रेला रेला रेला

-कृष्ण धरावासी

जानी जानीकन पनि मनोरञ्जनका लागि अरूलाई दुःख दिने कामलाई ‘रेला’ भनिन्छ । मानिसहरू अचेल धेरै जस्तो समय यस्तै ‘रेला’ हरूमा खर्च गरिरहेछन् । ‘रेला’ फुर्सदको सदुपयोगका लागि पनि हुन्छ, समय बिताउन कहिलेकाहिँ रेला मनोरञ्जन मात्र भएर सकिन्छ, कहिलेकाहिँ रेला झगडाको बीउ उमारेर सकिन्छ । जे होस्, ‘रेला’ गर्नु र ‘रेला’ मात्र गरिरहनुलाई कसैले पनि राम्रो मान्दैन । रेला फेरि प्राय एकतर्फी हुन्छ । जससँग ‘रेला’ गरिँदैछ, उसको मनस्थितिको महत्व नबुझी गरिने धेरै जसो रेलाहरू झगडामा परिणत हुन्छन् । भन्नलाई ‘रेला’ साथीसँग गरिने भनिन्छ तर रेलाकै कारणले साथी सँगको सम्बन्ध शत्रुतामा परिणत हुन्छ ।

त्यसो भए के रेला गर्नु राम्रो हो त ? तर अचेल सबैभन्दा सस्तो र उपयोगी पनि यही ‘रेला’ भएको छ । घर, कार्यालय, सडक, सरकार जहीँ पनि अचेल रेला मात्र भइरहेको छ । जसले जसलाई पनि प्याच्च एकथोक भनिदिएको छ, सुन्नेले मन पराएन भने- ‘के माइन्ड गरेको यार रेलाको पनि ।’ मानौं कसैको अनुहारमा ‘थुक्नु’ कुनै नराम्रो कुरा होइन ।

रेला वैयक्तिक रमाइलोको सन्दर्भबाट माथि उठेर अब राष्ट्रियस्तरको भएको छ । रेलालाई अब केवल रेला भनेर अवमूल्यन गर्न नमिल्ने भएको छ । रेला अब संसदमा, सडकमा, सरकारमा, पार्टी कार्यालयमा, न्यायालयमा, कुटनैतिक नियोगमा, नागरिक समाज, साहित्य, पत्रकारिता र धार्मिक मठमन्दिरहरूका विराजमान भएको छ । रेला गर्नेहरू अचेल रेला गरेको जस्तो अनुहार नबनाइकन रेला गर्छन् । उनीहरू रिसाए जस्तो भाषण गरे जस्तो, भावुक भए जस्तो, जनताको हक अधिकारका लागि लडेको जस्तो अनेक थोक गरो रेला गर्छन् । हत्या गरे जस्तो, अपहरण गरे जस्तो, बलात्कार गरे जस्तो, वैदेशिक मुद्रा अपचलन गरे जस्तो, रेलाका कैयौं, रिसाए जस्तो भाषण गरे जस्तो, भावुक भए जस्तो, जनताको हक अधिकारका लागि लडेको जस्तो अनेक थोक गरो रेला गर्छन् । हत्या गरे जस्तो, अपहरण गरे जस्तो, बलात्कार गरे जस्तो, वैदेशिक मुद्रा अपचलन गरे जस्तो, रेलाका कैयौं, ‘उत्तरआधुनिक’ शैलीहरू विकसित भएका छन् ।

रेला गर्नेहरू अचेल कतै राज्य मागे जस्तो, कतै देश टुक्र्याउन खोजेको जस्तो, कतै साम्प्रदायिक दङ्गा जस्तो, कतै धार्मिक नृत्य जस्तो गरिरहेका छन् । अर्काले चित्त बुझाएन भने- ‘सरी ल ! मैले त रेला गरेको थिएँ । साथी सम्झेर’ भन्यो उसले प्रतिकृया जनाएन भने त्यही रेलालाई वास्तविकतामा प्रस्तावित गरिदियो ।

त्यसो त आज देशै रेलामा छ । यहाँ कहीँ पनि कुनै कुरामा पनि गम्भीरता छैन । सारा संसारले मानेका, महान ठानिएका व्यक्तिहरू एक एकवटा गर्दै आफ्नो व्यक्तित्वका आवरणहरू खोल्दै बौद्धिक निर्वस्त्रतामा रुपान्तरण हुँदैछन् । त्यसो गर्नमा उनीहरूलाई एकदम नै रमाइलो भइरहेको देखिन्छ । तिनको रेलालाई रेडियो, टेलिभिजन, पत्रपत्रिका, आमसभा, गोष्ठी, नारा, जुलुस र अनसनहरूले ‘तिमी किन नाङ्गएिको भाइ ?’ भनेर सोध्न पनि सकेका छैनन् । र त्यो रेला गर्नेले पहिला रेला थालेको भए पनि अव त्यसैलाई आफ्नो रोडम्याप’ बनाइरहेको देखिन्छ ।

