अन्तर्वार्ताकालागि आम्स्टर्डमको यात्रा
हिजो साँझ साँढे तिन घण्टाको रेल यात्राबाट म आम्स्टर्डम आइपुगें । लामो समयको प्रतिक्षापछि बल्ल यात्राले सफलता पायो । नेपाल जाने बुझेका, नेपालबारे विशेषज्ञता हाँसिल गरेका केहि डच नागरिकसित नेपालबारे अन्तर्वार्ता गर्ने ईच्क्षा हुँदा हुँदैपनि पूरा हुन सकेको थिएन । कारण थियो, मैले यहाँका केहि नेपालीसित समपर्क गर्दापनि त्यो पहुँच मा नपुग्नु । यो पटक आम्स्टरडममा करिब तिन वर्षदेखि मात्रै बस्दै आएका मित्र पुष्प बरुवालजीको सहयोगले सार्थकता पायो ।
फ्रान्सभन्दा निकै बढि चिसो वातावरणको यो शहरको रेल स्टेशनमै भेट भए पुष्पजी । पेरिसभन्दा यो शहर निकै गुणा सफा देखिन्छ । ब्यवस्थितपनि । सायद माग्नेहरुको भिड कमै देखिने भएकोले होला संगित बजाएर माग्न बसेका तिन जना आप्रवाशीहरुको तस्विर कैद गर्न मरिहत्ती गर्दै थिए दुई जना चिनियाँ वा जापानीहरु ।
बाटैमा नेपालको प्रशासन, नेपाली दूतावासहरुका पारा, मानसिकता, नेपालीले बिदेशमा भोगेका समस्या, विदेश बस्ने नेपालीका मानसिकता आदि बारे गफगाफ गर्दै आइयो । लागेका कुरा सिधा भन्ने, हिम्मतका साथ बोल्ने र अन्याय अत्यारलाई नसहने, निडरताकासाथ प्रतिबाद गर्ने पुष्पजीसँग मेरो समानतालेपनि निकट बनाएको अनुभूति गर्थें म । आफ्नो देशकालागि उनीपनि मरिहत्ते गर्दै चार दिशा अनेक कार्यक्रम लिएर दगुर्ने रहेछन् उनी । त्यसैले छोटो समयमै जमे उनी आम्स्टर्डममा । केहिबेरमै दुई जना नेपाली मित्रहरु रुपनारायण ढकाल र दिनेश रिजाल आइपुगे । नेपालीका दुख जता पुग्यो उस्तै छन् । सास्ती र कस्ट यूरोपका जुन मुलुक पुग्यो उसैगरि सुन्न पाइन्छ ।
नेपालबाट हेर्नेलाई यहाँ बस्नेले हरेक मिनेट सेकेण्ड सेकेण्डमा मस्ति गरिरहेको छ । तर यहाँ बस्नेले हरेक दिन आत्म रुवाइरहेको छ । मन कुँडिएका छन् । फर्केर जाउँ आएको साँवा ब्याज कसरि तिर्ने भन्ने हुटहुटीले हैरान पार्छ, मन तर्सिन्छ । पर्खेर बस्यो स्थायीरुपले बस्ने र काम गर्ने कागज पाउन सहज छैन । कतै आगोलागि भएर निभाउन दौडेको प्रहरी देख्दापनि ‘मैलाई समाउन आयो कि’ भन्ने त्रासले पहिल्यै लुकि लुकि, तर्सि तर्सि हिँड्नुपर्छ । दूतावासले सहयोग दिनुपर्नेमा कतिपय अवस्थामा झन ढिलासुस्ति र अनेक झमेला भिराइदिएर सास्ति थपिदिन्छ । यस्तै यस्तै विषयमा बिचारहरु सुनियो । केहि नयाँ कुरा थाह पाएँ ।
केहिबेरमा आम्स्टर्डम निवासी बहिनी साबी रिजाल आइपुगिन् । उनीसित केहि बेर छलफल गरियो । डच नागरिक कस्ता, नेपालकालागि के गर्न सकिन्छ ? बिदेशमा नेपालीहरु स्थापित हुन के कस्ता मेहनत र तयारि गर्नुपर्छ ? बिदेशमा बसेपनि हरेक मित्रहरु नेपाललाई के कसरि सहयोग गर्ने ? कसरि यहाँबाट सहयोग लैजान सकिन्छ भन्नेमा चिन्तित थिए ।
नेपालको विषयमा अनेक काम गरेका, जाने बुझेका भिल्कोसित आज दिउँसो भेटघाट छ । करिब दुई घण्टाको समय दिएका छन् उनले अन्तर्वार्ताकालागि । उनी नेपाली दौरा सुरुवाल, ढाका टोपी र पहिरनमा नेपाली बाजे झैं ट्याक्क देखा परेर न्रित्य गर्ने रहेछन् । नेपाली न्रित्य डच नागरिकले । त्योपनि नेपाली पहिरनमै । आफैंमा चाखलाग्दो हुने नै भयो । नेपालमै जन्मेर डच नागरिकको धर्म पुत्री बनेर आएकि, नेपाल र नेपाल बुझेकि र यहाँपनि नेपाली संस्थामा बसेर काम गरेकि शान्तिसितपनि संभवत भोलीनै अन्तर्वार्ता हुने छ । उनले यहाँ आइपुगेपछि फोन गर्नु, भेटघाट मिलाउँला भनेर ईमेल गरेकाले संभवत भेट होला । त्यसपछि पुष्प जीले केहि नेपाली मित्रहरुलाई भेटाउनुहोला । पर्सि केहि नेपालीसित छलफल र अन्तर्वार्ता गरिने छ ।
(पहिलो तस्विर : सन्दिप बरुवाल)






