छोरीको नाममा खाएको कसमपनि लत्याए महामहिमले

अगस्ट महिनाको पहिलो साता देखिनै पेरिसको दूतावास, खासगरि राजदूत मोहनक्रिष्ण श्रेष्ठ र नेपालप्लसका बिचमा जुहारी चल्यो । उनले धम्क्याउँदै, पत्र काट्दै गए । मैले त्यसैलाई लेख्दै गएँ । सतहमा जे देखिए, सुनिए, भोगिए अनि पढिए त्यसले धेरैलाई अचम्मितपनि पारेको छ । स्रिजनात्मक लेखन, नेपालका लागि आफूले गर्न लागेका काम र अन्य योजनामा खर्च गर्नुपर्ने समय र ध्यान बेक्कारका गन गन सुन्नमा बिते । तर बाहिर जे आएको छ भित्रिरुपमा बुझ्नेहरु कमै छन् । किनभने  दूतावास, राजदूत श्रेष्ठ र मेरो भूमिकाका बारेमा जे जति घटना भए यस बिचमा ति अहिलेसम्म बाहिर आएनन् । ल्याइएन ।

केहिले राजदूतसित केहि कुरा नमिलेर लेखेको भन्ने आरोप पनि लगाएका छन् । त्यसलाई स्पष्ठ पार्ने कोसिस गर्ने छु । कतिपय तथ्य दूतावासकै अन्य कर्मचारीसितपनि जोडिएका छन् । त्यसैले तिनलाई यथार्थरुपमा राखिदिनु पर्छ । अबुझ र चाकरीमा रमाउने, समय र परिस्थिति अनुसार जो राजदूत भएर आउँछ उसको ज्यु हजुरी गाएर पाएसम्म ठुलै फाइदा ताक्ने, नपाउँदा राजदूतको वरिपरि घुम्न पाउँदैमा गौरव मान्ने खानाका कालहरुलाई त मतलव नहोला। नत्र अन्य नेपालीलाई यसले सत्य बुझ्न सहयोग पुग्ने छ । आज म मूलभुत पक्षहरु उतार्ने कोसिस गर्ने छु ।

सियो चोर्दा बिरोध गरिएन भने त्यसले एक दिन फाली चोर्छ भन्ने गरिन्छ । त्यसैलेपनि सियो चोरेको देख्दा नै निगरानी गर्नुपर्छ । अर्कोतिर कानुनले दूतावासको तलब खाएर काम गर्ने कर्मचारी बाहेक कसैलाई दूतावासको कागजपत्र नीजिरुपमा प्रयोग गर्न पाउने अधिकार दिएको छैन । त्यसरि दूरुपयोग नहोस भनेरै मैले दूतावासले निम्तो पठाएको लेटरप्याड छापेरै सचेत गराएको थिएँ राजदूत पत्नीका नाममा दूरुपयोग गर्नु भएन भनेर । फेरी त्यो बेला यस्तो थियो, फ्रान्सेली सेनाका नेपाली क्रिष्ण बहादुर थापाको शवमा त्यसदिन श्रद्दान्जली गरिँदै थियो । एक नेपाली चेलीको चुरा फोरिँदा राजदूत पत्नीले त्यसैदिन भोज आयोजना गरेर अरु महिलालाई चुरा बाँड्दै थिइन् । सारा नेपालीको अभिभावक हो दूतावास । आफ्नै अभिभावकले यस्तो गर्दा कसको चित्त फाट्दैन ? त्यसको कारणपनि एक थियो त्यो भोजको बिरोध गरिनु ।

बिरोध त भयो,  देशकै अख्तियारी लिएर बसेका राजदूतले त्यसलाई सामान्य रुपमा लिएको भए हुन्थ्यो । अन्जानमा भयो भनेर सच्याउने ठाउँपनि थियो । तर उनले त म राजा भन्दापनि माथि हुँ, कानुनभन्दापनि उच्च हुँ । म महान हुँ अरु निच । म बाघ हुँ अरु खरायो । म हात्ती हुँ अरु भूइँका फट्याङ्रा हुन् र तिनलाई किचिफाँडी गर्दै हिँडेपनि हुन्छ झैं गरेर अख्तियारीको दूरुपयोग गर्दै मलाई कारवाही गराउन भन्दै मान्छे बटुलेर उचाले ।

