आधा दर्जनसित छलफलकालागि आइपुगियो बेलायत
स्पेनको यात्रा पछि निक्कै समय लाग्यो नेपाल जाने बुझेका, नेपाललाई वर्षौंदेखि नियालीरहेका, नेपाल र नेपालीलाई माया गर्ने र नेपालका विविध विषयमा अध्ययन अनुसन्धान गरेर नाम र जिवन कमाएकासित अन्तर्वार्ता गर्न । यूरोपमा बेलायत सायद त्यस्तो मुलुक हो जहाँ सबै भन्दा बढि होलान् त्यस्ता पात्र । त्यसपछि बल्ल सायद फ्रान्सेलीहरु पर्लान् । तरपनि के के मिलेको थिएन । अन्तत: यस अघि कहिल्यै नदेखिएका, नचिनिएका, नभेटिएका पत्रकार दाजु शशी पौडेल र बीबीसी नेपाली सेवाका मित्र भगिरथ योगीको प्रयासले यो संभव भयो ।
तर बेलायतमा मे को १ र २ मा कहाँ बस्ने निधो थियो । पत्रकार दाजु शशी पौडेलकोमा । अप्रिल ३० मा ? अन्तिमसम्म निर्क्यौल भएन । लण्डनबाट अलि पर बस्ने शशी दाजुलाई दुख दिन मन लागेन । निकटका अन्य मित्रहरुलाई बेलैमा खबर गरिन । त्यो किनपनि भने ‘न अन्तर् वार्ता लिने पात्रहरुले रद्द गर्ने हुन् । अन्तिम अवस्थामा जाने त निश्चित भो तर लण्डनमा होटेलमा बस्ने निधो गरें । यो कुरो भगिरथजी र थानेश्वर सापकोटासम्मलाई सुनाएँ । उनले हाकै भने ‘लण्डन आएर कहाँ होटेलमा बस्नु पर्छ यार । म त काममा जानु पर्छ। तर कुनै ब्यवस्था गरौंला नी।’ थानेश्वरले तत्कालै कता कता घुम घुमाए । एक जना क्याम्पस पढ्दै खोजेका भाइलाई लिन पठाउने, उनैको कोठामा राख्ने । अनि अर्को दिन कता जानुपर्छ सहयोग गर्ने। जर्मनी छोडेर भर्खरै लण्डन छिरेका थानेश्वरको संयन्त्र निकै राम्रो भैसकेछ झैं लाग्यो । तर घरबाट हिँड्नु भन्दा आधा घण्टा अघि भगिरथजीबाट निश्चित भो ‘हामी लिन आउँछौं’। फेरी थानेश्वरजीलाई फोन रिँगाएर ‘लौ परेन है त्यो भाइलाई दुख दिन’ भनें।
जे होस, म अहिले लण्डन आइपुगें । विमानस्थलमा शशी दाई लिन पुगेछन् । अहिले सम्म देखेको छैन । क्या हो क्या हो । न नचिनिने हो । न कोहि छैन मेरो ह्याँ भनेर केटो कतै हेर्दै नहिरी आफ्नो बाटो लाग्ने हो । यहो सोचेर अंग्रेजीमा DADI SAPKOTA लेखेको सानो बोर्ड हातमा लिएछन् दाईले । उमेरले पचास बसन्त नाघेका उनी । बाहिर निस्कनेले त्यो DADI लाई कि त ड्याडी पढ्ने कि ड्याड पढ्ने (DADI को पछिल्लो I नहेरि) हेर्दै नहेर्ने रहेछन् क्यारे । ड्याड (DAD) मात्रै पढेर हाँस्ने रहेछन् । ‘यो आफैं कसैको ड्याड जस्तो छ, यसले’नी ड्याडलाई लिन आ’को’ । हाहाहाहाहा ! भन्दै हाँसेका होलान् ति ।
बेलायतमा कस्ता नेपाली बस्छन् ? के सोच्छन् आफुलाई ? यहाँको नेपाली समूदाय समग्रमा कस्तो छ ? बेलायतमा राजनिति के कसरि चलिरहेछ ? यूरोपेली परिषदमा बेलायती राजनितिको प्रभाव र भूमिका कस्तो हो । नेपालका नेता किन बेलायत ओईरो लाग्छन् ? के गर्छन् आएर ? बाटोमा शशी दाईले सुनाउँदै ल्याए । औधोगिक क्रान्तिका बेला झ्याँस बुट्यान सम्म आक्रमणमा परेर प्रक्रिति गुम्दाको पीडा भोगेका बेलायतीले जति कसले बुझ्दो हो प्रक्रितिको महत्व ? त्यसैले यी नागरिक प्रक्रिति, वन, बुट्यान र फूल विरुवाको औधि सम्मान गर्छन् । यो मुलुक वनै वनमा वस्ति बसाले झैं लाग्छ । रुख र विरुवा नभएको कहिँ कतै छैन । मेरा आँखा गाडीका शिशाबाट बाहिरै डुलिरहन्थे । त्यहि प्रक्रिति प्रेम हेर्न । शशी दाई गफ सुनाउँथे । म यदा कदा बाहिरै हेरेर ‘अँ अँ ए ए ! है?’ सहि थाप्थें ।
लण्डन शहरको सडक देखेर चाहिँ अचम्म लाग्यो । बाटो कोत्रिएको । ठाउँ ठाउँमा खोबिल्टा । ति टाल्न पनि नसकेको बेलायती सरकारले । ‘हैन दाई क्या हो यस्तो, यति धनी देश भन्छन् बाटो नै कोत्रिएका छन् त’ मैले भनें ।
‘यूरोपमा सबैभन्दा कोत्रिएको सडकनै सायद बेलायतमा होला ‘ शशी दाईले भने ।
‘हो र ? किन ?’
