तिन दशकदेखि राई र लिम्बूका पछि पछि
राईहरुले कति जान्दछन् राई र लिम्बू भाषा र संस्क्रितिबारे त्यो भन्दा कयौं गुणा जान्दछन् उनी । तर उनी न त राई हुन्, न लिम्बू नै । न नेपालमा जन्मे हुर्के नत नेपालीनै हुन् । तर उनलाई राई भाषा खरर आउँछ । लिम्बू भाषामा पारखी छन् । प्राध्यापक डा मार्टीन गेन्जले । उनको जन्म थलो जर्मनी । कर्मथलो कुन ? भन्न मुस्किल छ । किनभने उनी अष्ट्रियाको भियनास्थित भियना विश्व विध्यालयमा प्राध्यापन तथा अनुसन्धान गर्छन् । तर उनको अनुसन्धानको जरो भनेको नेपालका पूर्वीय क्षेत्रमा खाँदिएका लिम्बू र राइ हुन् । त्यसैले नेपालको पूर्वी क्षेत्र हानिइरहन्छन् उनी । तिनै राई र लिम्बूका पछि पछि लाग्दै । तिनैको धर्म, संस्क्रिति, संस्कार र भाषाको खोजिनितिमा ।
गत साल अष्ट्रियाको भियनामा भेटिए उनी । भियना विश्व विध्यालयको आफ्नै कार्यकक्षमा । ब्यस्तताका बिच भेट्न राजि गरे । सहयोग गरेकि थिईन् त्यहि विश्व विध्यालयमा नेपाली भाषा अध्यापन गराउने पत्रकार अलका चुडालले । उनैको सहयोगमा राई भाषा र संस्क्रितिका यी किरा मार्टीनसितको भेट संभव भएको थियो । मलाई लिम्बू भाषा कति थरी हुन्छन् कुनै जानकारी थिएन । न त राई भाषा कति र कस्तो हुन्छ भन्नेनै ज्ञान थियो ।
राई र लिम्बूको मिथक साह्रै घतलाग्दो हुन्छ । यी जनजाति प्रक्रितिका पूजारी हुन् भन्ने सम्म जानकारी हो । प्रक्रितिका गहिरा पूजारी भएकाले अलि बढिचाख लाग्थ्यो मलाई राई , लिम्बु , गुरुङ भनेपछि । सायद प्रक्रितिप्रेमी भएर होला । त्योभन्दा बढि जनजातिको निकटताको बढिनै महसुस हुने । एक जना बिदेशीले राई लिम्बू भाषाको अनुसन्धान गर्छन् भन्ने सुन्दा आँखाका परेला तनक्क तन्किनेनै भए ।
शुरुतिरै हुनुपर्छ गफगाफको । सोधें ‘कस्तो हुन्छ ? कतिले बोल्छन् राइ लिम्बू भाषा ? कति छन् लिम्बू र राइहरु ?” मेरो प्रश्न कस्तो कस्तो लाग्नु स्वभाबिकै हो उनलाई । केहि नजानि प्रश्न तेसार्दापनि पटक्कै मिल्दैन । उनले अर्थ्याए ‘लिम्बू र राइनै ३० थरी भन्दा बढि छन् । सबै त बोलेरै सकिन्न, सिक्नै सकिन्न ।’ ३० थरी ? तिनका कतिपय कुरा सिक्न, जान बुझ्न र भिन्नता छुट्ट्याउनै नसकिने रहेछ । मार्टीका कुरा सुनेर त जिब्रो निकै तन्केर बाहिरै सम्म निस्कियो ।
पहिलो पटक उनी १९७९ मा पुगेका रहेछन् नेपाल । हिमाली पर्यटक बनेर । क्याम्पस पढ्दा उनका एक जना शिक्षक रहेछन् जसले नेपालको मुलुकी ऐनका बारेमा शोधपत्र गरेका । जातिय ढाँचा, नेपालको ईतिहाँस लगायतका विषयमा सुनाउने उनैका ज्ञानका कुरा सुनेर उनका बिध्थार्थीहरु चाख दिन्थे । त्यसै मध्येका थिए मार्टीनपनि । उनले प्राप्त किताबहरु हेरे । तर नेपालका बारेमा उतिसाह्रो किताब थिएनन् । सन् १९७० सम्मपनि मानव शास्त्रका विविध पाटाहरुका बारेमा नेपालमा त्यति खोजबिन भएको थिएन । उनलाई नेपालको हेलम्बु क्षेत्र पर्यटकका रुपमा घुम्दै चाख बसिसकेको थियो । झन नेपालको ईतिहाँस, भूगोल, संस्क्रिति र जातिय विविधताबारे केहि जानेपछि अझ रस गढ्यो । त्यहि कारणले उनले नेपालमा अनुसन्धान गर्न चाहे ।
