फ्रान्समापनि झाँक्रिको झारफुक !

ले सार्बोनिय गाउँमा पाँच दिनको कार्यक्रम थियो । त्यसैकालागि गएका बेला त्यहि गाउँका साथीसित बस्छु भन्दा भन्दै फ्रँस्वाका परिवारले मानेनन् र भने- सँगै बसौं । बसियो । ४२ संस्थाले प्रत्यक्ष भाग लिएका । सहभागि अझ कति हुँदा हुन्, हेर्न आउने उत्तिकै । दोस्रो दिन हाम्रो नेपाल संवन्धि प्रदर्शनी थियो । नेपाली चराको सांस्क्रितिक महत्वबारे मैले प्रवचन दिएँ । नेपालका अनेक विविध पक्षबारे बताइयो, फोटो र पोस्टर देखाइयो । सबै साथीहरु खुशि भए । साँझ फ्रंस्वाले ससेज काटेर ल्याए फ्रान्सेली वाईन सँगै ‘आज यति राम्रो कार्यक्रम गरियो, खुशि त मनाउनु परो नी’ भन्दै। असाध्यै मिठो लाग्यो सुख्खा ससेज । नेपालमा खाने गरेको सुकुटीको तल तल मेटाउँदै खाइयो । जिज्ञासा लाग्यो, के को होला गाँठे यति मिठो मासु ?’ उनीहरुले फ्रान्सेली भाषामै भनिदिएको भएपनि हुने । अंग्रेजीमा भनेपनि बुझिहालिन्थ्यो । भनेनन् । बरु भने ‘यीँ उँ यीँ उँ’ हो । चिनेको छैनस् ? ‘

‘अँ हँ मैले त त्यो यीँ उँ चिन्या छैन ।’

तुरुन्तै एउटा खाली कागजमा चित्र कोरेर देखाए । राम राम राम राम् ! गधा पो रहेछ । लौ मज्जाले गधाको मासु खाइएछ । यस्सो सम्झिएँ, राम राम गाउँमा गधा छोएको भए त घरभित्र’नी पस्न दिँदैनथे । ह्याँ त्यहि गघाको मासु भकाभक चप्काइएछ । फेरी अर्को चप्का लगाएपछि सोचें – हैन यो बाहुन क्षेत्रीलाई किन यति धेरै नाटक देखाउनुपर्ने हँ । यति मिठो चिज पका पक खान छोडेर उल्टो छुन हुन्न रे ! यहि गधा खानेहरु यति सम्पन्न भएका छन् । स्वास्थ्य नराम्रो भएर भनौं भने यीनै फ्रान्सेली यति स्वस्थ छन् । नर्कमा गइन्छ भनौं भने यी पनि त स्वगैमा जाउँ भन्ने सोच्दा हुन् । मरिसकेपछि के को स्वर्ग र नर्क ? आखिर मान्छेका ति क्रित्रिम स्थल न हुन् । नर्कमा पुगेको कोहि ब्यक्ति तल ओर्लेर ‘ल म त नर्कमा पुगें यस्तो खाएकोले, तिमेरुले नखाओ है ?’ भन्न तल भूतलमा आजसम्म कोहि आएको छैन क्या रे ! अनेक अनेक बार र पर्खाल ठड्याएर यी बाहुनले लुकी लुकी खानुपर्ने बनाए बेक्कारमा ! 

त्यस साँझ फेरी ईन्टरनेटबाट थुतेर साकेला नाच केहिबेर नाचियो अनि लागियो आआफ्ना ओछ्यानतिर । भोली पल्ट ठूलो हलमा प्रदर्शनी थियो । मेयर कार्यालयले सबैलाई स्टल दिएको । नेपालको स्टल बनायौं । मान्छेहरु यस्सो ओहोर दोहोर गर्न थाले । एक्कै छिनमा मेयर कार्यालयको कर्मचारीले माइकबाट फुके ‘लौ है तपाइकाँ ग्रह दशा सारा दूर बनाउने रे, दुख, पिँडा, पीर हटाउने रे । धपेडी र हुटहुटी सबै चईट पार्दिने रे एक जना धामीले’। अचम्म परें म त, ए गाँठे फ्रान्समापनि धामी झाँक्री ? धामी झाँक्रीमा विश्वास गर्छन् फ्रान्सेलीले ? यहाँको प्रदर्शनीमा कसले ल्याएछ झाँक्री ? नेपाल वा भारततिरबाट ? मान्छेहरु हार हुर्रै बाहिर निस्किए । लोइरो लोइरो घाममा घेराबन्दी भए मान्छे । टाउकोमा कुखुराको प्वाँखको भुत्लै भुत्लाले घेरिएको टोपी लगाएको । हातमा ढ्यांग्रो बोकेको । घाँटीमा औरेलु र बल्ढेङ्राका मालापनि उनेको । प्वाँखको जूरो पारेर लगाएको । घाँटीमा अबिर घसेको ।

