सबै नेपालीले दौरा सुरुवाल लगाइदिए पो !

आम्स्टरडममा विल्कोसित गफ्फिँदै जाँदा उनले भनेका केहि कुरा मध्ये नेपाली राष्ट्रिय पोशाक बारेपनि थियो । उनको तर्कले हामी सामान्य नागरिक त के हाम्रा नेताको दिमाखमा लागेको बुद्दीको बिर्कोपनि खोल्न सहयोग पुग्ने लाग्थ्यो । उनी नेपाली पोशाक असाध्यै रुचाउने रहेछन् । त्यहाँको नेपाली कार्यक्रममा नेपाली पोशाकमै नाचेका पनि । उनको काममा सधैं नेपाली पोशाक लगाएर जान मिल्ने भएन । त्यो उनको देशको पोशाकपनि होइन । तर नेपाली पोशाकको उनी प्रशंसा गर्थे ।

झट्ट हेर्दा कतिपयलाई अप्ठेरो झैं लाग्छ । दौराले घाँटी कस्छ कि झैं देखिने । सुरुवालको पछाडी हात्तीको पछिल्लो भागको छाला चाउरी परेझैं मुजै मुजा पर्ने । त्यो सोहोरिएर चेप्छ, अप्ठेरो पार्छ झैं । तर त्यस्तो देखिने मात्रै हो । लगाउन साह्रै सजिलो, आनन्ददायक, छरितो हुन्छ भन्छन् उनी । उनको अनुभवमा चिटिक्क सुहाउँछपनि नेपाली दौरा सुरुवाल ।

सबैभन्दा विचारणिय उनको तर्क के भने यो दौरा सुरुवाल नेपालमै बन्छ । अहिले नेपालका अधिकांश उध्योग धन्दा बन्द भएका छन् । भएकापनि धिकिर धिकिर चलेका । कुनै आज कि भोली बन्द हुने भनेर दिनगन्ति शुरु भएको । नचलेर भएका कामदारपनि कतै निकालिने, कतै तलब मारेर उँघ्दै दिन काट्ने । तलब बिनासित्तीमा दियो झन घाटामाथि घाटा । देशमा उध्योग भएनन् । विकास गर्नु पर्‍यो । खोल्नुपर्‍यो कलकारखाना भनेर मात्रै हुन्छ ? त्यसबाट उत्पादित वस्तु नेपालीले प्रयोग गर्नु पर्‍यो नी ! नेपालीले आफ्नो देशको उत्पादनमा गौरव गर्नु पर्‍यो नी । नत्र उध्योग धन्दा खोलेर मात्रै हुन्छ ?

उदाहरण यहि दौरा सुरुवाल छ । यो नेपालमै बन्छ । यसमा नेपाली कामदारले काम पाएका छन् । यहि दौरा सुरुवाल लगाईदिए कति पैसो स्वदेशमै बस्छ ? यो दौरा सुरुवाल लगाउँदा जनतालाई सस्तोपनि पर्छ । तर नेपालीहरु के गर्छन् ? अरुका त के कुरा, हाम्रै नेता देश बदल्ने महान गफ हाँक्छन् तर तिनलाइ लूगा बिदेशी चाहिन्छ । बिदेशी सूट र टाइ । तिनले आफ्नै देशमा बनेको लूगा लगाउँदैनन् । अनि कहाँबाट हाम्रो उध्योग धन्दा फस्टाउँछ ?

सबै नेपालीले दौरा सुरुवाल लगाइदिए कति पैसा जोगिन्छ नेपालको ? उनी सोध्थे ? नेपालीहरुले त्यसो गरे कति नेपालीको रोजगारी स्रिजना हुन्छ ? सबैले नेपाली दौरा सुरुवाल, नेपालमै बनेको लूगा सिलाएर लगाउने हो भने कति उधोगको आवश्यता पर्छ ? त्यो सिकाउने भनेको नेताले हो । नेताले अफ्नै देशमा बनेको लूगा लगाइदिए पो जनतालेपनि सिक्छन् । नेताले आफ्नै देशमा बनेको लोगा लगाउने नीति बनाइदिए पो हुन्छ । तर नेपालका त नेता नै सस्तो, सजिलो र राम्रो आफ्नै देशमा बनेको लूगा नलगाएर बिदेशी लूगा लगाउँछन् अनि कहाँबाट देशको विकास हुन्छ ? कसरि देशको पैसा जोगिन्छ ? नेतालेनै त्यसो गरेपछि जनताले कसरि सिक्ने ?

तपाइँको प्रतिक्रिया