खगेन्द्र दाई सितको भेटका केहि संझना (अन्तिम भाग)
राम्रो नगरेकोमा हो र ? आफु जस्तै बिग्रिदिएन भन्ने चिन्ता
वासियलले चुनावमा सघाउ पुर्याएकोले बिघटन गर्न नचाहेका होलान । अहिलेके बिघटन गरेर भोली के हुन्छ के हुन्छ भन्ने धरमर रहेकोलेपनि वासियल बिघटन गर्न नसकेका हुन भन्थे उनी । तर वासियलको उद्दन्डता भने मन परेको रहेनछ । सरकारसँग सात बुँदे सम्झौता गर्नु भनेको अर्काको अस्तित्व स्विकार्नु हो । अर्काको अस्तित्व स्विकारिसकेपछि उद्दण्ड मच्चाउने ? अरुलाई पेल्ने ? तर्कमा हल्का जंगिए उनी त । हिजो बिद्रोही हुँदा त्यसो गर्न मिल्थ्यो । तर आज सराकारमै आएपछि त्यसो गर्नै मिल्दैन । उल्टो पार्टीलाई घाटा हुन्छ भन्ने मुल्यांकन रहेछ ।
एमाले र कांग्रेसलाई चाहिँ माओवादी राम्रो बन्ला भन्ने डर रहेछ रे आफु राम्रो बन्न नसकेकोले । तर्कपनि गज्जबका निकाल्छन कहिलेकाहिँ त । राम्रो नगरेकोमा चिन्ता हो र ? तिनलाइ त माओवादीले राम्रो गर्यो भने चिन्ता हुने रहेछ रे । त्यो किन गरेको रे भने आफु जस्तै बन्दिएन भनेर । आफु जस्तै माओवादीपनि बिग्रिदिएन भने उसले निर्वाचनमा झन बढि ल्याउला, आफ्नो अस्तित्व समाप्त होला भन्ने चिन्ता हुने रहेछ । उनी लगायत धेरैलाई चाहिँ माओवादीपनि एमाले बन्ला भन्ने चिन्ता लाग्ने रहेछ । “सुधारबादी त माओवादी भयो नै, तर छिट्टै एमाले जस्तै होला भन्ने बडो चिन्ता छ” भने उनले ।
माओवादी एमाले बन्लाकि भन्ने चिन्ताका पछाडि उनि एक एक तर्क तेर्स्याउँछन् । माओवादीमा चिल्ला गाडीको सोख छ एमालेमा झैं । उसलेपनि यो र त्यो नाममा परिवारलाई बिदेश भ्रमण गराउँदै छ । यो एमालेकै रोग हो । हिजो गिरिजाले छोरी सुजाता लैजान्थे । अहिले प्रचण्ड छोरा र पत्नीलिएर हिँड्छन । आश्वासन दिन्छन पुरा हुँदैन । यथार्थतामा होइन, भावना र भावुकतामा काम गर्छन प्रचण्ड अनि आलोचित बन्छन । कुराकानीका क्रममा खगेन्द्र दाई र संगै गएका अन्यले सरकार र प्रधानमन्त्रिको कामको गुनासो गरेछन । चतुर प्रचण्डले ओहो ! आज तपाइहरुबाट मलाई ठुलो खुराक मिल्यो भनिदिएछन । “बेला बेलामा यस्तै खुराक आइराख्नु पर्यो । मलाईपनि सुझाव दिनुपर्यो । आलोचना गर्नुपर्यो हामीले गल्ति गर्दा । हामीलाइ घच्घच्याइरहनुपर्यो” फुरुंग पार्न खोजेछन प्रचण्डले ।
