संघीयता र लिम्बुवानको लागि रोडमार्च
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका ९ जिल्लाहरूलाई ”लिम्बुवान स्वायत्त राज्य” घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६८ माघ १८ र १९ गते लिम्बुवानको दक्षिणी सिमाना जोगवनी-रानी भन्सारबाट ऐतिहासिक राजधानी विजयपुरसम्मको दुईदिने लिम्बुवान रोड मार्च कार्यक्रम सम्पन्न गरेको छ ।
यस लिम्बुवान रोड मार्च लिम्बुवानको दक्षिणी सीमा र त्यहाँ रहेको भूभाग झापा, मोरङ र सुनसरीलाई ऐतिहासिक लिम्बुवान स्वायत्त राज्यमै कायम गराउन थप दवाब दिन आयोजना गरिएको हो। साथै, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, स्वायत्तता र आत्मनिर्णयको अधिकारजस्ता आदिवासी जनजाति लगायतका जनताहरुको अधिकारलाई कुण्ठित गर्ने षडयन्त्र भएमा जस्तोसुकै त्याग गर्न पनि लिम्बुवानी जनताहरु तयार रहेको उनीहरुले बताए ।
संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले राज्य पुनर्संरचना आयोगको बहुमत सदस्यले बुझाएको प्रतिवेदनमा लिम्बुवान राज्यको नामकरण भएकोप्रति सकारात्मक भएपनि लिम्बुवानको ऐतिहासिक सिमाना सङ्खुवासभा, धनकुटा,झापा, मोरङ र सुनसरीमा सिमाना खुम्चयाएर, मिचेर अन्य राज्यहरू प्रस्ताव गरेकोप्रति घोर आपत्ति प्रकट गरे ।
लिम्बुवानको दक्षिणी सिमाना जोगवनी-रानीबाट लिम्बुवानी माटो उठाई लिम्बुवानको झण्डा र विभिन्न नाराहरुसहित गन्तव्यस्थल विजयपुरतर्फ हिँडेको लिम्बुवान रोडमार्च पहिलो दिन दुहबी सुनसरीमा विश्राम गरेको थियो । दोस्रो दिन, विहानै दुहवीबाट हिँडेको हजारौंको रोडमार्चले ”लिम्बुवान आन्दोलन जारी छ; अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान राज्य- घोषणा गर;लिम्बुवानलाई टुक्राउन पाइँदैन; लिम्बुवान हाम्रो घर हो, नेपाल हाम्रो देश हो; लिम्बुवान राज्य क-कस्को- लिम्बुवानवासी सबैको; सम्पूर्ण संघीय गणतन्त्रवादीहरु एक होऔं; सम्पूर्ण लिम्बुवानवासीहरु एक होऔं; लिम्बुवानी महान शहीदहरु- जय लिम्बुवान ! आई. एल. ओ. महासन्धि नं.१६९- कार्यान्वयन गर; आत्मनिर्णयको अधिकार- सुनिश्चित गर; र, जोगवनीदेखि विजयपुरसम्मको लिम्बुवान रोडमार्च सफल पारौं”लगायतका नाराहरु लगाउँदै अघि बढेको थियो ।
हजारौंको सङ्ख्यामा सहभागीहरु रहेको लिम्बुवान रोड मार्चका नेता तथा कार्यकर्ताहरुले रोडमार्चमा आफूलाई आवश्यक बन्दोवस्तीका सामग्रीहरु र खाजापानी समेत आफैले बोकी संघीय मञ्च तथा लिम्बुवानको झण्डा र लिम्बुवानी अभिवादन ‘जय लिम्बुवान !’ लेखिएका फेटाहरुमा सजिएर ‘हामीलाई प्यारो लाग्छ, हाम्रो लिम्बुवान’, अरुणपूर्व मेचीवारि सबैसबै माटोको नाम लिम्बुवान; मेचीकाली तराई पहाड…, र धरान-धनकुटा भेडेटार… लगायतका गीतहरु गाएका थिए ।
जोगवनी, विराटनगर, दुहबी, खनार, इटहरी, तरहरा, चारकोशे झाडी र धरानहुँदै करिब ५५ किलोमिटर दुरी पैदल हिँडी पार गरेर आएको लिम्बुवान रोड मार्च माघ १९ गते साँझ ७ बजेतिर गन्तव्यस्थल लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा पुगेको थियो ।
मञ्चसम्बद्ध लिम्बुवान सुनसरीका अध्यक्ष डम्मर खजुमद्वारा उद्घोष गरिएको उक्त समापन समारोहबीच लिम्बुवानको दक्षिणी सिमाना जोगवनी-रानी विराटनगरबाट उठाई ल्याइएको लिम्बुवानी माटोलाई रोडमार्च नेतृत्व र सबै सहभागीहरुले कोशेलीस्वरुप विजयपुर दरबारमा चढाई मिसाएका थिए ।
-फोटो र समाचार दुबै, डीबी आङ्बुङ लिम्बू