चित्त नबुझेको भए सामान्य हिसावले मलाई नै फोन गरेर ‘गल्ति जसकोपनि हुन सक्छ, सुल्झाउँ, सँगै बसेर छलफल गरौं’ भन्न सक्थे । तर उनले त सामाजिक अपराधको बाटो समातेर मलाई सामाजिक बहिस्कार गर्ने हिसावले फलानालाई कसरी कारवाही गर्न सकिन्छ ? भन्दै अधिकांश आफू निकटका मान्छेलाई फोनबाट उर्दी लगाएर बोलाए । यहाँपनि उनले फेरी अख्तियारीको दूरुपयोग गरे । नेपाल सरकारले दिएको बत्ति, पानी, धारो, घर प्रयोग गरेर एक नेपालीका बिरुद्द प्रयोग गरे । दूतावासको तर्फबाट बैठक आफ्नो निवासमा डाके । दूतावासले राय दिनुपर्नेमा उनैकी पत्नी जंगिइन् । मलाई गाली गरिन् । अनेक आरोप लगाइन् । राजदूत श्रेष्ठ आउनु अघि दूतावासको आग्रहमा मैले दिएको नेपाली चरा बारेको प्रवचनका बारेमा पनि उनै प्रवक्ता भएर बिरोध गरिछन् । यसका बारेमा अलि पछि चर्चा गरौंला । अनि दूतावासका मिनिस्टर काउन्सिलर जिवनप्रकाश श्रेष्ठले लेख्न लगाएको, उसले जे भन्छ उसैको निर्देशनमा लेख्ने गरेको, जिवनप्रकाश श्रेष्ठ आफूहरुको बिरोधी भएको भनेर राजदूत पत्नी सजना श्रेष्ठनै बम्किइन् ।

अझ लाजमर्दो त एउटा ब्यक्तिलाई कारवाही गराउन भन्दै जाँड सहितको खानपिनको पनि ब्यवस्था गरियो । खुवाउँदैमा सबै आफ्ना हुन्छन् भन्ने राजदूत दम्पतीको सोच जस्तै सबैको कहाँ हुन्छ र ? उनीहरुले सोचे जस्तो भएन । केहि मण्डले, बिगतका राजदूतसित मिलेर दूतावासबाट फाइदा लिएका र केहि चाकरीबाजको हँ हँ गर्ने बाहेक अरुले समर्थन गरेनन् । कसैले विषय प्रसंग मोडे । कसैले कारवाही गर्न मिल्दैन भने । दूतावासको कर्तब्य त कुनै नेपाली मर्दा भोज खाने होइन । कुनै नेपाली बिरुद्द बहिस्कार गर्ने होइन । बरु गाह्रो साह्रो पर्दा न्याय दिने हो । सबै नेपालीलाई समान ब्यवहार गर्ने हो । जब मलाई सामाजिक बहिस्कार गर्ने दुस्साहस राजदूत मोहनक्रिष्ण श्रेष्ठले गरे तब मैले त्यसै विषयमा अर्को लेख लेखें । आखिर उनले जति जति पत्र काट्दै गए मैले त्यसैलाई लेख्दै गएको न हुँ ।

त्यसपछि उनले जिवनप्रकाश श्रेष्ठ मार्फत मिल्नु पर्‍यो । हामी बसेर कुरा गरौं भन्दै आधा दर्जन पटक जति खबर पठाए । मैले जिवनप्रकाशलाइ जवाफ दिएँ,  एउटा सामान्य नागरिकलाई सामाजिक बहिस्कार गर्न खोज्ने अनि मिल्नेपनि ? के हो मिल्ने भनेको ? कलम बन्द गर भनेको ? मेरो मिल्ने ठाउँ भनेको देखेको लेख्ने, उनको सच्चिने । उनी सच्चिए भने सबै मिल्छ । उनले बिगतमा केहि गर्न खोज्दा मैले सकारात्मक सहयोग नै गर्दै आएको हुँ । जिवनप्रकाश श्रेष्ठले पटक पटक मलाई सम्पर्क गर्दा मैले योपनि जवाफ दिएको हुँ, बिगतमा नेपालको प्रथम अन्नपूर्ण आरोही मोरिस हेर्जोगलाई सम्मान गर्ने कार्यक्रमको मैलेनै खाका बनाएँ । सगरमाथा चढ्ने पहिलो फ्रान्सेली पियर माजोलाई सम्मान गर्दापनि उनको बायोडाटा मैलेनै बनाएँ । यसो गरौं भनेर मैलेनै प्रस्ताब गरें र त्यसपछि तिनिहरुसित नेपालले कस्तो सहयोग लिने भन्नेपनि सुझाव दिएँ । त्यसका बारेमा कहिल्यै कसैसित चर्चा गरेनौं हामीले । बरु उनै त्यस साँझ बम्किएका थिए ‘मैले यत्रो कार्यक्रम गरें । मैले जस्तो यस्तो राम्रो, ठूलो काम यस अघिका कुनै माइकलालले गर्न सक्यो ?’ त्यो कार्यक्रम उनले आफ्नै अक्किलले गरेको भनेर कुर्लिएका थिए । 