चाख्लाग्दो कुरा त के रहेछ भने माओवादीको उद्देश्य जसरिपनि जनगणतन्त्रमा जाने रहेछ । कसरि जाने त सजिलो छ र ? सके र मिलेसम्म सबैलाई मिलाएर सहमतीमै लैजाने । नसके पेलेरै भएपनि जाने चिन्तन बनाएर बसेका रहेछन माओवादी । त्यहि पेलान दिनकालागिपनि उनीहरुलाई चाहियो वाईसिएल । नेपाली कांगेस र एमालेले त्यतिपनि नबुझ्ने कुरो हुन्छ र ? त्यहि देखे बुझेरै उनीहरुपनि त्यस्तै दस्ता तयार पार्न मरिहत्ते गरेका हुन भन्ने सुनाए खगेन्द्र दाईले । माओवादीहरुको एमाले संबन्धि मूल्यांकन पनि गज्जबकै रहेछ । उनीहरुलाई एमालेको नेत्रित्वपंक्ति भ्रष्ट, पदलोलुप, बेइमान छ । ति पतन हुन्छन भन्ने बुझेका छन रे । तर एमालेका कार्यकर्ता चाहिँ ईमान्दार छन र ति आफ्नो पार्टीमा आउँछन भन्ने पक्का रहेछ माओवादीलाई । त्यहि भएर माओवादीहरुले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै राख्न खोजेका रहेछन । एमालेका कार्यकर्ता जति आफ्नो पार्टीमा आउँछन अनि नेताजति एक्लिन्छन भन्ने दाउ माओवादीको । त्यस्तो नाम राखेपछि कम्युनिष्ट नाम पछाडि अनेक फुर्का झुण्याइएका अन्य कुला, खोला र खहरेपनि त्यहिँ मिसिने भए । अनि बनाउने दाउ रहेछ शक्तिशाली एउटै ब्रिहद कम्युनिष्ट पार्टी । अनि त्यस्तो पार्टी ईमान्दार र एकदम क्रान्तिकारी पनि हुने रे । तर यो कुरो चाहिँ मलाई भैसीं रुख चढ्यो रे भन्ने सुन्दा भन्दापनि धेरै अ पत्यारिलो लाग्यो । आआफ्ना कार्यकर्ता भड्केलान भन्ने डर भने फेरि एमाले र माओवादी दुबैलाई रहेछ ।
एमालेले कम्युनिष्ट नाम झुण्ड्याउनुको अर्थ के । केहि छैन । तर नझुण्ड्याइकनपनि भएको छैन । किनभने त्यो नाम झिक्नासाथ कार्यकर्ता भड्किन्छन । पुरेतले दशतिरबाट दान पाएर ल्याएका कोरेली गाई ढाट खुलेको मौका पाउनासाथ दशतिर बुर्कुसी मारेर भागे जस्तो । त्यहि भएर उसलाई कम्युनिष्ट आदर्श, सिद्दान्त र आचरणमा गोरु बेचेको साईनो नभएपनि कम्युनिष्ट नाम र हँसिया हथौडा झण्डा चाहिएको छ ।
उता माओवादी पो के कम ? उपनि त पुरानै लाईनमा कहाँ टिक्न सक्थ्यो र ? उसलाई के थाह छैन र माओकालिन पद्दतीमै शासन गर्न सकिन्न भनेर ? बिदेशीले पत्याउँदैनन । माओ भन्ने नाम देख्यो कि बुर्कुसी मार्छन पूजीवादीहरु । छेउछाउनै बस्न रुचाउँदैन । थाङ्ने देशको माग्ने चाला । तिनैसित नमागि नाथे तिन महिनाको बजेटपनि चल्दैन । अनि टाउकामा माओको फोटो टाँसेकोटोपी लर्काउँदैमा टिक्छ र सरकार ? बिदेशीले नपत्याइ केहि हुन्न भन्ने बुझेको छ । तर चटक्क माओवाद भन्ने छोड्दापनि कार्यकर्ता र जनसेना भड्केलान भन्ने पिरलो । अझ माओवादीको त झन हात हातमा हतियार बोकेका जनसेना । नभएपनि नेताले दिएकै थिए हतियार कसरि बनाउने भनेर तालिम । के भनेर ल्याका थेउ हाम्लाई यो पार्टीमा भनेर काँधको बन्दूक झिकेर पख्लास अब भन्दै सोझ्याए भने गर्ने के ? तिनलाईपनि बिच्किन दिनु भएन । त्यहि भएर उसलाईपनि बिस्तारै सुधारिएर प्रस्तुत हुने बाटो चाहिएको छ ।
