जंगली हात्तीबाट बच्ने र बालीनाली जोगाउने सजिलो उपाय
जंगली हात्तीको आक्रमणबाट बर्दियाको मगरागढी गाविसको माकरकट्टीफाँटाका स्थानीय गिरिराज परियार मारिए अस्ति। उनकी श्रीमती रेखालाई गम्भीर घाइते बनायो । गत महिना जंगली हात्ती उसैगरि पूर्वको झापा पसेर मान्छे मार्यो । दिउँसो बजारमै पसेर उद्दण्ड मच्चायो (तस्विर हेर्नुस्) । जंगली हातीको यस्तो आक्रमण पूर्व झापादेखि पश्चिम महेन्द्र नगर सम्मै खपिरहेका छन् स्थानिय जनताले । मूख्य गरि चारकोसे झाडी वरिपरिको वस्तीमा हात्तीले मान्छे मार्ने, घर भत्काउने र बालीनाली मास्ने गरिरहेको छ ।
तर स्थानिय प्रशासनले भने हात्तीको आक्रमण र क्षतीलाई रोक्ने सजिलो उपाय हुँदाहुँदै पनि झन हात्ती बिच्काउने र उत्तेजित पार्दै आएको छ जसले गर्दा झन बढि क्षती हुने गरेको हो । के छ त हाती आक्रमणबाट बच्ने सजिलो उपाय ?
तरिका एकदम सजिलो छ । महँगोपनि छैन । सामान्य काठ र तारबाट बनेको माहुरीको घारले प्रहरीका बन्दूक र राँको, जनताको चिच्याहटलाई नटेर्ने हात्ती कुलेलम ठोक्ने गरेका छन् । किसानका बालीनाली मास्न पस्ने हात्तीलाई तर्काउने गरेका छन् । त्यसको लागि अरु केहि गर्नु पर्दैन, माहुरी बस्ने काठ्का घारहरु बनाउने । हात्ती आउने बाटोमा खेती भन्दा करिब १० मिटर परै मसिना तारहरुमा बाँधेर माहुरीका घार राखिदिने । लहरै राखिएका घारहरु एकले अर्कोलाई छुनेगरि बाँध्ने । जब हात्ती बाली नाली खान वा मान्छेका घरमा पस्न खोज्दा त्यो डोरीमा हात्ती ठोक्किएर माहुरीको घार हल्लिन्छ । माहुरीले आफूलाई दख्खल दिन आएको ठानेर हात्तीलाई टोक्न जान्छन् । अनि हात्ती कुलेलम ठोक्छन् । यसलाई सजिलै, न्युन खर्चमा प्रयोग गर्न सकिने र यसबाट धनजनको क्षती र हात्ती संरक्षण समेत गर्न सकिने बैज्ञानिकहरुले औंल्याएका छन्।
हात्तीको छाला त्यति बाक्लो हुन्छ कसरि टोक्न सक्छ भन्ने लाग्न सक्छ । त्यो साँचो हो कि हात्तीको शरिरमा अधिकांश भागको छाला बाक्लो हुन्छ । तर कानको छेउ, आँखा र सुँडको छाला अत्यन्त पातलो र संवेदनशिल मानिन्छ । माहुरीले त्यस्तै कमलो ठाउँमा टोक्दा त्यस्का खिल गढ्छन् । माहुरीको खिल गढेपछि हात्तीलाई दुख थाल्छ लामोसमय सम्म । बैज्ञानिकहरुका अनुसार त्यसको पीडा हात्तीलाई यतिसम्म हुन्छ कि ज्वरोनै आउने गरेको छ । यहि डरले हात्तीहरु भाग्ने गरेका हुन् । जंगलमा विचरण गर्ने हुनाले हात्तीहरु यसैपनि माहुरीको टोकाइबारे जानकार रहन्छन् ।
(झापा बिर्तामोडमा दिउँदै पसेको जंगली हात्ती)
केन्यामा जंगली हात्तीले मान्छे मार्ने र किसानका बालीनाली मास्ने गर्न थालेपछि किसानले बिद्धुतिय धराप राखेर हात्ती मार्ने, विष राखिदिने वा गोली हानेर हात्ती मार्न थालेका थिए। यसलाई कसरि रोक्ने भनेर बेलायतको लण्डन विश्व विध्यालयका अनुसन्धानकर्मीहरुले अध्ययन गरे। त्यस क्रममा लण्डन यूनिभर्सिटीको ज्योलोजी बिभागका फ्रिज भोलराथले माहुरी भएका रुखहरुबाट हात्ती तर्किने गरेको पत्तो पाए सन् २००२ मा । केन्यामा त्यसरि लहरै राखिएका माहुरीका घार मध्ये केहिमा माहुरी थिएनन् चाका मात्रै राखिएको थियो । माहुरीको चाकाको गन्धपनि हात्तीले थाहा पाउने भएकोले त्यस्तो बाटोबाट हात्ती तर्केको पत्ता लाग्यो । हात्तीहरु महुरीको भुनुनु सुन्नासाथै पनि पुच्छर ठाडो पार्दै भागेको उनीहरुले पत्ता लगाए ।
हात्तीहरुको स्मरण शक्ति ज्यादै तगडा हुन्छ । माहुरीले एक पटक टोकेपछि तिनले आफ्नो जिवनभर भुल्ने गर्दैनन् । हातीहरु समूहमा बस्ने जनावर हुन् । एक अर्काका अनुभव र खतरा तुरुन्तै आदानप्रदान गर्छन् । त्यसैले समूहको कुनै एउटा हत्तीलाई माहुरीले टोक्यो भनेपनि बाँकि सबै हात्ती भाग्ने गर्छन् । त्यसो त माहुरीको आक्रमण बाट हात्ती मात्रै नभएर अरु जनावरपनि डराउने गर्छन् । त्यति मात्रै हो र ? माहुरीको आवाजलाई रेकर्ड गराएर उनीहरुले हात्ती नजिक आएको बेला ठूलो स्वरले स्पिकर मार्फत बजाउँदापनि हात्ती तर्सेर भागेको पाइयो । त्यसरि माहुरी राख्नाले अन्य फाइदापनि भए । माहुरीको मह बेचेर आर्थिक मुनाफा हुने भयो भने हात्ती संरक्षणमा ठूलो उपलब्धि । त्यसैगरि हात्ती रोक्न भन्दै बनाइने महँगा पर्खालमा जाने रकमपनि जोगियो ।
उनीहरुले अफ्रिकन बीज भनिने माहुरीका घार राखेका हुन् । माहुरीका बिभिन्न जात हुनाले कुन माहुरी बढि आक्रमक हुन्छ भनेर छुट्ट्याउने काम विशेषज्ञहरुको हो । त्यसो त नेपालमा पाइने माहुरी उपयुक्त नभएमा केन्या वा बेलायतबाटैपनि यो माहुरीको जात ल्याउन सकिन्छ । किनभने केन्या र नेपालको तराइ क्षेत्रको हावापानी मिल्छ । तर यस्तो कुरोमा कसले ध्यान दिने ? सिंह दरबारभित्रै हराएको दिशाबिहिन सरकारले कि सधैं सरकारको मुख ताक्ने स्थानिय जनता ? वा वन्यजन्तु संरक्षणका नाममा डलरका खेती मात्रै गर्ने गैह्र सरकारी संस्थाले ?
(पहिलो फोटो अफ्रिकन साइन्स जर्नल र दोस्रो क्रिष्ण अविरलको फेसबुकबाट लिईएको हो)






