेवारी हो । समाचारका प्राथमिकताबारे अलि माथिल्लो तहका वा सम्पादक स्तरका पत्रकारलाई जानकारी भएपनि रिपोर्टरहरुलाई हुन्न । तिनले सदा झैं एकै तरिकाले समाचार खोजेर त ल्याउँछन् । तर जब प्रकाशन ग्रिहकै नीति त्यो समाचारलाई न्युन गर्ने छ भने कसरि स्थान पाउँछ ? बरु हलमा पत्रकारसित उफ्रिनुको साटो आङकाजीले प्रकाशन संस्थाका उच्च स्तरका पत्रकार, सम्पादक वा प्रकाशकसित अन्दोलन अघि नै छलफल गर्न सक्थे । उनीहरुले आफ्ना गुनासा पत्रकार सम्मेलन गरेरै दिन सक्थे । आन्दोलनका बिबिध पक्षबारे तथ्यहरु संकलन गरेर दिन सक्थे । पत्रकारहरुलाई आफ्नो आन्दोलनको औचित्यबारे अझ राम्रोसित प्रस्ट पारेर महत्व दिनकालागि आग्रह गर्न सक्थे । आन्दोलन शुरु हुनुपूर्व आन्दोलन कस्तो हुन्छ ? कसरि हुन्छ ? कसरि परिचालित हुन्छ भनेर जानकारि दिन सकिन्थ्यो । उनीहरुले प्रकाशन ग्रिहका मथिल्लो स्तरकै बढि जिम्मेवार पत्रकारसितैपनि अन्तर्क्रिया गर्न सक्थे ।
पत्राकारिता पूर्ण स्वतन्त्र र र निस्पक्ष त विश्वमै कतै छैन । तर हाम्रो त झन हुने बेलै भएको छैन । नेतामुखि पत्रकारिताले अझै जरो गाडेको छ । त्यसैले हाम्रा नेताहरुमापनि त्यहि मनसिकता छ । बिगतकै जस्तो पहुँच र हजुरी खोज्छन् । त्यहि परिपाटीमा दिक्षित छन् हाम्रा नेता र पत्रकारपनि । त्यसैले आङकाजीमापनि त्यो देखिनु अस्वभाबिक होइन । थर्काएर र धम्काएरै समाज चलिरहेका बेला उनीपनि किन पछि पर्थे ? फेरी उनलाई सुदुर पश्चिमको अखण्ड आन्दोलनलेपनि इन्धन थपेकै थियो । त्यसैले उनी जंगिए । मेडिया भनेको के हो ? कसरि ब्यवहार गर्नुपर्छ ? आन्दोलनका क्रममा कसरि आफ्नो समाचारको पहुँच स्थापित गर्न सकिन्छ भन्ने ज्ञान उनमा देखिएन ।
अर्कोतिर, जस्ता नेता उस्तै देखिए पत्रकारपनि । आङकाजीको धम्कीलाई मुढे बलकै आधारमा ठिक पार्ने अधिकार पत्रकारसित हुँदैन । त्यो पत्रकारिताको मूल्य, मान्यता, जिम्मेवारी र आचारसंहिताभित्र पर्दैन । पत्रकारको काम कलम, डायरी, रेकर्डर र क्यामरासितै खेल्ने हो । उनले दिएको धम्कीलाईपनि पत्रकारिताकै माध्यमले बाहिर ल्याएर उनलाई पाठ सिकाउनु पर्थ्यो । पत्रकारका जब शब्दहरु कमजोर बन्छन् तब बल मिच्याइ शुरु हुन्छ । आङकाजीले जे भनेपनि पत्रकारले सुन्नै पर्छ । “ओए त्यो आङकाजीलाइ बाहिर निकाल” भन्ने अधिकार पत्रकार सित हुन्न । कुनै कार्यक्रममा बोलाउनु र पत्रकार उपस्थित हुनु भनेको उसका बिचार सुनेर समाचार बनाउनैका लागि हो । उसलाई कार्यक्रमबाट निकाल्ने, धम्काउने अधिकार पत्रकारको होइन । जब कलम, कापी, रेकर्डर र क्यामरा लिएका पत्रकार धाक धम्की र बल मिच्याइँमा उत्रन्छन् भने संयम बन्ने को त ? पत्रकारपनि हा हु मै उत्रिए, अन्दोलनकारी सरह उत्रिए त्यसको सत्य तथ्य बाहिर ल्याउने, लेख्ने कसले ? पत्रकार आफैंले धम्कि दिन थालेपछि अरुले धम्कि दियो भन्न सुहाउँछ र ? जब पत्रकारनै गाली गलौज शारिरिक प्रतिबादमा उत्रन्छ भने समाजलाई कसरि उसले शान्त राख्न नैतिक शिक्षा दिन सक्छ ? त्यसैले यो कण्डाम पत्रकारहरुपनि प्रशस्तै दोषी देखिएका हुन् ।
अर्को कुरो त्यहि हलभित्रै नेपाल बन्द आयोजकले सार्वजनिक रुपमै माफी मागेका थिए । एउटा राजनितिक अन्दोलनकर्ताले सार्वजनिक रुपमा माफी माग्नुनै पत्रकारसित उनी झुक्नुको प्रमाण हो । पत्रकारको नैतिक बल र बिजयनै त्यहि हो । फेरी त्यसलाई बढि उचाल्नु उचित थिएन । यहि कारणले गर्दा यो बन्दका क्रममा प्रेसमाथि भएका अन्य घटना ओझेलमा परे । यसले सबैलाई घाटा पुर्यायो । यो घटनाबाट के देखियो भने हाम्रा राजनितिक ब्यक्तिहरुले, देश र समाज हाँक्छु भन्नेहरुले र त्यसलाई निगरानी गर्छु, सत्य तथ्य दिन्छु भन्ने पत्रकारहरुलेपनि धेरै सिक्नु बाँकि नै छ । मर्यादित हुनु पनि उत्तिकै जरुरी छ । कमसेकम भविष्यमा यस्ता घटना नदोहोरिए अहिलेको घटनालाई उपलब्धि मान्न सकिन्छ ।





