ओली आउँदा पेरिसमा आपत
सन् १९५० को जुन ३ तारिखका दिन अन्नपूर्ण हिमाल चढ्ने प्रथम आरोही ९१ वर्षीय मोरिस हर्जोगलाई नेपाली दूतावास पेरिसले अस्ति अभिनन्दन गरेको छ । अक्टोबर ४ तारिख, सोमबार बेलुका सात बजेका लागि कार्यक्रम निश्चित थियो । बेलुका ६ बजेर ५० मिनेटमा हर्जोगलाई लिएर उनकी श्रीमती उपस्थित भइन् । गाडीबाट नेपाली दूतावासका दुई कर्मचारीले काँध हालेर निकाले । हिँड्न, डुल्न नसकी ओच्छ्यान परेका हर्जोगलाई काँध हालेर दूतावासभित्र भित्र्याउँदा राजदूत र पत्नी ढोकामा स्वागतका लागि तयार थिए । रातो कार्पेट बिच्छाइएको भुइँमा दुवैतिर मैनबत्ती बालेर झकिझकाउ पारिएको थियो ।
हर्जोगलाई विस्तारै उचालेर कर्मचारीले मुख्य सोफामा लगी राखे । आडैमा उनकी श्रीमती बसिन् । कार्यक्रममा सहभागी हुन नेपालस्थित फ्रान्सेली दूतावासका पुराना राजदूत, नेपालका लागि काम गरेका एक सांसद, दुईजना अवैतनिक नेपाली महावाणिज्यदूत, २००६ की पेरिस सुन्दरीलगायत उच्च पदका फ्रान्सेलीको राम्रो सहभागिता थियो ।
बेहुलीघरजस्तै वातावरणमा राजदूत मोहनकृष्ण श्रेष्ठले हर्जोगलाई सम्मान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताउँदै फूलको गुच्छा, हातले बुनेको नेपाली टोपी, पस्मिना सल र प्रधानमन्त्री माधवकुमार नेपालद्वारा हस्ताक्षरित कदरपत्र प्रदान गरे । खुसीले गद्गद् नेपालीहरूले टाढिँदै गएको नेपाल- फ्रान्स सम्बन्ध नयाँ रूपमा विकास हुन लागेको रूपमा लिए र खुसीले लामो समयसम्म ताली बजाए ।
यसपछि मोरिस हर्जोगले आफूलाई सम्मानित गरिएकोमा निकै खुसी लागेको बताए । थप बोल्न चाहेका हर्जोगले बोल्नै नसकेपछि उनकी श्रीमतीले हर्जोगले नेपाललाई हरदम माया गरिरहेको र सम्झिरहेको बताइन् । उनले बोलेपछि हर्जोगले हिमाल चढ्दा गुमेका औँलाविहीन दाहिने हात हल्लाएर नेपालीको बधाई स्वीकार गरेका थिए ।
आकस्मिक रूपमा फ्रान्स आइपुगेका एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले पूर्वपरराष्ट्रमन्त्रीका हैसियतले लगत्तै फेरि प्याकेट बन्द उपहार दिए । केपी ओलीपछि नेपालका लागि पूर्व फ्रान्सेली राजदूत फँसिस द नोयलले मोरिस हर्जोगको अन्नपूर्ण हिमाल चढ्नका लागि आफूले गरेको तयारी संस्मरण गर्दै भने- मोरिस हर्जोगपछि नेपाल- फ्रान्स सम्बन्ध अझ प्रगाढ भएको थियो ।
अन्नपूर्ण हिमाल आरोहण इतिहासमा अहिलेसम्म यी दुई जीवित पात्र बाँकी छन् । जसमध्ये हर्जोग डाँडाको जुनजस्तै छन् । यसपछि खानाका लागि हल ओपन गरिएको थियो । खाना खाइवरी हर्जोग फेरि नेपाली दूतावासका कर्मचारीको काँध चढेर ट्याक्सीमा घर फर्किएका थिए ।
ओलीका सामु झगडा
