अब कस्को पालो ?
डा. लेखनाथ काफ्ले / ताइपेइ, ताईवान
मेरा
ए अहिलेका प्रियजनहरु
मेरा समर्थक
प्रायोजक
आफन्त जनहरु
मेरा मित्रहरु !
हिजो मैले तिमीहरुलाई कति खोजें
कति कराएँ
कति बोलाएँ
कति पत्र लेखें
केही
सुनिन, देखिन
केही महशुस सम्म नि गरिन ।
अनी मैले
खुल्ला चौर बाट घोषणा गरें
म नचाहिने यो युग
मलाई पनि चाहिँदैन
मेरै बन्दुकको एउटा गोली प्रयाप्त भो
मेरो अन्तिम शान्तिको लागि
र
म पञ्च तत्वमा मिलें ।
०००००००००००००००००००००००
आज म
मेरा कृति बनेर बौरेको छु।
मेरो तिमीहरुलाई एउटै सवाल छ
तिमीहरु सञ्चै त छौ ?
०००००००००००००००००००००००००
एउटै चित्रलाई करोडौमा बेच्नु थियो,
एउटै पूस्तक लाखौं प्रति छाप्नु थियो
एउटै नाटकलाइ अर्को ग्रह सम्म देखाउनु थियो
त्यसैले तिमीहरु बाँच्नु नै पर्थ्यो।
र
म, म त मर्नु नै अनिवार्य थियो।
०००००००००००००००००००००००००
तर
म फेरी सोध्छु
आज मेरो सम्मानमा लाइन लाग्ने तिमीहरु
जब मेरा आवाजहरु तिम्रा ढोकामा लामबद्ध थिए महिनौ सम्म
तिमीहरु कहाँ थियौ ?
म
कलम, कागज र स्याही माग्न
इद्र कहाँ पुगे
जेमराज कहाँ धाए
कहाँ कहाँ गइन?
जब मलाई तिमीहरु चाहिन्थ्यौ
तिमीहरु मेरो सपनामा समेत देखा परेनौ
तिमीहरु कहाँ थियौ?
०००००००००००००००००००००००००
जब तिम्रा बाक्ला कोटहरु थिए
मेरो मस्तिस्क चिसोले जमेको थियो
तिमीहरुले दुख्खका भाव सहित
बातानुकुलित कोठाबाट दुरबिनले हेर्यौ र भन्यौ
त्यसलाई महान कलाकार बनाउनु पर्ने छ
जाओ मनुवा हो
त्यसलाई अझ दु:ख देओ।
००००००००००००००००००००००००
मलाई तिमीहरु सबैले मिलेर मिल्क्यायौ
त्यस्तो पीडा भूमिमा की
मैले
आफ्नै मष्तिस्क घोटेर
नली हाडले
आफ्नै छालामा कबिता लेखे
चित्र कोरे ।
००००००००००००००००००००००००
आज त्यो मेरो छाला
लीलाम गरेर अरबपती हुने
ए
मेरा प्रकाशकहरु
ति कृति मन पराउने समर्थकहरु
मेरो तिमीहरुलाई एउटा अन्तिम सवाल छ
आजकाल तिमीहरु कस्को अन्तिम सास गन्दै छौ?
तिम्रो ईतिहासको वा
तिम्रो पौरखको?
कि तिम्रा सन्ततिहरुको भावी शान्ति को ?
किन कि
म देख्दै छु
तिमीहरु मेरै बाटोमा
क्रमश, आइरहेका छौ।
(महान कलाकार स्व. श्री विन्सेन्ट भान गोग प्रति समर्प्रित)




