उत्तर-यात्रा
–विद्या सापकोटा
शैशव
चलमलाउथ्यो कुलेसोमा
किशोरवय
कुलोमा रंगमगायो
यौवन फक्रिएकै थिएन,
नाइलको चर्चामा
गुमनाम त्रिशूली…
धरापमा अस्तित्व
स्वाभिमान लर्बरायो ।।
भासिदा दुबिधाको सेती,
सवालमा डोरिँदै
उक्लिएँ म
लखर-लखर
फुत्रुक-फुत्रुक
घिस्रिदैं- लम्कँदै
……
भेट्न, उद्गम बिन्दु ।।
………………………………
अडियो
उत्तरयात्रा,
गोसाईकुण्डको नील गहिराइमा
सलबलाए एकसाथ
कूलेसा-कुला
कुला-खोला
खोला-नदी
सबैभन्दा धेरै
नाइल-त्रिशूली
त्रिशूली-नाइल
दाजिँदै/बाडिँदै ।।
………………………………
खै र,
असक्षम म नाप जाँचमा
नमिल्लान्, त्रिशूली र नाइलका लम्बाइ
दाँज्नै नमिल्ला, अरुण र सगरका उचाइ
………………………………….
तर
प्रश्न दुखाउँछ
प्रश्न फकाउँछ…….
ठूला-साना,लामा-छोटा
हर खहरे, मूल र कूवाहरू
पानी मात्र पानीहरू…
मिल्छन्/अटाउँछन् कहाँ
(सागर मैं) ?
धर्ती र धर्तीका टुक्रा-टुक्रा
अडिन्छन् कहाँ
(धरातल मै) ??
………………………………
यहीँ
एक सत्य,
एक बोध
फुलाउँदो छ
अस्तित्वको नीलकमल…
आस्थाका
पाइला-पाइला
चुम्दो छ
विश्वासको शिखर…
निहार्दै छु भरोसा
भेट्दै छु उत्तर
मेरो भूमि
मेरो आफ्नो देश
अंकित छ
अंकित हुनै पर्छ
विश्व मानचित्रमा ।।
-हालः शंकरदेव कलेज, काठमाडौं





