सुन्दर गूँड नबनाउने कालिगढ पोथी नपाएर जिल्लाराम

फोटो पत्रकार क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा नेचर एन्ड वाइल्ड लाइफ विधामा पहिलोस्थान पाउन सफल फोटो हो यो ।  राजेन्द्र मानन्धरले खिचेको यो तस्विर । अन्य बिधाका सबै तस्विरमा क्याप्सेन लेखिएका थिए । तर यो तस्विरमा भने कसैलेपनि स्पष्ठ क्याप्सन लेखेको देखिएन । यसको कारण के हो भने फोटो छनौट कर्ता र फोटो पत्रकारलाईनै संभवत यी चराको बारेमा स्पष्ठ ज्ञान थिएन । समग्रमा यसले नेपाली मेडिया र मेडियाकर्मी कति कमजोर छन् प्रक्रिति र जिवजन्तुको विषयमा भन्ने देखाउँछ । किन यस्ता गूँड बनाउँदा हुन् यी चराले ? के चरा हुन् यी ? मैले त्यहि जिज्ञासालाई मेट्ने कोसिस गरेको छु ।

यीनलाइ नेपालीमा तोप चरा वा कोटेरो भनेर चिनिन्छ । कतै कतै सुजेरो, बकेचो पनि । धादिङ जिल्लातिर भने तोलायँ भनेर पनि चिनिन्छ । भँगेरा वर्गका हुन् यी । समूहमा बस्न रुचाउँछन् । त्यसैले कोटेरोका गूँड एकैठाउँमा यसरि भेटिने गरेका हुन् ।

चाख लाग्दो कुरो के छ भने अधिकांश चरामा भालेले सामान ओसारिदिने, मिलाइदिने गरेर सहयोग गरिदिने र पोथीले गूँड बनाउने गरेपनि कोटेरोको भने गूँडको अधिकांश भाग भालेहरुले बनाउने गर्छन् । नेपालमा खास गरि हिउँद याममा उच्च पहाडी भागबाट पोथीहरु भन्दा केहिदिन अगाडिनै भालेहरु तराइतिर (कोहि काठमाडौं उपत्यकातिरैपनि बस्छन्) जान्छन् । अनि उपयुक्त ठाउँमा गूँड बनाउन अडिन्छन् । भालेहरुबिच कसले राम्रो गूँड बनाउने भनेर प्रतिस्पर्धानै चल्छ । किनभने पोथीहरुले सुन्दर गूँड बनाउने भाले रोज्ने भएकाले त्यसो गर्ने हुन् । गूँड बनाएपछि जब पोथीहरु आइपुग्छन् तब भालेहरु आफूले बनाएको गूँडमा बसेर पोथीलाई बोलाउँछन् ।  केहि दिनपछि पोथीहरु आएर भालेले बनाएका गूँड निगरानी गर्छन् र जुन भालेका गूँड सुन्दर छन् पोथीले तिनै भाले ओगट्छन् । गूँड बनाउने बाँकि रहेको काममा पोथीहरुले साथ दिन्छन् । आफूले रोजेको भालेसित मिलेर बाँकि काम फत्ते गर्छन् । सुन्दर गूँड बनाउन नसक्ने कतिपय भाले त पोथी नपाएर जिल्लिनेपनि हुन्छन् ।

भालेको गूँडले देखाउँछ, उ कति तगडा कालिगढ हो भन्ने । फुल पार्ने कोठा कत्रो र कस्तो छ ? भित्र पस्ने ढोका कस्तो छ ? गूँडको बाहिरी आवरण कसरि बुनेको छ ? कस्तो र कति सुरक्षित हाँगामा बनाएको छ ? पोथीले यो सबै निगरानी गर्छन् । भाले कति सिपालु छ  पोथीहरुको छनौटले निर्धारण गर्छ ।

फुल पार्ने कोठा सकिनासाथ पोथीले त्यसलाई राम्रो बनाउनतिर लाग्छे भित्र बसेर । भालेलाई बाहिरी भाग बुन्न छोडिदिन्छे । आवश्यक घाँस ओसारेर भालेलेनै ल्याउँछ । बाहिरी भाग पूरा भएपछि भालेले ढोका पुरा गर्नतिर लाग्छ । गूँड बनाउँदा भाले पोथी खुब रमाउँछन् । भालेले मधुर स्वरमा गीत गाउँछ । कहिलेकाहिँ त पोथीले फुल पारेर ओथारो बस्न शुरु गर्दा पनि भाले घरलाई अझ सिँगार्दै, मिलाउँदै हुन्छ ।

