समलिंगी आरोहीका मन छुने कुरा

(अघिल्लो ब्लगको दोस्रो भाग हो यो । पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस् )

‘मोरिस हेर्जोकसित अन्तर्वार्ता गर्ने तपाईसित भेट्दै भेट्दिन भनेका सगरमाथा आरोही मार्का बातालाई पहिलो पटक भेट्न राजि गराएपछि ‘लौ तपाईसित त अझै धित मरेन गफ गरेर’ भन्दै हिँडे पहिलो भेटको अन्त्यमा । इमेलबाट पठाएछन् -ददि सापकोटा ल फलानो दिन दुई बजे तपाई ले थाँ ब्लुज भन्ने लियोँ रेल स्टेशनको रेस्टुरेन्टमा आउनुस् गफ मारम्ला’ ।

फ्रान्सको हिमाली क्षेत्रबाट फर्किएका रहेछन् उनी । कफीको सुर्कोसँगै गफ मार्न लागियो । पारिवारिक लर्को फर्को आदान प्रदान गर्न लाग्दा बल्ल थाहा भो- उनी त समलिंगी पो रहेछन् । उनले नढाँटेकनै भने- म समलिंगि हुँ । उनी अहिले केटो साथीसित बस्ने रहेछन् । यि संसार प्रसिद्द समलिंगी आरोहीका रहेछन् दुई वालवालिकापनि । समलिंगीका वालवालिका ? अचम्म !

समलिंगीपन के हो ? कस्तो हो ? किन हुन्छ भन्ने नबुझ्दै उनले गरेछन् बिहे । बाबुको करकापमा परेर । फ्रान्समापनि करकाप ले बिहे ? यस्तो देशमापनि ? अहिले पो हुँदैन त कानुनि रुपमा । ३०, ३५ वर्ष अघि त किन नहुने ? अझै त गाउँघर र अलि बिकट क्षेत्रतिर हुने रहेछ ।

बिहे भएपछि जन्मिए वालवालिका । सम्हाले । माया दिए । हुर्काए । तर जैविक कारण लुकेको थियो उनमा समलिंगीलाई नै दिने र लिने माया । बाबुको पञ्जाबाट मुक्त भए । सम्बन्ध  बिच्छेद भयो । अनि रोजे केटो साथी । असाध्यै रमाएका रहेछन् केटो साथीसित । तर वालवालिकाको जिम्मेवारी भुलेनछन् । सुनाए- म श्रीमतीसित कहिल्यै रमाउन सकेको थिईन । अहिले केटो साथीसित खुशि छु ।

संसार प्रसिद्द आरोही न परे। आफ्नो पेशा के हो ? कस्तो हुन्छ ? हिमाली जिवन शहरिया जिवनभन्दा के गाह्रो, के साह्रो ? हिमाल जाँदाको अनुभव कस्तो ? आफ्नो बाउ किन हिमाल जान्छ ? उसले के गर्छ ? सबै कुरा वालवालिकालाई देखाउनुपर्छ । सिकाउनुपर्छ । नाम कमाउनका पछाडि कति पीडा, कति कष्ट लुकेका हुन्छन् । सबै बोध होस् वालवालिकालाई भन्ने लाग्ने रहेछ । त्यसैले ११ वर्षको बच्चालाई उनले नेपालको ६ हजार मिटर पुर्‍याएछन् । ल्वाईँका ल्वाईँ बिना कुनै कठिनाई पुगेछन् बच्चापनि त्यति माथि सम्म । परिवारको कुरा गरेर महान काम गरें भनेर प्रचार प्रसार नहोस् भन्ने पनि सोच्ने रहेछन् । भन्थे- साझेदारी मात्रै गरेको प्रचारप्रसार चाहिँ नगरौं है ?

नेपालका कुन हिमाल पुगेका छैनन् उनी ? झण्डै झण्डै सबै हिमालसित उनले सिंगौरी खेल्न भ्याएका रहेछन् । हेलम्बु, लाङटाङ क्षेत्र कस्तो ? सगरमाथा क्षेत्र तिर गए के भिन्न देख्न, हेर्न र बुझ्न पाइन्छ ? अन्नपूर्ण वा धौलागिरी जाँदा के फरक स्वाद लिन पाइन्छ ? कुन हिमाल कस्ता ? आरोहीलाई पनि गाईड गर्ने न परे। सबै खरर नेपालको चारै दिशा उनलाई । ट्रेकिङका बाटा कण्ठै भन्न सक्ने यो गाउँ पछि यो । यो बिसौनी पछि फलानो बिसौनी । काठमाडौंमा एक दशक त डेरा लिएरै बसेका रहेछन् । झोँछे र असनटोल देखि विशालनगरका मम र तास रेस्टुरासम्मको बयान गर्न भ्याउँछन् उनी ।

