विध्यार्थीका घर घरै छापा मार्ने गुरु

ठिक्क प्रवेशिका परिक्षा आउन एक महिना बाँकि हुँदो हो । हामी म र शिवराम रिजाल (दुखको कुरो अहिले शिव छैनन्) कोठामा हिसाव हेर्दै थियौं । उनी अर्थात हाम्रा गणितका गुरु धनराज गिरी सरर साइकलमा आएछन् घरैमा । उनले चोर औंलो मुखमा लगेर चुपचुपाप भन्नुस् भन्दै आमासित सोधेछन्, ददि र शिवराम कहाँ के गर्दै छन् ? स्वाट्टै कोठामा पसे उनी ‘ओई केटा हो तिमीहरु के गर्दै छौ हँ ?’ डरले सातोपुत्लो त्यहिँ उड्यो हाम्रो  ।

‘पढ्दै सर ।’

‘गफ चुटेर बस्या त होइन ?’

‘हेर्नु न ह्याँ किताब र कापी ।’

अलिकति यता उति गर्‍यो कि झ्याम कि झ्याम तोरीका फूल देखिने गरि चुट्ने बानी थियो उनको । कान बटार्ने गर्थे कि त । जसले माया गर्छ, विध्यार्थीको भविष्यको साँच्चै चिन्तन गर्छ त्यस्ता गुरुको अधिकार हुने रहेछ क्यारे ! कसैले विरोध गरेको सुनिएन उनले चुट्ने गरेकोमा ।

मलाई भने ‘तैंले दायाँ बायाँ आँखा नला । सिरिप बिजगणित दिनदिनै घोट । जहाँबाट जसरि सोधेपनि ट्याक्कै मिलाउने बन । ४० मा ४० नै आउने गरि मिला । रेखागणितको अन्तिम पेजको १४ वटा रेखा कोर्ने एउटा एक्सरसाइज घोट । त्यसको १० नंबर आउँछ । ५० नम्बरको मिलाएपछि ४० त कहिँ नजा । बिजगणितको ४० र रेखागणितको १० मध्ये कथंकदाचित कतै १० नंबरको फुस्केछ भनेपनि ४० नंबरको त मिल्छ । त्यति गरिस् भने ५ नंबर काट्ला जाँचकिले । ३५ त आइगो । अरु विषयमा त तेरो शंकै छैन’।

हिसाब भनेपछि ठ्याक्कै पिसाव आउँथ्यो । तिन तिन दिनमा फेरि नदोहोर्‍याए भुसुक्कै हुने । शिवरामलाई अर्थ्याए ‘यसलाई एकछिन नछोड्नु है ? त्यहि बिजगणितमा घोट्टाउनु । केहि समस्या भए तु मकहाँ आउनु जतिखेर जहाँपनि।’

उनी बाटो लागे । घरतिर फर्के होलान् भन्ने सोचियो । ए उनी त अरु साथीकापनि घर घरै छापा हान्दै गएछन् । चुपचाप लागेर घर घर गयो, छापा हानेको शैलीमा झ्यापकि झ्याप बिध्यार्थीको कोठामा पस्यो । कतै अड्केको भए, नजानेको भए सिकायो हिँड्यो ।

उनी पढ्ने कसरि, कहिले र के के गर्नुपर्छ ? परिक्षामा राम्रो गर्न सबै जानेर मात्रै हुन्न । पहिलो घण्टामा कति प्रश्नको उत्तर भ्याउनुपर्छ ? दोस्रो र तेस्रोमा कति । कस्ता प्रश्नको जवाफ पहिले र कस्ताको पछि दिनुपर्छ । परिक्षामा कसरि प्रस्तुत हुनुपर्छ । सारा सिकाउँथे ।