घर ठ्याक्कै चिन्न मुस्किल परेर हामी यसो यताउती रल्लियौं केहिबेर । स्थानियलाई सोधियो । यस्सो ओरालो जस्तोमा रहेछ उनको घर । बाटो हेर्दै रहेछन । घरमा एक्लै रहेछन उनी । ‘भाउजु खोइ त दाई ?’ भाउजु नाती हेर्न अमेरिका, भने । बिदेशै गएर बस्नेको खुब झ्याँको झारे झैं लाग्थ्यो उनले, आफ्ना सन्तानपनि रहेछन त त्यहि अमेरिकामा भन्ने सोचें मैले ।
उनले जतिबेर गफ गरे, बडो आत्मिय ढंगले गरे । म साहित्यकार हुँ । जानेबुझेको हुँ । अहिलेको अखबारे लेखनमा त झन अब्बल दर्जामा पर्छु । चर्चित लेखक हुँ । साहित्यकारका रुपमा पनि आउँछ त मेरो नाम कम छ र ! उनमा त्यस्तो कुनै अहँमता देखिएन हामीसित । तर जे कुरा गर्थे बडो स्पष्ठ, खस्रा र खुलारुपले । लवाई त झन उहि फ्याँङ्लेपारा । तर आफ्नालागि सायद चिरिच्याँट्ट पो मान्दाहुन कि ! मलाई त्यतिखेरै टाइँफाइँवाला, वस्त्रमा बढि ध्यान दिनेहरु देखेर लाग्यो-राम्रो, वस्त्र लगाएर हुने रहेछ र मान्छे असल, जान्ने बुझ्ने ? यिनले जस्तो लगाउन् न । यिनको ज्ञान, बुद्दी, खुबी, सिप र राष्ट्रकालागि यिनले चलाउने कलमका अगाडि ति नाथे वस्त्र के हुन् र ?
त्यस्तै दुइ घण्टाजति बसियो उनीसित । उपन्यास लेखनका मलाई तिन बिकल्प पनि दिए । एउटा चाहिँ मैले सोचेकै थियो पहिलेनै । मैले सोचेको तरिका सुनाएँ उनलाई । त्यो ठिकै रहेछ । त्यसमा उनले केहि मासमुस पारिदिए। गज्जबकै सुझाब पाएँ मैले । सँच्चिकै उनमा हरेक विषयलाई तौलने राम्रो क्षमता छ । लेखनमा मात्रै दम्भ होइन कि बोली, ब्याख्या गर्ने शैली, अरुलाई मोड्नसक्ने कला सबै छ उनीसित जस्तो लाग्यो। सुझाव त हरेक विषयमा फटाफट आउने उनलाई । ति दुई घण्टा खुब रमाईलोसित बिते ।
चर्पी कतातिर होला दाइ भन्दै सोध्यौ बिनोद ढुंगेल र म दुबैले । एकजनालाई चर्पी बाहिर देखेपछि उनले ‘होइन, दुई जनै गएपनि हुन्छ‘ भने । अकमक्क परें म एउटै चर्पीमा एकै पटक दुई जना ? जोकसोकले हमला गर्नपनि उनी उत्तिकै खप्पिस । ‘देश नै समावेशी भइरहेका बेला हामी पनि समावेशी बन्दिउँन‘ पो भन्छन उनी त । हाँसो अडसमडस गर्दै निस्कियो । कुरा गर्दापनि यार को यार लगाएर झन निकट बनाउँथे उनी । कहिलेकाहि क्या र्याक गर्यो यार, क्या झुर रैछ पनि भन्थे कुनै घटना सुनाएर । उनको अल्लारे उमेरको भाषा, टुक्का र शैलीलेपनि पुरानो मित्रता नै हो कि जस्तो लाग्थ्यो ।





