मकाउमा साइकलयात्री

सानो क्षेत्रफलको साँस्कृतिक विविधतामा रमाउँदै क्यासिनोमा जुवा पनि खेल्न भ्याए पुष्करले 

pushkar-shah-in-makau.jpgमकाउ, माघ २७ (मकाउ डेली टाइम्स)- पाँचवटा महादेशका एक सय चालीस मुलुक साइकलले छिचोल्दा उनका पाङ्ग्राहरु २ लाख ९ हजार ४ सय किलोमिटर गुडिसकेका छन्। आफुलाई आवश्यक पर्ने राखनधरन समेत गरेर ६५ किलोको थप बोझ त्यो साइकलले बोकेको छ। पुष्कर शाह, ४० वर्षे नेपाली जो दोलखाको एउटा सुदुर गाउँमा जन्म्यो, ले जीवनको पछिल्ला एघार वर्षे साइकलयात्रामा फरक-फरक देसका फरक-फरक घामपानी बेहोर्दै हिंडेपछि बल्ल मकाउ आइपुगेका हुन्। नौ वर्ष अघि छेउकै हंगकंग आएपनि उनले मकाउ भ्याएका थिएनन्। यतिबेला चाँहि, खै किन हो, यहाँ आउन पाएकामा उनी ´साह्रै रमाइलो लागीरहेको छ´ भन्दैछन्।  १९९८ को नोभेम्वर २९मा उनी शान्तिको सन्देश छर्ने कामना बोकेर साइकलले पृथ्वीको चक्कर लगाउन निस्केका थिए। आउदो जुलाई महिनालाई आफ्नो जीवनकै यो उमंगपूर्ण यात्राको अन्तिम विसौनी बनाउने उनको योजना छ।

´विश्वमा धेरै कुरालाई लिएर जताततै लडाई भइरहेका बेला म यसको विरोधी आवाज लिएर निस्केको हूँ। शक्ति र भूमि अनि धर्मलाई लिएर मान्छे माराकाट गर्दैछन्। र, यसले हाम्रो सुन्दर पृथ्वीलाई नै ध्वस्त पार्दै लगीरहेको छ। हामी बित्थामा आफ्नै भाइबैनीको हत्या गरीरहेका छौं। त्यसैको विरुद्धमा मेरो यात्रा समर्पित छ।´ उनी भन्छन्।
 

तपाईंले कतै पुष्करलाई भेट्नुभयो भने एउटा दृढ युवकको अनुभूत गर्नुहुनेछ, जसका नजरहरुलाई एक्लै संसार घुम्दाको अनुभवले परिपक्व बनाइदिएको छ। एउटा शान्तिको नजर। हिजोआज चीनियाँ नयाँ वर्षको अवसर पारेर घुम्नआएकाहरुले एकदुई दिनको बसाईमै चोर्न खोज्ने यहाँका गुह्य भन्दा एकदमै बेग्लै नजर छ पुष्करको। एकसाताको बसाईका निम्ति पुष्कर यो विशेष प्रशासनिक क्षेत्रमा आइपुगेका हुन् र भन्छन् उनी यहाँ बस्दाका क्षण चीनियाँ नयाँ वर्ष अनुभूत गर्न चाहन्छन्। फरक फरक संस्कृतिहरु एकै स्थानमा मिलेर तयार भएका सम्पदाहरु र त्यसले जन्माएको बेग्लै सांस्कृतिक स्वादको आनन्द आफुले यहाँ पाइरहेको उनी सुनाउँछन्।

´घर फर्केपछि म मकाउलाई एउटा सानो ठाउँ, जो आफैंमा मुलुक पनि होइन तैपनि थुप्रै विश्व सम्पदा बोकेको महत्वपूर्ण थलोका रुपमा परिचय दिनेछुँ। त्यसबाहेक यति सानो क्षेत्रफलमा पनि मनोरञ्जनले भरपुर विश्वकै रंगीन जुवाघरहरु यसका अर्को विशेषता मैले पाएँ, जहाँ मान्छेले केहि समय बसेर थकाई मेटाउनसमेत सक्नेछन्।´ यि कुराहरु सुनाउँदै गरेका बेला शाहले विश्वकै ठूलो जुवाघर भेनेटियनमा सय पताका(झण्डै हजार रूपैंया)को जुवा खेलेको समेत उल्लेख गर्न छुटाएनन्। कुराकानीका क्रममा उनले आफुजस्तो थोरै पैसा लिएर हिंड्नेका निम्ति यहाँका होटलहरु साह्रै महँगो भएको गुनासो समेत गरे। उनी सहयोग जुटाएकै भरमा यो यात्रा तय गर्दैछन्। जब जब उनलाई विमानको यात्रा गर्नुपर्ने हुन्छ तब उनी विश्वभर फैलिएका नेपाली समूदायलाई गुहार्ने गर्छन्। गैर आवासीय नेपाली संगठन मार्फत् उनले त्यस्ता दाताहरु भेटाउने गरेका छन्। एनआरएन भनिने यो संगठन संसारका पचास मुलुकमा बिस्तार भइसकेको छ। ´कुनै प्रायोजक बिना बाँचेको यात्री हूँ म, मलाइ दिनको दुइ छाक मात्र भए पुग्छ´, यसो भन्दै गर्दा उनी मुस्काइरहेका थिए। थुप्रै रोचक प्रसंगहरुका माझमा उनले नेपाली परम्परामा आधारित आफ्नी आमाको राजीखुशीका कुरा पनि सुनाए। ´यात्रा थाल्नुअघि म प्रत्येक बेलुकी आमासँग स्वीकारोक्ति माग्ने गर्थें र उनी सधैँ नार्इ भन्थिन्। १९९८मा बल्ल उनले सय रुपैंया थमाउदै मलाई यो सपनाको यात्रा थाल्ने अनुमति दिइन्।´
 