मलाई सम्झना छ, त्यतिखेर एकथरी मास्टर थिए, कांग्रेसका स्थानिय कार्यक्रम बिध्यार्थीका पुस्तक भन्दा बढि चहार्ने । अर्काथरी थिए, लुकि लुकि त्यसैगरि कम्युनिष्टका कार्यक्रममा हुत्तिने, आदर्श सुन्न हाम्फाल्ने । कोहि सिडियो र राजाका मान्छेका ढोका चहारेर कांग्रेस र कम्युनिष्ट समर्थकले काँ के के गर्छन् हुलाकीले झैं पुर्‍याउने । कोहि राजाको काम कहिले जाला घाम झैं घाम ढल्केको हेरेर बस्ने । तर यीनको पारा भिन्नै थियो । यस्सो म अनुमान लाउँछु, यी हुनलाई नेपाली कांग्रेसको नजिक नजिकका सोचका थिए । तर बिध्यार्थीका अगाडि कहिल्यै उनले त्यो राजनितिक सोच पालेर बिध्यार्थी पढाउन लिएको तलबको दुरुपयोग गरेको सम्झना छैन, सुनिएनपनि । हामीले स्कूले हावाको बतासे राजनितिक कुरा यस्सो गरेको सुनेभने बरु दगुर्दै आएर कान बटार्दै भन्थे ‘अहिलेदेखिनै राजनिति ? पढ्नुगुन्नु छैन राजनिति?’

त्यो बिध्यालयमा यीनको ज्ञान मात्रै सिंचिएको छैन । त्यो त तलबको सोझो गर्नपनि दिए होलान् भन्न सकिने भो । तर माध्यामिक बिध्यालय बनाउनै यीनको लगाव, दौडधुप र त्यो विध्यालय स्थापना गराउन सायद यीनको समर्पण र उपस्थिति नथपिएको हुँदो हो त खै त्यति सहज सायद नहुँदो हो । किनभने कुनैपनि विषयको शिक्षक नहुँदा जुनसुकै विषय पढाउन सक्ने सायद यस्ता शिक्षक त्यो जिल्लामै निकै कम होलान् । उनी जुनपनि विषयमा पोख्त थिए, अझै छन् । अहिले त झन साहित्यकारका रुपमापनि दरिए ।

तर त्यो गाउँका राजनिति गर्ने हौं भन्नेले कसरि तिरे यीनलाई उनको गुन ? रुवाउँदै पठाएछन् । नेताका पाउ पर्ने बेला गोडानै जिब्रोले चाटौंला झैं गर्ने न त नेपाली कांग्रेसका चैते नेताले यीनको गुन देखे । न त महा आदर्शवार्दी कम्युनिष्ट नेताहरुले आफ्ना छोराछोरीको भविष्यमा बलिया ईट्टाको पर्खाल लगाइदिएको सम्झे । वर्षौं वर्षसम्म अस्थायी शिक्षकका रुपमा रहँदापनि अँहँ तिनले धनराज गिरीको गुनको एक पित्को सम्म तिरौं, कम्सेकम स्थायी बनाउन कोसिस त गरौं भनेर सोचेनन् । अन्त्यमा उनी त्यो स्कूल छोडेर बाटा लागे । सुन्थें, साँच्चै उनी त्यो स्कूल छोडेर हिँड्दा निकै आत्म रुवाएका थिए । बेलामा तलब पनि नलिई, स्कूलको लागि चन्दा बटुल्न देउसी र भैलो गाउँदै, चन्दा देउ भनेर हात पसार्दै हिँडेर वर्षौं वर्ष सिंचेर उभ्याएको ठाउँले त्यसको कदर नगर्दा कस्तो हुन्छ ? सूनको थाल कुच्याएर सिलावरको थालमा रमाउनेहरुसित कसको के लाग्छ ?