भालेले सुन्दर गूँड बनाएको छ भने पोथीहरु त्यस्तो गूँडकालागि प्रतिस्पर्धापनि गर्छन् । पोथीहरु धेरै झगडा गरे भने भालेले त्यस्ता पोथेसितको संवन्ध तोड्नुपर्नेपनि हुन सक्छ । भारतको मुम्बैका फोटोग्राफर किसन भेन्किताचलमले खिचेको यो तस्विरले त्यहि देखाउँछ । बाघकाने टोपी वा धोक्रो जस्तो यो गूँडको लम्बाइ ३० देखि ६० सेन्टीमिटरको हुन्छ । यो करिब तिन महिनाको प्रजनन्कालभरि प्रयोग गर्छन् । करिब तिन महिनापछि जब बचेर हुर्केर उड्न सक्ने हुन्छन् तव यी फेरी पहिलेकै ठाउँतिर फर्किन्छन् ।

खास गरेर बिउ बिजन खाने हुनाले यीनले धान मकै खेतवारीको छेउछाउ समूहमा बस्न रुचाउँछन् । यीनीहरुको गूँड कति बैज्ञानिक हुन्छ भने अक्सर हावा नचल्ने दिशातिर फर्काउँछन् । त्यसैले यहि बिजेता तस्विरमा पनि गूँडको ढोका पूर्व पश्चिम फर्केको देखिन्छ किनभने नेपालमा अक्सर उत्तरबाट दक्षिणतिर बहन्छ हावा ।

फिस्टे चरा वा सोली फिस्टो (आङ्ल भासामा टेलर बर्ड) र कोटेरोको वर्ग एकै भएपनि सोली फिस्टोले सकेसम्म आफ्नो गूँड लुकाएर बनाउँछ । तर कोटेरोहरुले भने सबैले देख्ने गरि बनाउँछन् । तिनीहरुलाइ खराब मौसम र शत्रुबाट आफ्ना गूँड बचाउन पाए पुग्छ । गूँडलाइ हावामा तुर्लुङ तुर्लुङ हल्लिने बनाउँछन् जसले गर्दा शत्रु हत्तपत्त पस्न सक्दैन यो हल्लिरहने भएकोले । हाँगामा तुर्लुङ्ग झुण्डिने र हल्लिरहने हुनाले सर्पपनि हत्तपत्त पस्न सक्दैन । गूँडपनि अर्को हांगाबाट सहजै नभेटिने गरि बनाउँछन् । एकदमै सुरक्षित छ भन्ने लागेमा र गूँड बनाउने उपयुक्त ठाउँ अलि सिमित लागेमा गुजुप्प पारेर थुप्रै गूँडपनि बनाउने गर्छन् । जमिनबाट नभेटियोस् भनेर कम्तिमा १५ फिट उचाइमा मात्रै बनाउँछन् ।

हरेक वर्ष नयाँ गूँड बनाउनु भन्दा पाएको खण्डमा पुरानैलाई मर्मत गरेकोपनि पाइन्छ । त्यसरि मर्मत गर्दा प्राय सुकेकै घाँस प्रयोग गर्छन् । नपाउँदा हरियो घाँस काटेर टाल्छन् ।  नयाँ गूँड बनाउँदा रुखको हाँगामा अड्काएर माथिदेखि तलतिर बुन्दै ल्याउँछन् । त्यसो गर्दा माथिबाट परेको पानी तर्किन्छ । तल्लो भागमा ढोका छोडेर बिचमा अलि फराकिलो पार्छन् र गूँडमा त्यहि ढोकाबाट सुइट्ट सुइट्ट पस्छन् । एउटा फुल पार्न र अर्को माउ बस्नकालागि भनेर भित्र दुई भिन्न कोठा बनाएका हुन्छन् ।

छोडिएका यस्ता गूँड अन्य चरालेपनि प्रयोग गर्छन् । अर्को वर्षसम्म सुरक्षित रहे फेरी तिनैले मर्मत गरेर पनि प्रयोग गर्छन् । गूँड बनाउने बेला भालेहरुको बडो रोचक प्रतिस्पर्धा देख्न सकिन्छ गूँड कसले सुन्दर बनाउने र छिटो बनाउने भन्ने । भालेहरुको टाउको र घाँटी वरिपरि पहेंलो हुन्छ । पोथी फुस्रा हुन्छन् । प्रजनन्कालमा भालेहरुको पहेंलो भाग टल्किएर आउँछ । यसको कारण भालेहरु प्रजननकालागि तयार छन् भन्ने संकेत हो । यस्ता रंगले भालेहरुको स्वास्थ्यको संकेत गर्ने तथ्य बैज्ञानिकहरुले औंल्याउने गरेका छन् ।

तपाइँको प्रतिक्रिया