‘किन हुने, यो जात अल्छि महाँको । ठग, कामनै गर्दैनन्। गफाडीहरु ।’
‘हाहाहाहा हो र ? पहिले विश्वभरि सोहोरेको पैसो त छ नी । सुन होला प्रशस्तै’।
‘कहाँ हुने ? भारतबाट ल्याएको फलाम र थन्काएर राखेको सुन सबै बेचेर खाइसके। अब यीसित केहि छैन। संसार लुट्न पाउन छोडिहाले’। जे होस बाहिर बसेर पढिने र यहिँ बसेर भोगिने भएको आकाश जमिनको फरक हुन्छ । मपनि यिनै भिन्नता सुन्दै थिएँ । घर आइपुगियो ।
भाउजु बौद्दिक गफमा औधी जिज्ञासु पाएँ । असाध्यै पढ्न मन गर्ने । नेपालमा पढाएर बसेकि नारी । बेलायतको संगत र नेपालीको घेरोले सधैं फक्रिएर हाँस्ने अवशर दिन्न । हामी ओ हो बेलायत ! त्यस्तो जाने बुझेको । शिक्षित । शिक्षा र ज्ञानको सर्वथोक । त्यो मुलुक छिरेपछि त मान्छे ज्ञान, बुद्दी , बिबेक, सिप र बौद्दिकताले नुहाएर निस्कन्छ” भन्ने सोच्छौं । तर बास्तबिकता त्यस्तो छैन । यहाँ पुस्तक किनेर पढौं भन्ने मानसिकता एकदम कम छ । चकलेट, लुगा, भिडियो गेम, राम्रा पहिरन भनेपछि पैसो हालिन्छ । तर अहँ किताबमा सुको तिर्नु पर्दा मनमा मुजा पार्छन् मान्छे । “झन रक्सीका बोत्तलमा त तत्कालै जतिपनि तिर्छन्” हाम्रो साझा देखाइ थियो यो । ज्ञानगुन बटुल्न मन पराउने नभएका होइनन् । तर सिमित छन् । हामी नेपालीले बिदेशनै होस्, धेरै सिक्नु, जान्नु र बुझ्नु बाँकि छ ।
साँझ खाना खाँदै गर्दा भाउजु करुणाका कुरा सुनियो केहि बेर । लेखनका विषयमा केहि छलफल भए । ‘त्यो नेपाल’ पढेर साह्रै प्रभावित भएको कुरो फेरी दोहोरियो भाजुका मुखबाट । सरल भाषाका विविध विषयका भिन्न पात्रको लेखाइले छोएको रहेछ । तर एउटा कुरा मलाई एकछिन सोच्न बाध्य बनायो भाउजुका कुराले । “नेपाललाई खुब माया गरेको त भन्छन् । देखाउँछन् । हामीलाई सुनाउँछन् पनि । तर ती बिदेशी हाम्रो मायाले गएका हुन् र ? आफ्नो स्वार्थले । तिनले दिए मात्रै भन्ने के छ नेपाललाई ? हाम्रो नेपालबाट के के ल्याए होलान् । यी यत्रो ज्ञाननै ल्याएर आफ्नो देशलाई सम्पन्न बनाए ज्ञानको भण्डारमा । अरु ज्ञान, फोटो, रिपोर्ट ल्याएर बिक्रि गर्छन् ।’ मलाई चित्त बुझ्यो यो कुरो । भाउजुले भनिन् “भाइ किताब लेखेपनि तपाईलाईनै थाह नहुन सक्छ यो कुरो”। एकदमै ठिक हो । किनभने किताब लेखियो। ति नेपाल जानुका सबै आशय र स्वार्थ मैले कहाँ केलाउन सक्नु ?