उक्त कार्यक्रममा केपी ओलीको उपस्थितिलाई लिएर राजदूत र केही नेपालीबीच राजदूत बस्ने घरको बैठकक्षमा बाझाबाझ भयो । नयाँ संविधान निर्माण नभइन्जेल फ्रान्समा नेपालको राजनीतिक दलका नेता सहभागी हुने कुनै पनि कार्यक्रममा आफू सहभागी नहुने निर्णय यहाँका नेपालीले चार महिना पहिला नै गरेका थिए । र, यसको जानकारी पेरिसस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय, राष्ट्रपतिको कार्यालय र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई समेत गराइएको थियो ।
दूतावासलाई अग्रिम जानकारी गराए पनि मोरिस हर्जोगको सम्मान कार्यक्रममा एकाएक केपी ओली देखिएको विषयलाई लिएर कार्यक्रमको अन्त्यमा राजदूत मोहनकृष्ण श्रेष्ठसमक्ष विरोध जनाउँदै छलफल गर्ने योजना थियो । छलफलपछि एक सानो विरोधपत्र केपी ओली स्वयंलाई बुझाउनका लागि राजदूतसँग समय माग्ने तयारी पनि नेपालीले गरिरहेका थिए । नेपालीहरूको तर्फबाट आफ्ना भनाइ राख्न थालेका विनोद ओझाको कुराकानी सकिन नपाउँदै राजदूतले त्यहाँको माहोल आफ्नोविरुद्ध गएको महसुस गरे । सुरुमा केपी ओली आफ्नो काममा विदेश हिँडेको र केही दिनका लागि पाहुना मात्र हुन आएको जानकारी दिँदै राजदूतले तीन महिनामा नेपाल फर्काउँछौं भनेर बाहिर बाहिर कुरा काटिएकोमा चित्त दुखाउन थालेपछि माहोल एकाएक परिवर्तन भएको थियो ।
केपी ओलीसँग प्रश्नोत्तर गर्ने र ओलीकै अगाडि आफ्ना कुरा राख्ने चाहना नेपालीहरूको थियो । पछि राजदूतपत्नीले यो कुरा यहीँ अन्त्य गरौँ भन्दै सम्झाएपछि कुरो त्यत्तिकै रोकिन पुग्यो । एकैछिन पहिला फूल र पस्मिना ओढाएर तथा प्रधानमन्त्री माधवकुमार नेपालको पत्र हस्तान्तरण गर्दा त्यहाँ उपस्थित सबैले राजदूतको कामको प्रशंसा गर्दै गड्गडाएर ताली लगाएका थिए । सम्मान कार्यक्रममा आएका फ्रान्सेली पाहुना बाहिरिन नपाउँदै सन्चो छैन भन्दै ओली पत्नीसहित शयनकक्षतिर उक्लेका थिए । यसअघिका भ्रमणमा केपी ओली सधैँ नेपाली समुदायबीच बस्ने र कुरा सुन्ने गर्थे ।
(यो समाचार आजको जनआस्था साप्ताहिकमा प्रकाशित भएको हो । यस विषयमा अझ विवेचनात्मक लेख, टिप्पणी र देखे भोगेका अनुभव आउँदै गर्ने छन् हेर्दै गर्नुहोला । साथीहरु कमेन्टहरु वास्तविक नाममा, तथ्यपूर्ण ढंगले शिष्ठतापूर्वक राख्नुहोला । गाली गलौजमा न उत्रिनुहोला । अन्यथा तपाईका प्रतिक्रियाहरु अस्विकार गरिने छ-नेपालप्लस)
(सम्बिधान नबनेसम्म नेपालबाट आउने कुनैपनि राजनीतिक दलका नेता, सभासद, मन्त्रीलाई फ्रान्समा स्वागत नगर्ने, बरु सार्वजनिक बहिस्कार गर्ने भनेर दुतावासमा बुझाइएको ज्ञापनपत्र राजदूतले मलाई जानकारी नै थिएन भन्नु भएको थियो । त्यसबारे नेपालीले ज्ञापनपत्र बुझाएको, तत्कालिन कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठले उक्त पत्र बुझ्दै गरेको तस्बिर र ज्ञापनपत्र तलको लिंकमा गएर हेर्नुस)–




