नेपाली भएरपनि हैन भन्ने ?

केहि महिनादेखि रोकिएको नेपालप्रेमी बिदेशीहरु खोज्ने क्रम शुरु गरें । बेल्जियम आउने सल्लाह भयो । एक वर्षको निरन्तर खोजि पछि आलाँ हुबे भन्ने प्रसिद्द ब्यक्तिसित सम्पर्क भयो । उता बेल्जियमका मित्र विष्णु भूजेलले पनि एक जना कम्युनिष्ट बेल्जियन प्रस्ताब गरे। पश्चिमेलीहरु कोहि कम्युनिष्ट हुन्नन् । सब पूजीवादी । सबै धनी मानी । यस्तै सोचिन्छ आम नेपालीबाट । यस्तो बेला समग्र जिवननै कम्युनिस्ट आदर्शका लागि खर्चिएका डा क्रिस मेर्क्स । कम्युनिस्ट आदर्शलाई स्थापित गर्न खटिने रातोदिन । गज्जब लाग्यो । यी दुई बिदेशी भए ।

अनि साथमा कम्तिमा दुई जना नेपालीसितपनि अन्तर्वार्ता गर्ने सल्लाह भयो । मिलाए विष्णु जी ले । अनि बेल्जियम टाप कस्ने सुर भयो । तर सोचेको र आशा गरेको, मिलेको र मिलाएको कुरो मेल खाएन ।  

अघिल्लो पटल गतसाल आउँदा निस्लोटसित बिरामी भएको बेल्जियम आउँदा आउँदै बाटैमा । शेर बहादुरजी रेल स्टेशनमा लिन आउँदै डराएका थिए मेरो हालत देखेर। अहिले पनि बेल्जियम जाने भन्नासाथ राति टाउको दुख्यो । घाटी क्याप्प समात्यो । अनि ज्वानो चपाउने र ल्वाङ खाने गर्न थालें । नुन र बेसार राखेर तातो पानी पिएँ । झन, रुखा खोकी पनि थपियो । तैपनि जानै पर्‍यो । बिदेशीसित भेटघाट मिलाइसकेको वर्ष दिन भन्दा बढिको मेहनत पछि । एक्कासि टिकट लिनुपर्दा बसको यात्रा सस्तो पर्ने । बाटो बाटोमा फोटोपनि खिच्दै आउँन पाइन्छ भन्ने । लाग्ने पाँच घन्टा हो । बाटोमा बस बिचमा रोकियो । दुई जना नेपाली हुन् कि झैं की झै लाग्यो । अर्धवैंशे उमेरका । गुरुङ, तामाङ वा राइ लिम्बू । नेपाली बोलेको सुनें । पेरिस घुमेर फर्किएकाले हो कि पेरिस आएर त्यताको जिवन कडा लागेर बेल्जियम हुइँकिएका हुन् कुन्नी । सुनीहालें, कति महँगो होइ त्यो पेरिस ? यस्तो ठाउँमा के बस्न सक्नु ?

१० मिनेटको पोज समय सकियो । सबै आआफ्नो थलोमा बसे । मलाई नेपाली भनेपछि कहिले बोलौं झै भैहाल्यो । अनि ब्रसेल्स आएर बस आधा घन्टाकालागि रोकियो । म अलि पछि ओर्लिएँ । ति जोडी मध्य पुरुष चाहिँ बाहिर निस्किएर चुरोट सुर्काउँदै रहेछन् । खुल्दुली लागिहाल्यो। गएर सोधें, तपाईहरु नेपाली हो ? उसले आत्तिएर ‘होइन’ भन्यो नेपालीमै । नेपाली नभए तपाइ नेपाली हो भनेको बुझ्दै बुझ्दैनथ्यो होला । र ‘होइन’ पनि नेपालीमै भन्दैनथियो होला । 

नेपाली नभए किन नेपाली  बोलेको त भनौं झैं नलागेको होइन । तर बिदेशमा आए भन्दै नेपाली भएर नेपाली नै होइन भनेर पन्छिनेसित के बोल्नु झैं लाग्यो । ए ए भनेर पन्छिएँ । बसको काउन्टर गएर केहि समय बिताएँ । किताब हाल्ने बिर्सेछु, पढ्ने केहि भएन । अनि आधा जति मान्छे त्यहि ब्रसेल्समै उत्रिए । बस नेदरल्याण्ड जाँदै थियो । अघिल्लो सिट खाली भएपछि ति जोडी सबैभन्दा अघिल्लो सिटमा आए । म तिनको अलि पछि थिएँ । ति नेपालीमै गफ गर्दै थिए । घरी घरी पछाडी फर्केर हेर्थे मलाई । मैले बेला बेला सुन्थें, नेपालीमै यूरोप र नेपालका बाटा, तलब, नेता, जागिर, सडकलाई तुलना गरेको । ‘हैन कसरि बनाएका होलान् है यस्तो त ?’ पटक पटक भन्थे उनीहरु ।  मलाई भने त्यहि तिनीहरुले ढाँटेको कुरोले चिमोटिराख्यो, किन तिनले नेपाली बोलेरपनि म सित नेपाली होइन भने  ?