एकातिर नेपालीका आफ्नै कहानी छन् दुख र बेदनाका । अर्कोतिर केहि बेलायती यस्ता छन्, ति हरेक दिन नेपालको सपना अँगालेर भुसुक्क निदाउंछन् । झोंछेको छोचोलिनसक्नु भिड र स्वयम्भुका घण्टी संझिएरै बस्छन् । कुइरीमण्डल नेपालका सडकमा लखरलखर अरिगाँठे भन्दा ढिलो चल्ने गाडीनै किन नहोउन् । तिनको संझनाले सताउँछ । पिजा र बर्गर, चिज र चिकन फ्राई होइन दुखिया भनिने नेपालीसित घेरिएर सिल्टिका थालमा खाएको दालभातको रासलेनै घरि घरि सताउँछ । तिनका भित्तामा बेलायतका कलकौशल छैनन् बरु छन् त नेपालकै मठमन्दिर । भारी बोकेका, घाँस सेउला ढाडमा अड्याएका नेपालीका पोस्टरहरु हुन्छन् । बेलायतका चिल्ला सडकमा दगुर्ने महँगा बिलासी गाडीले तिनको ध्यान तान्दैन । बरु नेपालका कान्ला र थुम्कातिर बाख्राका पाठा कराएको संझेर ति मुसुक्क हाँस्छन् । अजंगको भारी बिसाएर फिस्स सेता दाँत देखाउँदै ‘नामुस्ते’ गर्ने नेपाली संझिएर ‘कहिले जान पाइएला नेपाल?’ भन्दै रहर मानिमानि बिताउँछन् । ति नेपाल जति बुझ्छन् बरु नेपालीले बुझ्दैनन् । कतै भेटघाटमा ति हत्त न पत्ता नेपालकै प्रसंग उप्काउँछन् । हो यस्तै नेपालदेखि भुतुक्कै र हुरुक्कै हुने बेलायतीसित अन्तर्वार्ता गर्नु छ । एक जोडी छन् क्यारोल इन्स्किप र टिम इन्स्किप ।
यीनलाइ मैले चिनेको पनि भएछ डेढ दशक झण्डै । यीनले जति नेपालको जैविकविविधता बुझेका छन् उति हाम्रै देशका नीति निर्मातालेपनि सायदै बुझेका होलान् । झण्डै दर्जनजति त यीनले नेपालका विविध चरा र प्रक्रितिका बारेमा पुस्तकनै लेखेका छन् । यीनै सित आधा दिन बित्ने छ शशी दाजुसँगै । त्यसपछि यीनै दाजुले कता लाने हुन् कुन्नि ! नेपाललाई बिगत ३० वर्षदेखि कर्म थलो बनाएका अर्का दुई बेलायतीसित भेटघाट र छलफल हुने छ । शशी दाजुले खोजिदिएका मेरा लागि । ति कस्ता हुन् के हुन् भन्ने चिन्ता मैले मानु परेन । किनभने पत्रकारितामा खारिएका र लेखनलाई तिखारेका दाजुले यसैपनि विषयवस्तु तिखारिएकै खोजे पक्कै ।
हिजो अप्रिल ३० र मे १ का दिन दाजु कहाँको बसाईपछि मे २ मा अपरिचितकहाँ ।
“किन त दाई अन्तै बस्ने घरमा नबसेर ?”
“मैले खोजेका दुई बेलायतीहरु टाढा बस्छन् । तिसित अन्तर्वार्ता गर्न बाटोमा अन्तै बसेर पुग्नुपर्छ । आ एक रात यस्सो सोफामा, भुइँमा पल्टिन यहाँ कुनै दुख छैन” शशी दाजुले भनेको संझिन्छु म पेरिसमै हुँदा । उनी यहाँका धेरै नै नेपालीबिच चिनिएका, जानिएका बुझिएका हुन् भन्ने कुरो भगिरथजीबाटपनि मैले सुन्दै आएको थिएँ । धपेडी चाहिँ निक्कै हुने देखियो । पात्रहरु आफूले खोजे जस्तै भेटिएका छन् । दुखको कुरो नेपाली भाषाको उत्पत्ती र नेपाली साहित्यमा पिएच डी गरेर निक्कै नाम कमाएका माइकल हटसित भेट्न नसकिने भयो । गत साल भियनामा भेट्न खोज्दा संयोग नपरेका यी सित यो पटकपनि उनैको कारणले संयोग नजुरेर म हिस्स परें ।