तर मोरिस हेर्जोगलाई सम्मान गरेकै साँझ राजदूतले म लगायत पेरिसका केहि ब्यतिलाई सामूहिक अपमान गरे । आफ्ना आसेपासेलाई सँगै राखेर हामीलाई लघारे । ‘हाम्ले त तिनीहरुलाई घोक्र्याएर लघारेको हो नी’ पनि भन्दै हिँड्ने रहेछन् । पछि राजदूतले हामीसित माफी मागे दूतावासमै । खै त उनले चेतेको ? अबदेखि त्यस्तो गर्दिन भनेका होइनन् ? आफैंले बोलेको कुरोको ठेगान नहुनेको कसरि विश्वास गर्ने ? म उनीसित वार्ता गर्न तयार छैन । यहि भन्दिनुस् राजदूतलाई भनेर मैले हाकै भनिदिएको हुँ जिवन श्रेष्ठलाई । उनले भने भनेनन् मेरो चासोको विषय होइन । सायद कूटनितिक भाषामा भने होलान् ।

जिवनप्रकाशले राखेको प्रस्ताव मैले अस्विकार गरिदिएपछि राजदूत पत्नी आफैं सक्रिय भइन् । हामी निकटकी एक जना दिदीलाई निकै पटक हारगुहार गरिन् । उनले भनेकि रहिछिन् “लौ न जसरिपनि मिलाइदिनु पर्‍यो । एक्लै बसेर छलफल गरेपनि, हजुरहरुसहित बसेपनि बसौं । बरु लिखित रुपमै माफी माग्नपनि तयार छौं । ल न अब चाहिँ नलेखिदिन भनिदिनुस्” । तिन दिन जति त दिनमा कयौं पटक फोन आउँथ्यो । मैले लेखमा थप जानकारीहरु खोजि भएको र राजदूतका बारेमा थप तथ्य आएपछि फेरि लेख्ने भनेर प्रकाशित सामाग्रिमा उल्लेख गरेको थिएँ । त्यहि भएर अझ के के पत्ता लगाउने भयो भन्ने त्रासले “लौ न अब नलेखिदिन भन्नुस्” भनेका हुन् ।

ति दिदीका तर्फबाट नभएपछि फेरी पेरिसकै एउटा सामाजिक संस्थामा आवद्द एक मित्र मार्फत राजदूत दम्पतीले प्रस्ताव ल्याए । मैले कुरा गर्ने भए राजदूतले सिधा गर, फरियावाद मार्फत त पर्दैन । प्रसंग राजदूतावास र राजदूतसितको छ, अनि चलखेल र हाहाकार चाहिँ किन पत्नीले गर्ने ? भनेर ईन्कार गरिदिएँ । त्यसपछि त्यहि मिलौं, वार्ता गरौं भन्ने प्रस्ताव आयो । राजदूत श्रेष्ठले उनी मार्फत कुरा अगाडि बढाए । एकातिर मिलौं भन्दै थिए । अर्कोतिर भने उनले सामाजिक बहिस्कार गराउन खोज्ने, कारवाही गराउन मान्छे जम्मा पार्ने र दूतावासको लेटरप्याडसहित सप्रमाण छापेको समाचार कपोलकल्पित भनेर खण्डनपनि छपाउँदै थिए ।