 बस एक घन्टै ढिलो पुग्यो । विष्णुजी बसको स्टेशनमा पर्खिएका रहेछन् । गाडीमा हाल्नासाथ सोधे, के छ विष्णु जी ? नेपालीसित लिने भनेको अन्तर्वार्ता उनैले मिलाएका थिए । ‘बर्बाद भो नी ‘विष्णुजीले भने ।
‘हो र ? के भो बर्बाद ?’

‘साथीहरुले त भो भने नी’ ।
‘किन नी ?’
‘खै किन किन । अस्ति सम्म त हुन्छ भनेका हुन् । हुन्छ भनेर पक्का गरेरै तपाइलाई यस्तो मान्छेसित भनेको मैले । अन्तिममा अघि भर्खरै (म बेल्जियमका लागि हिँडिसकेपछि मंगलबार दिउँसो) ‘भो सर टाटा लागिसकेको घाउ फेरि नकोट्याउँ’ भन्दै रद्द गरे नी ‘।
‘क्या धोका दिएछन् त है ?’
‘अब त्यसै भन्नु पर्‍यो। जबर्जस्ति गर्न मिलेन क्यारे’।

उनीहरु बेल्जियम आएपछि पाएका दुखमा विष्णुले साथ दिएका रहेछन् । कागज मिलाउन, अनुवाद गर्न, ठाउँमा लगिदिन । कानुनी हिसाबले बस्न पाउने कागज मिलाउँदा सारा उनैले सहयोग गरे ।  तर हुन्छ भनेरपनि अन्तिममा हुन्न भने । कि त अघि पहिलेनै खबर गरेको भएपनि हुने । 

अस्ति साँझ फेरी एक्कासि सन्तोष न्यौपानेले एक जना ‘हजुरबुवा’ सित सम्पर्क गरे । आपत पर्‍यो । अघिल्लो पटकपनि अन्तर्वार्ता लिन खोज्दा बिग्रिएको । तनाब नै भयो । जसरि पनि यो पटक त सफल पार्नुपर्छ भनें । उनले हजुरबुवावासित नरम पाराले कुरा राख्दा ‘हुन्छ नाती साथी लिएर आउ साथीलाई’ भनेछन् । रात बिताउन गइयो । ९ बजे नै सुत्ने राती एक बजेसम्म राखेर, बुढाका आकाश पत्ताला हँसाउने गफ सुनियो । हाँसो लाग्दो, मार्मिक, ठट्टा, आदर्श सबै भरिएका । बिहान फेरी झिसमिसेमै उठियो । हजुरबुवाका कुरा सम्झेर सन्तोष र म मरिमरि हाँसेर बिताइयो अर्को एक घण्टा ।

बिहान हिँडियो । ब्रसेल्समा दिउँसो २.३० मा अर्को एक नेपालीसित अन्तर्वार्ता मिलाइदिएका थिए आन्तर्पेन शहर बस्ने गोर्खाली मित्र क्रिष्ण अधिकारीले । दिनभरि साइबर तिर बसियो, जाने ठाउँ कतै भएन । मान्छेका ओहोर दोहोर हेरियो । २.३० बजे ब्रसेल्स रेल स्टेशनमा विष्णु गौतमजी आए लिन । घर लगे । उनले आफूले अफ्रिकी मूलुक हुँदै बेल्जियम आउँदाका मार्मिक कथा सुनाए । एक्कैछिनमा बदलिँदो परिस्थितिमा पढ्न नसकेर भविष्य खोज्दै बेल्जियम छिरेका झापाका राजु कार्की टुप्लुक्क आइपुगे । उनलेपनि आफ्ना कहानी सुनाए । अरु दुई जना साथीहरु थपिए । मन चस्स हुने अनेक अनेक कहानी, दुख, बेदना र भोगाइ सुनियो । थाकेर लखतरान हुँदै फर्किएँ सांझ एन्तर्पेन । यस पटकको यात्रा सफल भयो । मन छुने कहानी टिपियो । लेख्ने विषय कति हुन् कति । तर भेट्नुपर्ने साथीहरु, अन्य स्रोतहरुलाई भेत्नै भ्याइएन । यहि दौडादौडले गर्दा नेपालप्लसपनि राम्रोसित अपडेट गर्न भ्याइन । अब बाँकि हाँस्ने, हँसाउने, बेल्जियमको राजनिति, महयज्ञमा देखा परेका केहि भित्रि कुरा र बेल्जियमका नेपालीका अन्य प्रसंग बाँकि लेखहरुमा है त ?

भनिहालौं, तपाइहरुका प्रतिक्रिया अपडेट हुन केहि समय लाग्ने छ है !

तपाइँको प्रतिक्रिया