उसले ढ्यांग्रो ठटाएर के के भट्याउन थाल्यो मन्त्र झैं । केहि नबुझिने । सबैलाई लाम लाग्न भनेर माखे सांङ्लो बनाउन लगायो एक अर्काको हात समातेर । उपनगर प्रमुख सहित नगर पालिका कार्यालयका अन्य कर्मचारीपनि थपिए । कोहि हाँस्न थाले । केहि बेर अघिसम्म न्याम्म परेको मुख लगाएका फ्रान्सेली सबै मुस्कुराउँदै थिए । धामीले मन्त्र पढ्न थाल्यो । अर्को एक जना फ्रान्सेली महिला र एक पुरुषपनि उसैको पारामा मन्त्र पढ्दै, ढ्यांग्रो बजाउन सिक्दै थिए अलि पर । तिनले त निकै बेरसम्म चौरमा सिकिरहेका थिए ।

धामीले माटोको धुपौरोमा खोइ के के राख्यो राख्यो हरर वासना फैलियो । घिउ, झार पात के के मिसाएको थियो । उ भन्थ्यो ‘यो धामीको मन्त्रले बनाइएको हो । यसले पीर, पीडा, आवेग, समस्या, नैराश्य, एक्लोपन, भूत, प्रेत, पिचासहरु, खराब आँखा सबै हटाउँछ । यसले आत्मशान्ति र दिमाखलाई ठण्डा पार्छ । हँसिलो पार्छ ।’

जब उ त्यसो भन्थ्यो मान्छेहरु खुब सुँघ्थे । जब मान्छेहरु नजिक नजिक आउँथे उ मच्चि मच्चि धुपौरोमा चराको प्वाँखले हम्किएर कुइरिमण्डल पार्दै धुवाँ सुँघाउँथ्यो । करिब आधा घण्टा उसले यो चर्तिकला देखायो । मान्छे रमाए । अनि ‘त्यस्ता खराब कुराबाट छुट्कारा पाउन धामीले फुकेको च्याउ र बुटी खानुपर्छ ‘ भन्दै उसले फेरी झारपातको धुलो बाँड्यो, च्याउका टुक्रा दियो ।

मैले फँस्वालाई भनें ‘हेर यो धामीलाई अब लघार्छन् ह्यां फ्रन्सबाट ।’

‘किन ?’

‘यत्रा बिधी रोग खत्तम, चट पार्दिएपछि यसलाइ टिकिखान दिन्छन् ह्याँका डाक्टरले ?’ एकैछिन वरिपरिकालाइ हाँसोको विषय बन्यो । 

उसित घन, मुजुरका प्वाँख देखि अनेक सानातिना के के हो के के औजार र झारपात थिए थरी थरीका । दुई जना फ्रान्सेली सिक्दैपनि थिए । बाँकिको लागि एउटा कौतुहलता, अचम्म, जिज्ञासाको विषय थियो । ति खुब रस मानी मानी हेर्न र बुझ्न खोज्दै थिए । उपमेयरपनि ति सँगै मन्त्र भट्याएर ताली पिट्दै, नाच्दै र हौसिँदै थिए ।

यो धामी झाँक्रि भन्ने चिजै अचम्मको शक्तिशाली हुने रहेछ । नेपालमा उसले ढ्यांगो ठोकेर काम्न थालेपछि गाउँ पुरै तानिन्थ्यो । यहाँ विकसित देश, सभ्य संस्क्रिति, झरफूक र भूतप्रेत अनि गोला र बायु, बतास लाग्छ भनेर नपत्याउने समाज । तैपनि यहाँका मान्छेपनि के के न गर्छ, पाइन्छ भनेर झुम्मिएकै छन् बा ! त्यत्रो हलमा ४२ वटा संस्थाको स्टल थियो थरी थरी चिजले सजिएको । तर धामीले ति सबै स्टलबाटै निकै मान्छेहरुलाइ तान्न सफल भयो ।

उसको धुवाँ, ढ्यांग्रोको ढ्वाङ ढ्वाङ  र मन्त्रले मान्छेका मनमा भएका खराव चिज दूर भएकी भएनन् कुन्नी ! तर योपनि एशियाको एउटा सांस्क्रितिक पाटो र संस्कार, चलनचल्ति भने पक्कै हो । यसले अरु केहि नगरेपनि मानिसहरुलाई आनन्द चाहिँ भरपूर दियो । केहि बेरकालागि खुशि तुल्यायो । र कम्तिमा त्यो देशको प्रचारप्रसार गर्न थप मद्दत पुगेकै थियो ।

तपाइँको प्रतिक्रिया