बेलायतमा मिनी नेपाल

●  रामहरि पौड्याल / बेलायत

हन्सटयानटनको रमणीय सामुन्द्रिक तट । समरका सुन्दर दिनहरु । त्यसैपनि पर्यटकहरुको घुइँचो लाग्ने मनोरम याममा शहरकै कार्नेबलले थपिएको मानव समुन्द्र । तिनै भिडहरुलाई लक्ष गरेर राखिएका विभिन्न च्यारिटीका ब्यानर सहितका स्टलहरु । तिनै स्टलहरुकाबीच टाढैबाट प्रस्ट फहराइरहेका त्रिभुजाकार दुइ नेपाली झण्डा । आफ्नो भूमिबाट हजारौ माइलको भौगोलिक दुरता । सात समुन्द्र पारि भएको लघुता एकै छिन भएपनि बिर्सिनछौ हामीहरु । ‘नेपाल स्कुल अपिल’को ब्यानरमा असिनपसीन देखिन्छन – नेपालका असल मित्र दम्पतीहरु क्रिस ब्रायन, शिला र क्रिस होल्ट, लिंदा । भादगाउँले कालो नेपाली टोपीमा क्रस खुकुरी भएको ब्रिटिश गोर्खाको प्रतीक लगाएका ६ फ़ुट अग्ला क्रिस ब्रायन तेसै अग्लिएका छन् गोर्खाली स्वाभिमानसंगै । नेपालको याक लेखिएको टिसर्ट लगाएर नेपालीपन झल्काइरहेकिछन् लिंदा ।

स्टलभरि नेपालका उत्पादनहरु । नेपालका रमणीय ठाउँहरुका सुन्दर तस्बिरहरु प्रोफेसनल फोटोग्राफर क्रिस होल्टले खिचेका हुन् । नेपाली हस्तकला र ललितकलाका प्रतिकहरुले भरिएको, तोरण धोजा पताकाहरुले सजिएको उक्त स्टल एउटा मिनी नेपाल बनेर दुनियाकासामु सजिएको छ । धादिङ बेसीमा रहेको सुनौला चोवा सामुदायिक बिद्यालयको सहयोगार्थ राखिने हरेक स्टलहरुमा स्वयंसेवीको भूमिका निभाउने पौड्याल परिवारका हामी दम्पति र हाम्रा दुइ सन्तति प्रेरणा र प्रेमा । पर्यटकहरुको त्यो बिशाल भिडमा नेपालको झण्डा देखेर हुत्तिदै नेपाल गएको छु म पनि भन्ने धेरै भेटिए । एकजना भन्दै थिए ‘’तेरो देसको एरपोर्ट संसारको खत्तम एरपोर्ट हो’’ । ती पर्यटकलाई मैले क्षमा माग्दै अर्को पल्ट नेपाल जाँदा हाम्रो एरपोर्ट राम्रो हुने छ । तपाइंलाई निरास बनाउने छैनौ भन्नु पर्यो ।

‘’आइ लभ नेपाल’’ भन्ने पर्यटकहरुको त्यो स्वतस्फूर्त नेपाल प्रेम हाम्रा लागि पर्यटकीय आकर्षणको निशुल्क बिज्ञापन हो । नेपालबाट फर्किएर आएका पर्यटकहरुले बाँड्ने अनुभव बास्तबमै सबैभन्दा ठुलो सम्पति रहेछ पर्यटकिय विकाशमा । तिनै अनुभबि पर्यटकहरुले गर्ने नेपाल बर्णनलाइ हामीले सदुपयोग गर्ने एउटा ठुलो समय यस्तै रमाइला जमघट हुन् । तर दुख: लाग्छ, लण्डनदेखि मात्र १०० माइलको दुरीमा दर्जनौं पटक यस्ता स्टलहरु राखेर गरिने नेपाल अपिलका कार्यक्रमको जानकारी हाम्रो देशको राजदुताबासलाइ हुँदैन । न त कुनै प्रचारको भोकनै देखिन्छ यी नेपालका सांचा मित्रहरुलाई । लन्डनका ५/७ वटा दुइ तले बसमा भिजिट नेपालको पोस्टर टाँगेको खवर ठुलै समाचार र उपलब्दी ठानिए पनि हजारौ पर्यटकहरुकाबिच गरिएको निशुल्क नेपाल चिनारीको कुनै चर्चा हुँदैन । पत्रिकामा लेख्नु हुन्न” धादिङ माओइस्ट क्षेत्र हो’’ क्रिस ब्रायन मलाई कानमा फुसफुसाउँछन् । स्मिथडोन हाइस्कुलका बिज्ञान शिक्षक क्रिस होल्ट नेपालसंगको आफ्नो सानिध्य यसरी बताउँछन- “आजभन्दा १२ वर्ष अघि सन् १९९९को नोवेम्बरमा हाम्रो स्कुलका १२ जना विद्यार्थीहरु र ४ जना शिक्षकहरुले गरेको जीवनमै अविस्मरणीय नेपाल भ्रमण, नेपालको हिमाल पहाड  भौगोलिक बिकटताकाबिचबाट पनि यहाँका मानिसहरुले देखाउने आत्मियता, विध्यार्थीहरुको दयनीय शैक्षिक अवस्थालाइ हामीले नजिकबाट देख्यौं । हाम्रा तात्कालिक गाइड इश्वरी अधिकारीको सहयोगले हामीलाई नेपालकालागि केहि गर्ने प्रेरणा मिल्यो । त्यसकालागी हामीले धादिङ बेसीको दुर्गम ठाउमा रहेको सुनौला चोवा सामुदायिक विध्यालयलाई रोज्यौं ।”