सन् १९८२ मा कालिगण्डकी क्षेत्रमा अलि लामो समयकालागि गए । उनलाई थाह भयो, थकाली लगायतका त्यो क्षेत्रका धेरै विषयमा अध्ययन गरिसकेका रहेछन् । अब उनलाई त्यता चाख लागेन । काठमाडौं फर्केर यस्सो एउटा पुस्तक पसलका छिरेका बेला चार्ल म्याकडुगलले लेखेको कुलुङ राई संवन्धि पुस्तकमा गएर उनका आँखा टक्क अडिए । कुलुङ, चाम्लिङ लगायतका थुप्रै राई पो हुने रहेछन् भन्ने उनले हेक्का पाए । ओहो लौ यो विषयतिर उति अनुसन्धान भएको रैनछ भन्ने बुझेपछि उनलाई पूर्वी क्षेत्रका राइमा अनुसन्धान गर्न मन लाग्यो । त्यो बेला अहिले झैं हिले, बिजयपुर लगायत वरिपरि बाटो थिएन । उनले पैदलमै नेपालका ति डाँडा काँडा छिचोले । तुम्लिङटर, हिले बसन्तपुर सबै पैदलमै गए । उनले किराँत क्षेत्र भनेर चिनिने यो अरुण उपत्यकाका धेरै गामठाम डुले । अरुण उपत्यकाको माथिल्लो भागमा रहेको एउटा सानो गाउँ रोजें । जर्मनी आएर पैसोको जोहाड गरेर पिएचडीकालागि अनुसन्धान गर्न फेरी नेपाल गए उनी । संखुवासभाको सानो गाउँ बालामा बसेर उनले राईको अनुसन्धानमा केन्द्रित गरे । परम्परागत शैलीनै अपनाए अनुसन्धानको ।
त्यहाँ उनले राईको झाँक्री, धामी लगायतका अनेक परम्परागत संस्क्रिति देखे । गाउँमा प्रत्यक्ष बसेर भोगे । सहभागि बने । पिएचडीकालागि गरेको अनुसन्धान सानो जस्तो लाग्यो । उनले त्यसलाई निरन्तरता दिए र राई संवन्धि दुई पुस्तक लेखे । जर्मन भाषामा लेखिएका ति पुस्तक पछि अंग्रेजी भाषामा अनुवाद भए । भियना विश्वविध्यालयमा अहिले दक्षिण एशियाको आधुनिक विषयमा अध्ययन हुन्छ । उनी त्यहिँका प्राध्यापक हुन् । अनुसन्धानदातापनि । नेपालको विषयमा विशेष अध्यापन हुन्छ । यसमा उनलाई करिब तिन वर्ष अघि (मैले करिब दुई वर्ष अघि अन्तर्वार्ता लिँदा) प्रस्ताव गरिएपछि उनी भियना आए । उनले नेपालमा नोबेल किशोर राईसितसमेत काम गरे । राईहरुमा गरेको अध्ययन र अनुसन्धान गरेको काम नोबेल किशोर राईलाई देखाए ।
किराँतीहरुको मुख्य जाति राई र लिम्बू हुन् । ‘राईकै करिब २० थरीका समूह समूदाय छन् । राइ त राइनै हुन् तर नेवाङ र कुलुङले एक अर्काबिच बोल्नुपर्यो भने नेपालीलाई माध्यम बनाउनुपर्छ । कि त एउटा समूहले अर्काको भाषा सिक्नुपर्यो । पूर्व र पश्चिमका तामाङकोपनि अलि अलि फरक हुन्छ । तिनको भाषा एकै भएपनि भाषिका (डाईलेक्ट) भिन्न हुन्छ । तैपनि तिनले एक अर्काबिच संवाद गर्न सक्छन् । तर नेम्वाङ र कुलुङ राईबिच यस्तो हुन्न । पुरै भाषानै अलग हुन्छ ।’ मार्टीनले अर्थ्याए । यस्ता राइहरु भारतको अरुणाचल प्रदेशमापनि छन् । उनैका एक जना साथी त्यहाँका राईमा अनुसन्धान गर्छन् । अहिले अरुणाञ्चल प्रदेश र नेपालको पूर्वी क्षेत्रमा रहेका यी राईबिच के कस्ता समानता छन् भनेर मार्टीन र उनका साथी एउटा पुस्तक प्रकाशनको तयारीमा छन् ।
करिब ३३ वर्ष देखि राई र लिम्बूमाथिको अनुसन्धानले अहिले पनि निरन्तरता पाइनैरहेको छ । उनी यसैमा दत्तचित्त छन् । अझ भित्र भित्रै गहिरिइरहेका छन् । उनको यो साँढे दुई विश हाराहारीको जिवनमापनि उनलाई यिनै राई लिम्बूका संस्कार, संस्क्रिति र अनेक पाटोले लोभ्याइरहेको छ । तानीरहेको छ ।
(मैले यी अन्तर्वार्ताहरु आगामी पुस्तकका लागि लिएकाले यतिमै सिमित राख्न चाहन्छु)