पर्यटक संख्या बढाएर बिदेशी मुद्रा सोहोर्ने र गरिबी घटाउने ? उइस …….घटाको घटाई हो । मुख बिगारे । पर्यटनले गरिबी घटाउने ? घटाउँछ गरिबी ? झन झोली तुम्बा बोकाउँदै छ पहाडतिर । बडा अचम्मको कुरा सुनाए । आजसम्म पर्यटनले महँगा बिदेशी मुद्रा पात सोहोरेरै बटुल्ने । देश उँभो लगाउने । गरिब निमुखाका साग देखि दाउरा, बाख्र कुकुरा र धनीका होटेलमा राख्ने । हावा देखि घाम सम्म बेचेर पैसो भक्कु कमाउने । देश धनी बनाउने । गरिबका दिन फेर्ने । चाउरिएका अनुहारमा खुशि थपेर फक्राउने । यस्तै सुन्दै र बुझ्दै आएको । तर उनी त सिधै भन्छन्- गरिबका बुइँ चढेर झन गरिब बनाउँदो छ् पर्यटनले । बिकट पहाडी गाउँका दुखियाको खुशि झन हरेको छ । बचेको हाँसो पनि खोस्दै छ ।

गज्जबको तर्क गरे उनले । तर किन होला ? कसरि होला ? मैले जिज्ञासा राख्नासाथ धानका ठोसा जस्ता दाह्रीमा छाम्दै एक कप कफी थपम है भने । अनि टेबलमा चपक्क टाँस्सिएर थाले तर्क गर्न । त्यो कोक । ति फेन्टा । त्यो रक्सी । खान सक्छन् गरिबले ? सात समुद्र पारीको ‘खैरे’ लाई मिठो मिठो चाहिने । उ पैसाको धमासमा गाउँको मिठो मसिनो ताक्छ । गरिबले २ सयमा किन्दै आएको । खाँदै आएको कुखुरोलाई उ एक् दिन टहलिन आउनेले २ हजारदिन्छु भन्छ । मर्‍याक मुरुक पार्छ लान्छ । केहि बेच्न पर्‍यो भने ‘गोरेलाई दिने हो ‘ भनेर राख्छन् । नुन, तेल, रायोको साग, खुर्सानी सारा का सारा महँगो । काठमाडु बस्छन् टाइ ठोकेर दुख नगर्नेहरु । गोरा सापका दिमाख भुट्छन् । हजारौं लिन्छन् दिनै पिच्छे । अनि गाउँमा आएर भाको नभाको मूल्य तोकेर किन्छन् ।

नुन देखि सलाईका काँटी र मसला केहि छोइसक्नु हुन्न । दिनभरि भारी बोकेर २ किलो चामल किन्न पुग्ने दाम दिन्नन् । उनीहरु चाहिँ सारा गाउँलेलाई भारी बोकाएर गोराले तिरेको अधिकांश रकम कब्जा गर्छन् । गाउँका मान्छे सधैं भरीयाको भरियै । जसको ढाडले पर्यटन धान्छ । जसको थाप्लोमा नाम्लो डसेर पर्यटकका यात्रा सफल हुन्छन् ति चाहिँ सधैं उस्तै । शहरका मान्छेका महल ठडिएको ठडियै । भारी बोक्नेले चाहिँ तिनैका भारी बोक्न गतिलो नाम्लो किन्न नसक्ने अवस्था रहने सधैं ?

कडा मिजासका मान्छे न हुन् । फ्रान्समै पनि पत्रकारहरु उनीसित भेट्ने भनेपछि झस्किने रहेछन् । ‘यो त पुइँक्क बटारिन्छ । अलिकति केहि भयो कि, तलमाथि पर्‍यो भने बम्किन्छ । छापिएपछिपनि कल्ले लेखेको खोजि खोजि सराप्छ, हकार्छ कतै फरक पर्‍यो भने ‘। उनले ‘मै हुँ’ भन्ने थुप्रै फ्रान्सेली पत्रकारको सातो लिइसकेका रहेछन् । खासगरि खेलकुद र हिमाली गतिबिधी नियाल्छौं’ भन्नेका ।

शहरिया मान्छेले गाउँले लुट्ने, गाउँलेका निधार र ढाड खियाएर धनी बन्ने कि त यो प्रचलन तोडिनुपर्छ । किन बिद्रोह भयो नेपालमा ? जंगिए उनी । बाँच्न नसकेपछि उठ्न परेन ? अत्याचार भएपछि के गर्ने ? उपाय नास्ति भएपछि हातमा जे छ त्यहि बोकेर तम्सिनु परेन ? यस्तै अवस्था रह्यो भने नेपालमा अझै हुन्छ बिदोर्ह अझै ! यस्ता जाबा गरिबको उठीबास लगाउने पर्यटन !!

(ददिको अनुभूती र संझनाका अन्य भागहरु यहाँ क्लिक गरेपछि छानेर हेर्न सकिन्छ)।

तपाइँको प्रतिक्रिया