नेपालको दुर्गम अन्नपूर्ण क्षेत्रमा पर्ने दुइवटा बिपन्न विध्यालयको अवलोकन गर्न गएका बेलायती विध्यार्थीको रोमान्चक प्रतिक्रिया कस्तो रह्यो नि ? भन्ने मेरो प्रश्नमा यसरी सुनाउँछन क्रिस होल्ट “हामीले बेलायत फर्केर कहिल्यैपनि बाबु आमालाई गुनासो र बिरोध गर्ने छैनौं । यो भएन त्यो भएन भनेर नेपालमा हामीजस्ता स्कुले साथीहरुको दुरावस्थाले हामीलाई द्रवित बनायो । हामी भाग्यमानी रहेछौं ।” त्यसपछिका दिनहरुमा ती विध्यार्थीहरुले नेपालका विध्यार्थीहरुलाई साथी बनाए । चिठीपत्रहरु आदानप्रदान भए । कोशेलीहरु पठाए मायाको प्रतिक । साथीहरुलाई बताए नेपाली साथीहरुको दारुणिक कथा र त सहयोगी हातहरु यसरी सहयोगमा जुटेका छन् वर्षौंदेखि । धेरै धन हुनेहरुको मन नहुने द्रिष्टान्त सुनेका हामीहरुलाई आश्चर्य लाग्न सक्छ ।

“अरूलाई सहयोग गरौँ” भन्ने भावना हृदयबाट आउनु ठूलो उपकारपनि हो । तर समाजमा त्यस्ता उपकारी मान्छे विरलै पाइएलान् जसले आफू, परिवार, समाज र देश भन्दा माथि उठेर सात समुद्रपारीको देशको गरिबी, अशिक्षा, रोग र भोकले पीडित स्कुले बालबालिकाको लागि केही गर्न अदम्य सङ्घर्ष जारी राखेका छन् । क्रिस ब्रायन र क्रिस हल्ट एक त्यस्तै विशाल हृदयी बेलायती नागरिक हुन् जसले बिगत १०/१२ वर्षदेखि धादिङको दूर्गम ठाउँका नेपाली बालबालिकाको उज्ज्वल शैक्षिक भविष्यका लागि बेलायती भूमिमा रहेर अथक प्रयास गरिरहनुभएको छ ।

नेपाललाई आफ्नो दोस्रो घर मान्ने यी बेलायती मित्रहरु नेपालका सच्चा सहयोगी हातहरु हुन् । कसरि उठ्दछ त्यत्रा रकम बेलायतमा ? मेरो प्रश्नमा क्रिस ब्रायन भन्दछन ‘’स्मिथदन हाइस्कुलमा कैलेकाहीं नन युनिफोर्म डे भनेर विद्यार्थीबाट १ पौण्डका दरले उठाउँछौं । बिशेष पर्वहरुमा हामी स्टल राख्छौं । उक्त स्टलमा हामी चन्दा भनेर प्रतक्ष नमागेपनि तम्बोला खेलाउँछौँ । नेपाली उत्पादनका बस्तुहरु बिक्रि गर्छौं । कार्बूटमा सामानहरु बेच्छौं । बार, पवहरुमा नेपाल संवन्धि देखाउँछौं । दयामाया हुनेहरुले सहयोगको हात दिन्छन । त्यसैबाट हाम्रो यात्रा चलीरहेछ ।‘’ भौतिक सम्पतिका अधिपति नभएपनि आफ्नो देश र महादेशनै तरेर हजारौं माइल परका हामीहरुलाई आफ्नै परिवार जस्तो माया दिने मनका धनी क्रिस दाजु भाइहरुको नेपाल प्रेम साँचो अर्थमा महान छ ।

मानवीय संवेदनाको खडेरी पर्दै गइरहेको अहिलेको अवस्थामा धादिङको सुनौलो चोहान विध्यालय मार्फत नेपाली बालबालिकाको उज्ज्वल शैक्षिक भविष्यका लागि निःस्वार्थ ढङ्गले अहोरात्र लाग्नु भएका क्रिस ब्रायन र क्रिस हल्टको यस्तो मानवीय कार्यले आफ्ना व्यक्तिगत स्वार्थ र सुविधामा मात्र सङ्कुचित नभई मानव कल्याण र समाजसेवाको मार्गमा लाग्न सबैलाई प्रेरणा दिएको छ । क्रिस ब्रायनको करेसामा नेपाली तरकारी बरेलाहरु फलेका छन् ।  उनका घरका भित्ताहरुमा आफ्ना नातिनातिनिहरुका तस्बिर हैन नेपालका दुर्गम गाउँ फप्लुका दावा शेर्पाका छोरा छोरीहरुका लस्करै फोटाहरु छन् । नेपालको झन्डा र बुद्धका थान्काहरुले भरिएको उनको सुन्दर घर साँचो अर्थमा नेपाल प्रतित हुन्छ । नेपाली दाल, भात, रोटी र मम मन पराउने उहाँ नेपाली कार्यक्रम भनेपछी जहाँपनि पुग्नु हुन्छ ।

हाम्रो हार्दिक अभिवादन ती उत्साही हातहरुलाइ जसले नेपालको दुर्गम ठाउमा रहेको बिद्यालयको मुहार फेरेका छन् । हजारौं नेपाली विध्यार्थीहरुको शैक्षिक भविष्यकालागि जुटीरहेका छन् ।

(बिगत आठ बर्षदेखि बेलायतमा कार्यरत नेपाली इन्जिनियर रामहरि पौड्याल र पत्नी आर्किटेक प्रेजा खनाल पौड्याल चितवन निवासी हुन् । उनीहरु स्कुल अपिलका हरेक कार्यक्रममा स्वस्फुर्त्त स्वयंसेवा गर्छन्)

तपाइँको प्रतिक्रिया