यसैबिच नेपालमा एउटा पत्रीकाका सम्पादकसितपनि उनले गुहार मागेछन् । उनलाइपनि ल न मिलाइदिन पर्‍यो भनेछन् । ति सम्पादक उनका र मेरापनि मित्र भएकाले पूलको काम गर्न खोजे । उनलाईपनि मैले सिधा भनें, होइन यो मिल्ने भनेको के हो ? कलम बन्द गर्ने ? मैले असत्य लेखेकै छैन । सत्य अबपनि लेख्न छोड्दिन । अनि के मिल्ने ? उनले मलाई आश्वस्त पारे ‘बिगतमा राजदूतले गरेका गल्तिको प्रायश्चित गर्ने, मनका तुस हटाउने । मोहनक्रिष्ण सच्चिने’ । ल उसो भए हुन्छ । उनको तर्क के थियो भने मान्छेले गल्ति गर्छ । कुनैपनि ब्यक्तिलाई सच्याएर देशको हितमा काम गराउन सकियो भने त हामी सबै महान हैनौं र ? मलाई चित्त बुझ्यो । उनैको सुझावमा चार पाँच जना तर्कशिल मित्रहरु राखेर छलफल गर्ने निर्णय गरियो गत २२ तारिख सोमबार ।

छोरीको नाममा कसम

पत्रीकाका सम्पादकले राजदूतलाई अरु मार्फत होइन सिधा आफैंले ददीलाई फोन गरेर गल्ति स्विकार गर्ने र छलफल गरौं भन्ने प्रस्ताव राख्न सुझाव दिएका रहेछन् । राजदूतले मेरो मोबाइलमा फोन गरेछन् । म भेटिइन । अनि बिहान मैले यसो मोबाइल हेर्दा देखिएको नंबर चिन्न नसकेर फोन हान्दा राजदूत आफैंले उठाए । र बिहानै छोरीको कसम खाए “ददिजी, हेर्नुस् यी अहिले एकाबिहानै म मेरो छोरीको कसम खाएर भन्छु कि मेरो तपाइसित कुनै रिसराग, वैरभाव छैन । रिस राग नराखौं, छलफल गरौं । आखिर छलफलबाट नहुने के छ र ?”।

त्यो बेलापनि मैले उनलाई सिधै उनी सच्चिनुपर्ने र बिगतमा उनी राजदूत भएर आउनासाथ सहयोग गरेको स्मरण गराएँ । एक्लै वार्ता गर्न आफू तयार नभएको, दूतावास, राजदूत, जिवनप्रकाश श्रेष्ठ र मेराबिच उनको बुझाइ गलत रहेकाले जिवनप्रकाश समेत अनिवार्य हुनुपर्ने शर्त राखें । उनले सकभर जिवन प्रकाशलाई नराख्न खोजेका थिए । ‘दूतावासको आन्तरिक कुरो हामी मिलाइहाल्छौं नी, तपाइ र म कुरा गरौं न’ उनले भनेका थिए । तर मैले जवाफ दिएको थिएँ ‘होइन तपाइहरुबिच एक अर्कालाई आक्षेप लगाउने, जिवन प्रकाशले मलाई न्युज दिएकोले लेखेको भन्ने लगायतका समस्या छन् । एकैपटक सबै सँगै बसेर मन माझामाझ गरौं न त । स्पष्ठ बनौं’। 

अनि मैले चार जना मित्र राख्ने कुरा उनलाई सुनाएँ । ति को हुन् नामपनि भनें । उनलेपनि म सित फोनमा हुन्छ भने । तर पछि हामीलाई मिलाउन खोज्ने पेरिसका तिनै ब्यक्ति मार्फत् चाहिँ ‘होइन किन अरु मान्छेसित बस्ने ? ददीजी र म एक्लै बस्छौं, म उहाँसित मात्रै कतै बस्छु’ भनेर खबर पठाएछन् । मैले ‘एकातिर एक्लै भेट्दा अनावस्यक टिकाटिप्पणी उठ्छन् र अर्कोतिर दूतावासका कामकारवाहीमाथि जायज टिकाटिप्पटी उठाउनु, सुझाव दिनु, गल्ति कमजोरी औंल्याइदिनु फलदायी हुन्छ’ भन्ने सोचेर केहि प्रतिनिधी राख्न खोजेको थिएँ । राजदूत आफैंले मसित फोनमा ‘हामी छलफल गरौं । तपाइले ९९ होइन एक सय प्रश्न नै राख्नुस्। मेरा पनि दुई तिन वटा प्रश्न छन् तपाइलाई । मैले गल्ति गरेको भए म माफी माग्छु’ भनेका हुन् ।

