लण्डनमा नेपाली पत्रकारको जमघट : अबचाहिँ केहि हुन्छ हुन्छ

(बायाँबाट पहिलोमा भगिरथ योगी, प्रवेश सुवेदी र नरेश खपांगी । दाहिनेतिर पहिलोमा म आफैं, शशी पौडेल र श्याम लुइँटेल)

मेरो मुल उद्देश्य थियो, नेपाल जाने बुझेका बेलायतीसित गफागाफ गर्ने । केहि नेपालीसित अन्तर्वार्ता गर्ने आगामि दुई पुस्तककालागि । त्यसैले भेट्न र रमाउन खोज्ने साथीहरुसित यो पटक भेटौंला झैं लागेको थिएन । तर बीबीसी नेपाली सेवाका पत्रकार साथी भगिरथ योगीले केहि न केहि छलफल त गरौं, जति सकिन्छ भेटौं । तपाइको ‘त्यो नेपाल’ पुस्तक के कसरि लेखियो छलफल गरौं भनेका हुन् । अन्तिम अवस्थामा मिलाए नै । गोरखा क्लब रेस्टुरेन्टमा भेटघाट गर्ने मेसो मिल्यो । हामी क्याम्ब्रिज भने ठाउँबाट ४२ वर्षदेखि नेपालका चरा र जैविक विविधतामा चासो राखेका, झण्डै दर्जन पुस्तक लेखेका क्यारोल र टिम इन्स्किपसित भेटेर फर्कियौं । हामी भन्नाले लण्डन निवासी अर्का पत्रकार दाजु शशी पौडेल र म ।

मेरो यात्राका सहयात्री, सहयोगी, दाजु, चिन्तक, उर्जा र जोकका साझेदार थिए उनी । सात बजेतिर पत्रकार साथीहरु भगिरथ योगी, प्रवेश सुबीदी, श्याम लुइँटेल, नरेश खपांगी आइपुगे । भेट्न आउन नसकेको असमर्थता जनाउँदै चिरन शर्माले फोन गरे। केहि बेर गफगाफ गरियो बेलायत र बाँकि यूरोकका पत्रकार सथीहरुबिच के काम गर्न सकिएला भनेर ।

बेलायतमा नेपाल पत्रकार महा संघ गठन भैसकेको । बाँकि यूरोपका सक्रिय पत्रकार साथीहरुबिच सूचना साझेदारी होस् । हामी संगठित बनौं । एकले अर्कोलाई सहयोग गरौं । जाने बुझेका सिप सट्टापट्टा गरौं । फोटो पत्रकारितामा दक्षले बाँकिलाई सिकाउँ। विषय खुट्ट्याउन र छुट्याउन सक्नेले नसक्नेलाई बताउँ । नेपाली नियोग र दुतावासमा हुने भ्रस्टाचार, ढिलासुस्ती, मनपरी, घुसखोरी र धाकधम्कीलाई चुनौती दिउँ । आफूलाई अप्ठेरो पर्दा अर्को देशका साथीलाई दिउँ त्यस्तो सूचना ।

हामीले यी बिकसित मुलुकमा बसेर के सिक्यौं ? के जान्यौं ? यहाँबाट कुन सिप, ज्ञान, आर्थिक सहयोग लान सकिन्छ नेपाल ? के चाहिँ नेपालबाट ल्याउन सकिन्छ ? हामीले यूरोपबाट नेपाल जाने कुन चिजको मूल्य बढि तिरिरहेका छौं त्यसकोपनि पहिचान गरौं । त्यसको जानकारी योजना आयोग, सरकार, प्रमुख पार्टी र सरोकारवालाई दिउँ । नेपालको सम्पत्तीमा यूरोप बसेर धुवाँ उडाउने राजदूत र नेताका कर्तुतहरुलाई बहादुरीका साथ जनता समक्ष पुर्‍याउँ ।  