एसएलसी परिक्षामा एक पटक गुल्टुङ मारेर किर्तिमान राख्या आफूले । अर्को पटक पढेर दिन कस्सिएको । त्यसैलेपनि यी धनराज गुरुमा सायद मेरो चासो बढि थियो । जाँच दिएर म सौराहामा गोरा चराउने काममा लागें, अंग्रेजी सिकिने, जिवजन्तु जानिने, दुई चार पैसोपनि हुने ।

एसलसी परिक्षाको रिजल्ट भएछ । गोरखापत्रमा मेरोपनि नम्बर देखेपछि हान्निँदै सौराहा आएछन् मैले काम गर्ने होटेलमा ।

‘कहाँ गयो त्यो ?’

आफूलाई फेल भइयो भनेर कत्रो तनाब । मनले पास हुँला भन्ने त सोचेकै होइन । त्यसैले ‘अब फेल भएको अनुहार के देखाउने दुनियाँलाई’ भनेर कोठामा लज्जित र त्रसित हुँदै लुकेको थिएँ । कोठामा उसैगरि छापा हानेको शैलीमा आए । ‘मैले यत्रो मेहनत गर्दापनि पास भैनस हैन गोरु ? मेरो मेहनत खाडलमै हालिस् हैन ? भन्दै चुट्नलाई आए होलान् भन्ने सोचें । तर होइन रहेछ ।

‘ओए के पार्टी खुवाउँछस् त?’ उनले सोधे ।

‘साँच्चै हो र सर ?’

‘हो मैले हेरेर आ’को, तैले हिसाब मिलाइस् भने पास हुन्छस् भन्ने थियो, मिलाएछस् । ल के ख्वाउने त?’

‘हाहाहाहाहा ! चिकन चिल्ली र बियर’

‘म एक जना सरलाई लिएर् आउँछु एक दिन खानलाई । आज नखाम, जिस्काइदिएको मात्रै’ भनेका उनलाई त्यो खाने मेसो अहिलेसम्म मिलेको छैन ।

+++++++++++++++++++++++++++++ +++++++++++++++++++++

चितवनकै वीरेन्द्र क्याम्पस भर्ना गरियो । एकाध महिना मात्रै पढें मैले चितवनमा । मस्तिको थियो पारा । घाम ताप्ने । घुम्ने । कक्षा चलिरहेछ भित्र, बाहिर हामी गफ चुटेर बस्ने । एकदिन म बाँसुरी बजाउने एक जना साथीको बाँसुरीको धुनमा रमाउँदै बसेको थिएँ चौरमा । क्याम्पसको ढोकैबाट देखेछन् चौरमा घाम तापेर बसेको । सरासरी आएछन् । मैले त कान समातेर बटारेपछि मात्रै चाल पाएँ। आज कुन चाहिँले दह्रो खाने भो मेरो हातको भन्दै उठ्दा त तिनै धनराज गुरु । सातोपुत्यो उड्यो । उनले भने ‘ए स्कूलबाट बिदा लिएसि त केहि गर्दैन अब यो धनराज सरले भन्ने सोच्या छस् ?’

 ‘हैन सर’

‘खुरुक्क गैहाल क्लासमा । घाम तापेर बसेर जाँचमा के गर्ने ? आलू खाने ? ‘

आफ्ना बिध्यार्थी जहाँ पुगुन उत्तिकै चासो राख्थे उनी भन्ने यो भन्दा बलियो तथ्य के होला ? विध्यार्थीको शिक्षामा यति चिन्तित शिक्षक कति होलान् ?

+++++++++++++++++++++++++++++ +++++++++++++++++++++

+++++++++++++++++++++++++++++ +++++++++++++++++++++

केहि वर्षको अन्तरालमा दशैंमा घर फर्किँदै गर्दा एकदिन पछाडिबाटै देखेछन् उनले र बोलाए ‘ओए ओेए, काँ जानलागिस ह्याँ आइज’ । पारा उहि थियो । चर्केर बोलेपनि माया उहि थियो ।

‘घर जानलाग्या सर काँ जाने ?’

