सुदसँग माओवादीको विशेष संवाद

‘ ए, हाम्रो पार्टीका सभासद् तथा केन्द्रीय सदस्य रामकुमार शर्मालाई मार्छु भन्ने काउन्सिलर सुब्रत दास तपाईं नै हो ?’ भारतीय दूतावासका एकजना कर्मचारीले सोलुको सल्लेरीमा एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य गोपाल किराँतीलाई आफू दूतावासको काउन्सिलर भएको बताएपछि हक्की स्वभावका किराँतीले यस्तो प्रश्न सोधिदिए । म काउन्सिलर पुनित कुण्डल’ भन्ने जवाफ नआउँदै भारतीय राजदूत सुद बोले- होइन, सुब्रत दासका बारेमा म तपाईंलाई क्लियर गर्छु ।’ किराँतीले भो, पर्दैन’ भनेपछि सुद जवाफ दिनबाट रोकिए ।

बुधबार सल्लेरीमा कालो झन्डा देखाएर विरोध गर्नुका साथै सुदमाथि चाइनिज जुत्तासमेत प्रहार भएपछि सल्लेरी विमानस्थलको टावरहलमा उनी र किराँतीसहितको ५ सदस्यीय टोलीबीच वार्ता भएको थियो । डिएसपी सुदन सिजापतिमार्फत समय मिलाएर किराँतीले सुदलाई भेटेका थिए । भेट हुनासाथ दुईजनाबीच रमाइलो संवाद भयो । ‘मैले पनि तपाईंलाई भेट्न खोजेको थिएँ,’ सुदले यसो भनेपछि किराँतीले जवाफ दिए- ‘तपाईं र मबीच पहिल्यै भेट भएजस्तो लाग्छ ।’ कहाँ ?, सुदले सोधे- ‘कटवालले बोलाएको पार्टीमा ।’

माओवादी नेतृत्वको सरकारका वेला संस्कृतिमन्त्री रहेका किराँतीलाई तत्कालीन प्रधानसेनापति रक्मांगद कटवालले त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित एक रात्रिभोजमा बोलाएका रहेछन् । ‘म पनि त्यहाँ थिए, तपाईं पनि हुनुहुन्थ्यो’ किराँतीले जवाफ दिए- ‘हाम्रो भेट त्यहीँ भएजस्तो लाग्छ ।’ सुदलाई भेट्ने टोलीमा किराँतीको साथमा माओवादी सोलु जिल्ला इन्चार्ज राजेन्द्र बस्नेत, सहइन्चार्ज हिमाल गिरी, शेर्पा स्वायत्त प्रदेशका संयोजक गोङ्जु शेर्पा, सभासद् आङदावा शेर्पा थिए भने सुदको साथमा सोलुका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, स्थानीय विकास अधिकारी नारायण मैनाली, जिल्ला प्रहरी प्रमुख सिजापति थिए । ‘शेर्पा स्वायत्त गणराज्यका संयोजक गोङ्जुजीले शेर्पा भाषामा बोल्ने र मेरो नेपालीमा बोल्ने कुरा थियो,’ किराँतीले जनआस्थासँग भने- सुदले हिन्दी र अंग्रेजीमा बोल्ने भने, मैले नेपाली भएकोमा गर्व गर्ने भएकाले नेपालीमा बोल्छु भनेँ, त्यसपछि सुदले कुम हल्लाउँदै ‘आइएम इन्डियन’ भने ।

त्यसपछि शेर्पा गणराज्य संयोजक शेर्पाले ‘पहिले भारतीय सेना चेकपोस्टको नाममा बसेको स्थानमा तपाईं किन जान लाग्नुभएको हो ? राजनीतिक, सांस्कृतिक रूपले संवेदनशील स्थानमा किन तपाईंहरूको रुचि बढेको हो’ भन्ने प्रश्न राखेका थिए । ‘वार्ता गर्न भनेर गएपछि हामी शिष्ट रूपमै प्रस्तुत भएका थियौँ,’ किराँतीले थपे- ‘तर सुदले तपाईंहरूका प्रश्न गलत हुन् भन्ने जवाफ दिए । हाम्रो तर्फबाट यस्ता प्रश्न राखिएपछि उनी हड्बडाएजस्तो देखिन्थे ।’ त्यसपछि उनले ५-७ मिनेट लगाएर नेपालको विकास निर्माणका लागि सहयोग गरेको विवरण माओवादी टोलीलाई दिएका थिए । यहाँ-यहाँ यति सहयोग गर्‍यौँ भन्दै उनले काउन्सिलर कुण्डललाई ‘हो कि होइन ?’ भन्ने प्रश्न पनि गरेका थिए । सुदले गरेको प्रश्नमा उनी ‘हो-हो’ भन्दै जवाफ दिन्थे ।

सुदलाई विरोध गर्दै कालो झन्डा देखाएको र चीनमा बनेको जुत्तासमेत प्रहार गरेको सम्बन्धमा माओवादी अध्यक्ष प्रचण्डले तत्कालै सोलुमै सुदलाई फोन गरी माफी मागेको प्रचार भए पनि प्रचण्डले चाहिँ यो कुरा झूटो भएको दाबी गरेका छन् । यस्तो प्रचार गरिएपछि किराँतीले सोमबार बिहान प्रचण्डलाई भेटी यस सम्बन्धमा जिज्ञासा राखेका थिए । ‘लामो समयदेखि सुदसँग मेरो कुनै औपचारिक कुरा भएको छैन, जति कुराकानी हुने गरेको छ, विदेश विभाग प्रमुख कृष्णबहादुर महरामार्फत मात्र सञ्चार आदान-प्रदान हुने गरेको छ,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै किराँतीले भने ।

(आज बुधबारको जन आस्था साप्ताहिकबाट)

तपाइँको प्रतिक्रिया