हामी किन अरुका लागि प्रयोग हुने ? बरु हामी पत्रकारले अरुलाई परिचालन पो गर्ने हो कि नेपालको हितमा । पत्रकार साथीहरु बिच एक अर्काका कमिकमजोरी औंल्याउँ । पत्रकारका नाममा जो बदनाम छन् तिनलाई दुरुत्साहित गरौं । जो मर्कामा परेका छन् तिनलाई सहयोग गरौं । जसको संभावना छ, उत्साही छ उसलाई ढंग नपुगेको अवस्थामा बाटो देखाउँ। नेपाली नेताहरु यूरोप आउँछन् । यहाँका नेपालीको घोडा चढ्छन् । फेरि यहाँपनि उहि नेपालकै पाराले गफ दिँदै हिँड्छन् । त्यसलाई साहस गरेर बाहिर छताछुल्ल पारिदिउँ । हामी संगठित नभएकैले लक्ष्मण देवकोटा र थानेश्वर सापकोटा जस्ता लेखनमा अब्बल साथीहरुबिच चिनापर्चिसम्म नभएको हो । यसलाई हामीले मेटाउनै पर्छ ।

बिदेशमा बस्ने हामी नेपालीका पनि जिम्मेवारि छन् । नेपालका लागि थुप्रै काम गर्न सकिन्छ यहिँ बसेरपनि । बांच्न, खान र निजि चाख टार्न अवश्यै अधिकांश समय बिताउनुपर्छ । तर हप्तामा एकाध घण्टा कम्ति सुतेरपनि निकाल्न सकिन्छ । हामीले केहि गरौं । बेलायत यस्तो मुलुक हो जहाँ नेपालका बारेमा नेपालमै भन्दा बढि स्रोत, साधन, सामाग्रि र अध्ययनको खानी छ । नेपालको ईतिहास, राजनीति, सामाजिक र आर्थिक क्षेत्र, वन वनस्पती, कुटनीति केका बारेमा अथाह भण्डार छैन यहाँ ? “बेलायत जो साथीहरु हुनुहुन्छ, त्यो ठूलो अवशर हो’ मेरा तर्क हुन् यी ।

बेलायतमा धेरै लेखक छन्, पत्रकार छन् । भगिरथ योगी, रमेश सराङकोटी, नरेश खपांगी, दाजु शशी पौडेल । थानेश्वर सापकोटा । कति कति नाम नै लिने हो भनेपनि । फ्रान्स बसेर मैले कुटनीति, राजनिति, वन र वनस्पती आदि फरक विषयमा लेख्न सकिन, सक्थिन त्यस्तो किताब । ति हरेक विषयमा मलाइ चाहिने जति पात्र भेटिँदैनथिए । तर बेलायतमा जुन साथीको जुन विषयमा चाख छ त्यस्तै पात्र भेटिन्छन् । त्यसैले यो अवशर हो । अँ अँ त भन्थे साथीहरुले तर भित्रि मनमा के सोचे कुन्नी !

भगिरथजीको भने बुझाइ पक्कै गहिरो थियो । बीबीसीको पहुँच, प्रसिद्दी, उनी आफैंको ज्ञान, लगाव र चाख । तर अध्ययन समेत बढाउँदै रहेछन् उनी । थानेश्वरसित भेटै हुन पाएन प्रत्यक्ष । जो भाषामापनि अब्बल छन्, मेहनतमा अगाडिपनि हुन् । शशी दाजु कुरा बुझ्छन् तर ‘भाइ अब बुढो भइयो क्या’ भनेर पन्छिन्छन् । तर लेखनमा लाग्ने साथीहरुले सोच्नु पर्ने कुरो हो यो । भगिरथे जी ‘जब सम्म पत्रकारले किताब लेख्दैन तबसम्म पक्का र लेखनमा जमेको मानिने रहेनछ’ भनेर हौस्याउँदै थिए । तर ढिलो चाँडो त कोहि न कसैले पक्कै कम्मर कस्ला नै । त्यो प्रसिद्दि र नाम उसैको पोल्टामा जाला ।

पत्रकारिताकै विषयमा अलि बढि चिन्तन गरियो । प्रवेश सुबेदी बेलायत होस् कि अन्य मुलुक जहाँको पत्रकार भएपनि नेपाली पत्रकारको संगठनमा रहँदा फरक पर्दैन भन्दै थिए। उनी ललितपुर बस्ने पत्रकार काठमाडौं शाखामा सदस्य बनेको उदाहरण दिएर । यी प्राविधिक कुरा आफ्ना ठाउँमा रहेनै ।