तर बिचमा उनले फेरी कसैका कुरा सुने । मलाई ल म फोन गरेर कन्फर्म गरौंला कहाँ भेट्ने भनेका उनले गरेनन् त्यसदिन अर्थात २२ तारिखका दिन । बिचमा मोहन क्रिष्णको पेरिसका पूर्व राजदूतको भान्छे र उनैकी श्रीमतीको फरिया पखाल्न आएका ब्यक्तिसित भेट भो । उनले छलफल गरे । ‘ह्या चिठि काटेर ठेल्दिनी नी, खुरुक्क नाकको चाल लाएर आउँछ दूतावासमा । त्यो पत्रकार नै होइन होला। पत्रकार हुँ भन्छ के हो के हो’ भनेर जंगाइदिए । उसले जंगाइदिएपछि मलाई ‘ल तुरुन्त हाजिर हुन आउनु दूतावासमा, परिचयपत्र समेत लिएर उपस्थित हुनु’ भन्दै पत्र काटे । यो पुरै जंगबहादूर शैली थियो । यसरि पत्र काट्ने निकाय दूतावास त के त्यो अधिकार अदालतलाईपनि हुन्न । एकातिर मिलौं भन्ने अर्कोतिर यसरि मानसिक त्रास दिन खोज्ने, धाक लाउने ? मैले त्यसको डटेर बिरोध गरें । यहि बेला उनले काठमाडौंमा नेपाल प्रेश काउन्शिलमा मेरा बिरुद्द मुद्दापनि हाले । यता छोरीको नाममा कसम खाँदै तपाइसित वैरभाव छैन, रिस राग छैन भनेका उनले त्यसरि रिसराग, आवेग र वैरभाव साँधेर मलाई धम्किपत्र लेखे । आखिर आफ्नै छोरीको नाममा खाएको कसमपनि उनले लत्याए ।

त्यस्ता मुद्दाले मेरो कान्छी औंलाको रौंपनि हल्लिने कुरो भएन । मैले डटेर सामना गरेपछि उनले फेरी नेपालका तिनै सम्पादकलाई सम्पर्क गरेछन् । सम्पादकले हप्काएछन्, यस्तो केटाकेटी काम पनि गर्ने ? मिलिसकेको कुरो त्यस्तो पत्र काटेर हाजिर हुन दूतावासमा आउनु भन्दै फेरी किन भत्काएको ? यस्तो पत्र काट्नु धम्कि नै हो। ल अब पहिले ददीजीलाई आफैंले फोन गरेर माफी माग्नु अनि बसेर छलफलबाट समस्या सुल्झाउनु’।

मलाई थाह थियो उनले फोन गर्छन् भन्ने । किनभने उनले गल्तिमाथि गल्ति गर्दै गएका थिए । मलाई चाहिँ उनका कार्यकालका (अन्य देशमा हुँदापनि) यस्तै धाकधम्कीका नालीबेली प्राप्त हुँदै थिए । मेरो मोबाइलमा फोन गरेछन् र म्यासेज छोडेका रहेछन् । म्यासेज थियो “ददीजी म मोहनक्रिष्ण बोलेको, मैले हिजो तपाइको चित्त दुखाएँ (छानबीन गर्नका लागि परिचय पत्र लिएर आउनु भन्ने पत्रलाई इंगित गरेका हुन् उनले) । ल मलाई फोन गर्नुस् न । मलाई फोन गर्नुस् है ? अनि बसेर छलफ गरौं । कुराकानी गरौं । म तपाइको फोन कुर्छु है त ?”। उनले तुरुन्तै फेरी मेरो मोबाइलमा म्यासेज छोडें भनेर नेपालका तिनै सम्पादकलाई फोन गरेर सुनाएछन् । उनै सम्पादले फेरी मलाई म्यासेज पठाए, मोहनक्रिष्णले भेट्न खोज्दा मोबाइल उठेनछ तपाइको । ठाउँछ भने मिलाउनुस् न सँगै बसेर भन्दै । त्यसपछि मैले फोन गरेको छैन । मलाई आवश्यकपनि लागेन । उनको भर र विश्वास गर्ने आधारपनि उनैले भत्काइसकेका छन् पटक पटक । यो घटनाले क्षती कसैलाई भएको छ भने ब्यक्तिगतरुपमा उनैलाई भएको छ । संस्थागत रुपमा सायद दूतावासका काम कारवाहीमा भएको होला ।

(बाँकी अर्को भागमा)

तपाइँको प्रतिक्रिया