बूढा बासँग प्रचण्ड बेग्लै

माओवादी अध्यक्ष प्रचण्डको चर्चा यतिवेला नेपाली राजनीतिमा व्यापक छ । तर, उनलाई भोटबाट नुन ल्याएर हुर्काउने पिता मुक्तिराम दाहालको भने कतै चर्चा छैन । चितवन भरतपुरस्थित दुईतले पक्की घर छाडेर शान्ति प्रक्रियासँगै काठमाडौं पसेका मुक्तिराम यतिवेला पानीको समस्या परेको भन्दै डेरा सरेका छन् ।

‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भन्ने उखान जस्तै एउटा छोरो लन्डनमा र अर्को छोरा सिंहदरबारमा भए पनि मुक्तिराम छोरीकी छोरीको डेरामा आश्रय लिएर बस्दै आएका छन् । श्रीमती र छोरासहित नयाँबजारमा सिंगो घर लिएर बसेका प्रचण्डले पानी नमिसिएको दूध खानलाई गाई पालेको भए पनि पिता मुक्तिराम प्रचण्ड परिवारभन्दा निकै किलोमिटर टाढा बल्खुमा अवस्थित दीपक बहादुर थापाको घरमा डेरा लिई बस्दै आएका थिए । संविधानसभाको चुनाव पूर्व माघदेखि उनी थापाको घरमा डेरा बस्न थालेका हुन् । नातिनी सुशीला र नातिनीज्वाइ श्रीराम आचार्यले बूढा हजुरबाको सेवा गर्दै आएका छन् ।

थापाको घरमा नातिनीसित डेरा बसेपनि मुक्तिरामको काठमाडौं बसाइको खर्चबर्च भने लन्डनमा पढेका र हाल इन्डोनेसियामा वातावरण क्षेत्रमा कार्यरत प्रचण्डका भाइ गंगाले व्यहोर्ने गरेको बताइन्छ । दुई वर्षको बसाइमा प्रचण्ड लगभग दुई/तीनपटक मात्रै पितालाई भेट्न गएका थिए । नाति प्रकाश दाहाल भने गाडी लिएर वेलाबखत हजुरबालाई भेट्न जान्थे ।

दसैँ लागेपछि सुशीला र श्रीरामले पानीको समस्या परेको भन्दै थापाको घर छाडेपछि मुक्तिराम पनि उनीहरूसित लागेका छन् । प्रचण्डका भान्जीको परिवारले बल्खुमै कुवा नजिकै रहेको घर खोजेर दसैँबाट नयाँ डेरा जमाएका हुन् । थापाको घरमा रहँदा उनीहरूले प्रति महिना ६ हजार रुपैयाँ भाडा तिर्थे ।

(तस्विरमा प्रचण्डका बुवा मुक्तिराम दाहाल । उनको भरतपुर नगरपालीका क्रिष्णनगरस्थित घरमा म आफैंले खिचेको तस्विर हो यो । त्यति बेला माओवादी जनयुद्द कायमै थियो। समाचार आजको जन अस्था साप्ताहिकबाट साभार गरिएको हो ।)

यसैसँग संबन्धित तलका ब्लगपनि हेर्नुस-

प्रचण्डको जन्मस्थल घुमेर हेर्दा

यस्तो घरमा जन्मिएका थिए हाम्रा नयाँ प्रधानमन्त्रि (विशेष तस्बिर) ।

तपाइँको प्रतिक्रिया