तर साहसिक र एकदम सकारात्मक बहस के भयो भने साँच्चिकै नेपाली पत्रकारहरु अब संगठित हुने हो भने केहि गर्न सकिन्छ । हामी धेरै साथीहरु यूरोपका बिभिन्न मुलुकमा छरिएका छौं पनि । नेपालप्लस मार्फत पेरिसका नेपाली राजदूत मोहनक्रिष्ण श्रेष्ठले गरेको भ्रस्टाचार, मलाई दिएको धम्की, नेपाली बजेटको मनपरि प्रयोग आदिका बारेमा पनि अनुभव साझेदारी गरियो । ‘साथीहरु कडा छ लेखाइ’ भन्थे । ‘आफूलाई मनमा लागेको कुरा लेख्न नपाए के ब्लग भो र?’ सुनाउँथे भगिरथ जी । भगिरथजीको साथ, सहयोग र सक्रियता प्रशंसनिय छ । बीबीसीमा रहेरपनि नेपालएे पत्रकारले केहि गरुन् भनेर उनी त्यो दिइरहेका छन् ।

राजधानी दैनिकमा पत्रकार बनेका श्याम लुइँटेल र नरेश खपांगी दुबै उत्साहि थिए । यी दुबैपनि केहि गर्न सकिन्छ भन्नेमा कुनै शंका मान्दैनथे । तर संगठित हुने कसरि ? बेलायतका साथीहरुले हरेक दुई वर्षमा नेत्रित्व परिवर्तन गर्ने बेला बाँकि यूरोपका साथीहरुलाई बोलाउन् । बाँकि यूरोपमा संगठित हुने साथीहरुले त्यसैगरि दुई वर्षमा कार्यक्रम गर्दा बिचमा पारुन् । अर्थात् एक वर्ष यूरोपको कुनै देशमा । अर्को वर्ष लण्डनमा । त्यसमा हामी हरेक देश देशले कार्यपत्र प्रस्तुत गर्ने र कुनै रचनात्मक काम गर्ने गरि सोचौं। यो साथीहरुले मन पराए ।

पत्रकारहरु संगठित हुने कुरो गर्‍यो कि बिभिन्न खाले संघ संगठनको चलखेल शुरु हुन्छ । आफू खुशि कार्यक्रम गराउने, पत्रकार घुसाउने, गैह्र पत्रकारलाई पत्रकार बनाउने, लगानी कर्तालाईपनि पत्रकारको बिल्ला भिराउने, खानपिन र नीजि सहयोगले प्रभावित पार्ने । यस्ता प्रश्न उठे । तर चुनौती जहाँपनि हुन्छन् । संगठनमा कस्ताले सदस्य पाउने र कस्ताले नपाउने ? स्पष्ठ र कडा प्रावधान हुनु पर्छ । पत्रकार हो यदि भने कसैले हिम्मत गर्न सक्दैन हटाउने र होइन भन्ने । यदि होइन भने उसलाई त्यो पगरीले गुथाउनै हुन्न । वर्षमा दुई लाइन ल्वाङका फाइदा र बेफाइदा लेखेकै भरमा पत्रकार हुन पाइने भए को नबन्ला ? यसमा भगिरथजी, शशी दाजु लगायत सबैको मतक्यता रहेन ।

सोचेजति साथीहरुसित छलफल त गर्न सकिएन नै । तर पनि छलफल निकै सकारात्मक रह्यो । सबै साथीहरुको जोस, जाँघर, तत्परता र लागाव यस्तै रहने हो भने साँच्चै केहि गर्न सकिने अवस्था देखिएको छ । आखिर पत्रकारहरुले राम्रोसित काम गरिदिने हो, संगठित भएर लाग्ने हो भने अवस्यै धेरै गर्न सकिने ठाउँ छ । यो हो र त्यो होइन भन्नु भन्दापनि कसले पत्रकारिता गरेको छ र कसले गरेको छैन भनेर हेरौं। अनि हामी एकजुट बनेर पाइला चाल्यौं भने कसैले कुनै बन्देज गर्न सक्दैन । त्यो हामीमै भर पर्छ । साथीहरुको सक्रियता देख्दा मलाई लाग्यो ‘अबचाहिँ केहि हुन्छ हुन्छ’।

तपाइँको प्रतिक्रिया