रोम शहरमा मोबाइल भन्दै साबुन दियो त बजियाले

पुष्कर शाह

nepali-world-cyclist-pushkar-shah.jpgदशैको लागि छुट्टी लिएर घर जानुपूर्व म मेरा साथी सुजनलाई भेट्न ईटालीको केन्द्र भागमा रहेको रेल स्टेसन जाँदै थिएँ । स्कूटरमा आईरहेको एक पुरुषले सडकको एक कुनामा रोकिएर सोध्यो ओ सर, तपाईलाई मोबाईल फोन चाहिन्छ ? त्यति भन्नासाथ फोन गोजीबाट फुत्त निकालिहाल्यो उसले । त्यस्तो फोनको मलाई आवश्यक छैन भनिदिएँ । किनकि मलाई थाह थियो त्यसरि बेचिने फोन चोरि गरेका हुन्छन । तर उसले मलाई यो एकदम राम्रो फोन हो, राम्रो मोडेलको हो भनेर किन्न हत्ते गरिरह्यो । म मिलाएर दिउँला सस्तो मूल्यमा भन्दै थियो । मैले उसलाई वास्तै नगरि सुई सुई हिँडिरहेँ । तर उसले मलाई पछ्याइरह्यो ।

यो असाध्यै महँगो फोन हो” मलाई देखाउन रोक्दै उसले भन्यो । नोकिया कंपनीको त्यो फोन नयाँ देखिन्थ्यो । यो फोन बाहिर पसलमा किन्नु भयो भने ३०० यूरो (करिब ३० हजार नेपाली रुपियाँ) पर्छ भन्दै थियो उ । कति रहेछ जान्ने उत्सुकताले मैले उसलाई सोधें कतिमा दिने हो त भन्दै । एकसय ५० यूरो दिनु नी, उसले भन्यो ।  त्यो त महँगो भयो नी, म त साथीले वर्षौं पहिले दिएको पुरानो फोन चलाइरहेको छु भनें मैले । त्यो फोन त सायद २५ यूरो जति परेको हुँदो हो भनेर सुनाएँ उसलाई । 

अब उसले सोध्न थाल्यो, त्यसो भए कति पैसा तिर्न सक्नुहुन्छ त ? मैले ४० यूरो भनेको त उ आश्चर्यमा परेछ । तिनसय पर्ने मोबाईल फोन ४० यूरोमा कहिं कतै तपाईले पाउनुहुन्न । कुनै संभावना नै छैन भन्यो । “त्यो भन्दा बढि पैसा म सँग भए पो त” मैले जवाफ फर्काएँ । त्यसो भए मलाई एक सय यूरो दिनुस न त, उसले भन्यो । अँहँ म डेग चलिन । उसले त्यसो भए ८० मा लिनुस त नी भन्यो । “म सँग ८० यूरो नै छैन भनेपछि उ ७० मा झर्‍यो ।

त्यति महँगो मुल्यमा मैले किन्न सक्ने उपाए नै थिएन । तैपनि मेरो क्षमता अनुसारको मुल्यमा लिन सकिन्छ कि भनेर म कोसिस गर्दै थिएँ । मैले तिर्न सक्ने मुल्यमा पाए त्यो फोन किन्ने सोच बनाएँ । म सँगै फोन नभएकै त होइन । मैले आफुसँग भएको फोन निकै पहिलेदेखि चलाउँदै आएको थिएँ । थोत्रो भएर नराम्रो देखिने । छेउछेउको रङ पनि हराएर खुइलिइसकेको थियो ।

मूल्य ओरालो लाग्दै गयो । मलाई थाह थियो कि उ जसरिपनि त्यो फोन बिक्रि गर्न चाहन्थ्यो । र जुनसुकै मुल्यपनि उ स्विकार गर्न तयार हुन्थ्यो बिस्तारै । उसलाई जसरि हुन्छ पैसा चाहिएको थियो । सायद उ लागू औषधको अम्मली हुन सक्थ्यो । त्यति बेरसम्ममा मलाई अलि अलि डर लागिसकेको थियो । खासगरि प्रहरीको । तिनिहरुले समातेको भए के हुन्थ्यो ?

उसले मलाई फेरि ७० यूरोमा लिइदिनुस न भनेर हत्ते गर्‍यो । म सँग ४० यूरो भन्दा एक कौडी बढ्दा छैन । मैले दिएको मूल्य चित्त नबुझे अर्कै ग्राहक खोज्न गए हुन्छ भनेर जवाफ दिएँ मैले । तर उसलाई झन थाह थियो कि चोरेको चिजकिन्ने ग्राहक बाटाघाटामा पाउन त्यति सजिलो हुन्न । मैले त्यस्तो जवाफ दिएपछि उ एकछिन घोरियो । टाउको यसो उचालेर “हुन्छ” भन्दै हल्लायो। “तपाईले जित्नु भो” उसले भन्यो । तपाईले खुब राम्ररी मूल्य घटाघट गर्नु भो, यति मूल्यमा त बजारमा ज्यान गएपनि य्सतो मोबाईल आउने थिएन भन्दै थियो उ ।  उसले मलाई सानो थैलामा बेरेर दियो र प्रहरीले नदेख्नेगरि लुकाउन भन्यो । उता मेरो साथी सुजन भने निकै समय सम्म आइपुगेन । मूल्य घटाएर मोबाईल किनेकोमा म प्रफुल्ल थिएँ । भूईमा थचक्क बसें । पुरानो फोन झिकें त्यसको सिमकार्ड नयाँमा फेर्नुपर्‍यो भनेर । उसले दिएको सानो थैलो खोलें । म त हाँस्नपनि सकिन र मोबाईलसहितको थैलोसहितै भूईमा मिल्काईदिएँ । उसले मलाई देखाएको नोकिया फोन त त्यो थैलामा रहेनछ । हेर्दा हेर्दै बिताएछ बजियाले । त्यो फुच्छे थैलोमा मोबाईल जत्रो साबुन पो रहेछ” ।

तपाइँको प्रतिक्रिया