यो बुद्ध जन्मिएको भूमि हो

-निरज मान श्रेष्ठ / ताइवान

बस्तीहरूमा बम र बारुद पड्किएको आवाज आउँदा

त्यही विस्फोटमा परेर घाइते भएकाहरुको दर्दनाक चीत्कार सुन्दा

त्यसमा आफन्त गुमाएकाहरुको रोदन सँगै सिंगो प्रकृति भाबबिब्हल हुँदा

तिमीलाई भ्रम पर्न  सक्छ, यो बुद्ध जन्मिएको भूमि होइन कि भनेर

यो शान्ति उब्जिएको थलो होइन की भनेर ।

तर

यसैलाई आधार नबनाए मित्र

यो त्यही भूमि हो

जहाँ जन्मजात शत्रुता साँध्नेहरु, हातमा हात मिलाएर बसेका थिए ।

धर्मका नाममा जेहाद छेड्नेहरू,शान्ति प्रिय बनेर बसेका थिए ।

यी बारुदहरू त केही दिनका उन्मादहरू मात्र हुन

भोलि स्वार्थले यसलाई निस्तेज नबनाउला भन्न सकिन्न

यी युद्धहरू त पिडादायिक घुर्क्याई मात्र हुन

भोलि सत्ताले यसलाई नफकाउला भन्न सकिन्न

हामी

अझ पनि बारुद भित्र परेवाको खोजीमा छौ

अनि, विध्वंसले ध्वस्त भग्नावशेष भित्र

गुराँस फुलाउने प्रयासमा छौ ।

बारुद रोपिएको माटोमा शान्ति फल्छ भनेर दावा गर्दा

तिमीलाई हावादारी गफ लाग्न सक्छ

तर,

मानसिकता बनाउन हतार नगरे मित्र

स्वाभिमानको सगरमाथा पग्लनु भन्दा अगाडी

जीवनका रंगहरू उड्नू भन्दा अगाडी

हामी आमाहरूका रित्ता काख लिएर प्रतिवादमा उत्रने छौ

बिधुवाहरूको खाली सिउँदो र टुहुराहरूका आँसु लिएर प्रतिरोधमा उत्रने छौं ।

त्यसपछि

अँध्यारो चिरेर बिहानी आउँदा

बादल फाटेर, पानी बर्सदा

धर्ती भरी गुराँस फुल्नेछ, आकाशमा परेवाहरू उड़ने छन् ।

अनि, तिमी भन्ने छौ

हिजोको मानसिकता गलत रहेछ

यो शान्ति उब्जिएको माटो रहेछ ।

केही बेर रगतमा मुछियो त के भयो?

पसिनाले पखालिएर आज पवित्र छ

साँच्चै

यो बुद्ध जन्मिएकै भूमि रहेछ ।

तपाइँको प्रतिक्रिया