पुष्करका पिता एक सैनिक थिए जसको मृत्यु लडाईमा भएको थियो। त्यसैबेलादेखि उनी युद्ध विरोधी भएर निस्केका हुन्। ०४६ सालको आन्दोलनमा लाग्दा यातना पनि पाएका पुष्करले मानवाधिकारका क्षेत्रमा पनि काम गरेका छन्। यो यात्राका क्रममा उनले पूर्वी टिमोरका राष्ट्रपति, सर एडमन्ड हिलारी, मार्टिन लुथर किंगका छोरा जस्ता महत्वपूर्ण ब्यक्तित्वसँग भेटे। आफ्नो वृत्तान्तमा उनले यात्राका क्रममा नराम्रो भन्दा राम्रो कुरा नै बेसी पाएको लेखेका छन्। आफ्नो जीवनकै सपनालाई कहिले काँहि निरास भएर छोडौं कि भन्ने आफ्नै भावना बाहेक अरु कुनै कुराले रोक्न नसकेको उनी उल्लेख गर्छन्।
 

pushkar-shah-in-makau-2.jpg´म दस पटक लुटिएँ, म्याक्सिकोमा त एकजनाले अपहरण पनि गरे, जहा म झण्डै मारिएको थिएँ´–उनले तीता यादहरुलाई फेरी एकपटक सम्झे। न्यूजिल्यान्डमैं पनि घुम्दाका क्रममा उनको साइकल चोरी भएको थियो। त्यतिबेला सर एडमन्ड हिलारीले किनिदिएको नयाँ साइकलमै अहिले पनि पुष्कर हिंडिरहेका छन्। ´नेपालका घनिष्ट मित्र हिलारीले उनकै मुलुकमा मेरो साइकल चोरी भएको सुनेपछि साह्रै दुःख मानेका थिए´उनले भने,´त्यस लगत्तै हिलारीले मलाई बोलाएर भनेका थिए–´नराम्रो समाचार यो हो कि तिम्रो साइकल मेरो देसमा चोरी भयो र राम्रो समाचार यो छ कि म तिमीलाई नयाँ साइकल दिंदैछु।´ उहाले दिएकै साइकल म अहिले चढ्दैछुँ।´

सडकमा एघार वर्ष गुजारीसकेका शाह आफुलाई भाग्यमानी ठान्छन् जसका सपनाहरु पुरा हुँदैगएको छ। ´हरेकले आफ्नो जीवनमा यस्तो संकल्प पुरा गर्न सक्दैनन्´, उनी भन्छन्। विश्व साइकलयात्री मकाउ छाडेपछि फिलिपिन्सको राजधानी मनिला प्रस्थान गर्दैछन्। त्यसपछि उनको यात्रा सोझै मध्यपूर्वतर्फ हुनेछ। फिलिपिन्सपछि उनी कतार जाँदैछन्। विश्वयात्रा सकेपछि उनी २०१० मा सगरमाथा आरोहणको योजना बनाइरहेका छन्। आफ्नो यात्राको समाप्तीका निम्ति उनले यो अर्को साहसिक यात्रा रोजेका हुन् जहाँ पुगेर आफु घुमेका सबै मुलुकका झण्डाहरु शिखरमा फहराउने उनको योजना छ। ´यो ठूलो चूनौती पुरा भएको क्षण सगरमाथा रंगीन बन्नेछ´, उनी भन्छन्–´त्यसपछि म पहाडको काखमा रहेको आफ्नो गाउँमा बसेर अनुभवमा आधारित पुस्तक लेख्नेछुँ।´ उनका अनुसार एघार वर्षे अनुभवलाई उनी चार खण्डको डायरीका रुपमा प्रस्तुत गर्दैछन्। यसअघि पनि एउटा कविता संग्रह र संस्मरण उनले प्रकाशित गरीसकेका छन्।

मकाउ डेली टाइम्सको कार्यालयबाट बाहिरिनु अघि उनी केहि तस्विर खिचाउन तयार भए। सडकमा साइकल चढ्दै गरेको फोटो हामीलाई चाहिएको थियो। त्योबेला उनका प्रति सडकका सर्वसाधारणको चाँसो उल्लेखनीय देखिन्थ्यो। बेइजिङबाट आएका एक पर्यटकले उनलाई अनुरोध गरेर साथमा तस्विर खिँचाइ भ्याए। पुष्करले पनि त्यसैबेला ति पर्यटकलाई आफ्नो भ्रमणको उद्देश्य सुनाइदिए। कुराकानी पछि ति पर्यटक कुनै विशेष अवसर पाएको मनोदशामा पुलकित हुँदै अन्त लागेका थिए।  फिलिपिन्सहुँदै कतार पुगेपछि पुष्कर मध्यपूर्वका ओमान, संयुक्त अरब इमिरेट्स्, बहराइन, कुवेत हुदै गर्मीका बेला पारेर पूर्वी युरोप प्रवेश गर्नेछन्। त्यहाँ बुल्गेरिया, अर्मेनिया, रोमानिया, युक्रेन, बेलारुस, रसिया अनि अन्त्यमा चीन,तिब्बत हुँदै आफ्नो मुलुक नेपाल पुगेर उनको सपनाले विश्राम गर्नेछ । दैनिकी डटकमबाट साभार । फोटो चाहि पेरिसमा म आफैंले खिचेको हो ।

तपाइँको प्रतिक्रिया