‘ह्याँ आइज’ उनले भने ।

गजलको किताब लेखेका रहेछन् । उनी गजलमा नेपालमै चिनिएका छन् भन्ने त थाह थियो । हस्ताक्षर गरेर एक प्रति दिए उपहार । केहि गजल सुनाए ‘हाम्रा नेतालाई ब्यंग्य गरेका’। केहि बेर लेखनका विषयमा गन्थन भयो । उनले मेरो किताब र पत्रपत्रीकामा छापिने लेखको प्रशंसा गरे । आफ्ना चेलाहरुको चर्चा सुन्दा गौरव लाग्छ भने । हौस्याए । ढाडस दिए । मैले उनको झुवानी माध्यमिक विध्यालयबाट निस्कँदाको वास्तविकता बुझ्न प्रसंग कोट्याउँदा असहज माने । खोलेनन् ।

मैले भनें ‘सर जिवनको धेरै समय के के नचाहिने ठाउँमा, अनुत्पादक काममा बिताइयो । अहिले कस्तो पछुतो लाग्छ । पहिलेदेखिनै दत्ता चित्त भएर लेखन र अलि दह्रोसित पढ्न, खोजिकार्यमा लागेको भए अहिलेसम्म निकै गरिसकिँदो हो’। 

उनले सम्झाए ‘जिवनमा हरेक चिजको समया आउँछ । चाहेर मात्रै हुन्न । परिस्थिति र चिन्तन, तत्परता, लगाव र वातावरण मिल्नु पर्छ । जुन बेला मिल्छ त्यहि बेलादेखि गर्नुपर्छ । अबपनि के ढिलो भएको छ र ? उपयुक्त समयमा राम्रो विषय सहित बलियो प्रस्तुति देखिएको छ । अब कस्सिने हो भनेपनि धेरै गर्न सक्छस् चिन्ता नमान् । हामीले अझै त कति गरौंला भनेर कस्सिएका छौं तिमीहरु युवाले झन त्यसो भन्ने ‘। उनलाईपनि शिक्षक भएर प्रारम्भिक कालका केहि समय ताससास खेलेर बिताएका क्षण संझिँदा थक्क थक्क लाग्ने रहेछ ।

त्यसपछि छुट्टिएका तिन वर्षमा मैले दोस्रो किताब लेखें । सुन्दै छु, उनले उपन्यास लेखेछन् । खुल्दुली लागिरहेछ, कस्तो होला उनको उपन्यास ? अहिले सोच्दै छु, उनले मन कुँड्याइ कुँड्याइ त्यो स्कूल त छोडे तर उनको त्यसपछि प्रगतीका हाँगा त झनै फैलिरहेका पो छन् त बाँसका जरा झैं ।

उनको काम र नाम पट्क्कै मेल खान्न । छेरुवा डरपोकलाई बहादुर, भिखारीलाई धन बहादुर, न्याउरे मरन्च्याँसेलाई सूर्य नाम राखे जस्तै हो । ईमान्दारिताकासाथ भन्नुपर्दा उनको नाम राख्ने पुरेत बा कारवाहीको दायरामा आउनु पर्छ । किनभने उनी धनका राज होइनन् । मनका राज हुन्  । किनभने उनी त्यहि बेलापनि आफूले अतिरिक्त समय पढाएको ट्युसनको पैसो ‘खुरुक्क लेउ, यो मितिमा नदिए पढ्न नआउ’ भन्दैनथे । दिँदै नदिएपनि माग्न हिँड्दैनथे । जबकी उनैका समकालिन थिए त्यहि स्कूलका जो पढ्न गएको दोस्रो दिन पैसो नलगे पर्सिबाट नआउनु भन्थे । यी धनराज त्यसैले मनका राज हुन् धनका होइनन् । अहिलेपनि उनी साहित्य, कला र स्रिजनामा दौडिरहेछन् धनका पछाडि होइन ।

(पहिलो फोटोका लागि राजन रिजाललाई धेरै धेरै धन्यावाद, दोस्रो फोटो म आफैंले खिचेको हुँ)

तपाइँको प्रतिक्रिया