भालु लखेट्ने बिरालो
“घरको बाघ वनको स्याल” भन्ने उखानलाई चुनौती दिने बिरालो हो यो । हिम्मतिलो, आँटिलो बिरालो । बढीमा नौ किलोको बिरालोले यत्रो भालुलाई लघारेर रुखैमा चढ्नुपर्ने बनाइदियो । बिरालो जति साहसिलो छ भालू उतिनै छेरौटे । नाथे एउटा बिरालोलाई यस्ले चाहने हो भने एक झापडमै किचिफाँडी पार्न सक्थ्यो । तर छेरुवा भएपछि कसको के लाग्छ ? भालु ज्यान जोगाउन रुखमा चढ्यो । त्यहि रुखैबाटपनि चियाएर बित्यास पार्ला भनेर होला, उतिमाथि पुग्दापनि तल बिरालोलाई हेरिरहेको छ ।
घटना अमेरिकाको न्युजर्सी स्थित मिलफर्ड भन्ने ठाउँमा भएको हो । ज्याक (बिरालोको नाम) यस्सो करेसामा घुम्न निस्किएको रहेछ । त्यहि बेला कालो भालु सित उसको जम्काभेट भयो। आफु बस्ने घर वरिपरि भालुलाई देख्दा ज्याक रिसले चुर भयो । झ्याप्प हानोस् भने उसका भालुका झैं नंग्रा थिएनन् । अनि उसले घाँटी फुलाएर हिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्················· गर्दै करिब १५ मिनेट जति भालुलाई लघार्यो । छेरुवा भालु भाग्दा भाग्दै ज्यान जोगाउन रुखमा चढ्यो ।
यो सब चर्तिकला बिरालोका धनी डोन डिकेले हेरिरहेका थिए । भालुलाई रुखमा चढ्न बाध्य पारेपछि डोनले ज्याकलाई बोलाए । उ खुरुक्क फर्कियो । “यो बिरालोले आफ्नो करेसामा कोहि आएको रुचाउन्न” डोनले भने । बिरालोको तौल बढिमा १५ किलो मात्रै हुन्छ । तर एउटा बयस्क भालुको कम्तिमा ९० किलो देखि २७० किलो सम्म । र लम्बाइ एक दशमलव ८ मिटर ।