जनताले अत्यन्त कष्टकारी जनआन्दोलन लडेर स्थापना गरेको लोकतन्त्र माथि रेला गर्नेहरू कति निर्लज्ज छन् । तिनलाई संविधान बनाउन चुनेर पढाएको थियो, संविधानसभास्थल छोडेर कता हिँडेका रेला गर्दै ? सबै दलले निर्विरोध प्रधानमन्त्री बनाएका प्रचण्ड पुलिससँग रेला गर्न किन पुगेका ? पुलिससँग जिस्किँदा जिस्किँदै निल्ला पर्नु परेन ? दुई दुई ठाउँबाट चुनाव हारेका मान्छेलाई घरमै गएर रोइकराई अनुरोध गरि सांसद बनाउने ‘रेला’ किन खेलेका प्रचण्डले माधव नेपालसँग ? त्यस्तो रेला पनि गर्नु हुन्थ्यो त जनतासँग ? पाए भन्दैमा जनताबाट अनुमोदित नभएका माधव नेपालले प्रचण्ड बहुमतको प्रधानमन्त्री झैं किन ‘उग्र भाषण रेला’ गरेको ?

कांग्रेसले एक प्रस्ताव बोल्दा उनी प्रधानमन्त्री रहिरहलान ? २०४८ सालदेखि पटक पटक पूर्ण बहुमतको सरकार आफैंले ढाल्ने रेला गर्दा गर्दा नथाकेको कांग्रेसले फेरि अहिले नयाँ सरकारको नेतृत्व गर्छु भनेर किन ‘रेला’ गर्न खोजेको ? कमल थापाले सबैभन्दा ठूलो राष्ट्रवादी आफू मात्र हो भन्ने थालेको कति भो ? पंचायत कालमा मण्डलेको नेता उहाँ आफै होइन ? त्यस्तो ठूलो राष्ट्रवादी ‘चेतना बोकेको मान्छे बम्बैको हिन्दुसभाको प्रमुख अतिथिका नाममा बाल ठाक्रेको खेताला भएर किन रेला गरेको ? बाल ठाक्रे र भाजपाको आर्शिवाद बोकेर नेपालको उत्कृष्ठ राष्ट्रवादी रेला गर्नु हुन्छ ?

रेलै रेलाका बीचको महारेलामा फसेको माओवादीको हाँस्दा हाँस्दै रुन थालेको अनुहार अब कसरी सोझिएला ? सोझिएला ? एकहप्ते सडक आन्दोलनको रेला पछि बुद्धिजीवी मानिएकाहरूसँग गरेको ‘माफी रेला’ राम्ररी सकिएकै छैन, अब तुरून्त प्रसारण हुन लागेको ‘सडक संविधान रेला’ को रूप कस्तो होला ? एनेकपा माओवादीको ‘संविधान’ नामे कृति विमोचनले यत्रो ठूलो जनयुद्ध जनआन्दोलन, संविधान सभा र नागरिक विश्वास माथि कस्तो रेला गर्ला त ? अस्ति भर्खर सडकबाट घोषणा गरेका ‘संघीय राज्य’ रेलाहरू कहाँ पुगे ? तिनले राज्य र नागरिकमा कस्तो गम्भीरता उत्पन्न गरे ?

के यी रेलाहरू बन्द गर्न सकिँदैनौ ? देश र जनताका नाममा भइरहेका यी घिन लाग्दा रेलाहरू गम्भीर चिन्तन, बौद्धिक अभिव्यक्ति र जिम्मेदार अभिभावकत्वमा परिणत गर्न सकिन्न ? सरकार यदी लुटि खाने सबैभन्दा सजिलो माध्यम नभएर देश र जनताप्रति उत्तरदायी इकाइ हो भने, त्यसका नाममा आˆना सबै आस्था, सिद्धान्त, मर्यादा र लक्ष्य नै त्याग्ने ‘रेला’ नगर्दा हुँदैन ? विशिष्ट पद्धतिको स्थापना गरेर छोडी दिए पछि त्यो आफैँ चल्दैन ? संविधान बनाउन गएकाहरूले सरकारको लिसोमा टाँसिने रेला नगर्दा हुँदैन ?

(धरावासीको ब्लग क्रिश्न धरावासीब्लगस्पट डट कमबाट)

तपाइँको प्रतिक्रिया