मेरो देश
-राम प्रसाद घिमिरे
मेरो देश
विना पाइलट उडिरहेको हवाइजहाज
ड्राइभर निदाएको नाइट बस
उड्दा उड्दै कतै, घोप्टे भिरमा ठोकिने हो कि
गुड्दा गुड्दै कतै, त्रिशूलीमा खस्ने हो कि
तीन करोड अभागीहरुको साझा संत्रास
खै ! कुन वेला, कहाँ, के हुने हो ?
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
मेरो देशमा
चाँदीको मुकुटमा मुस्कुराएको विश्वकै माथ
स्वाधिनताको भिख माग्दै रोइरहेको बेला
देश र जनताका विश्वासघातीहरु
परचक्रीको लालचमा लहसिँदै
शान्तिको च्यादर ओडेर
युद्धको भजन गाउने राष्ट्रघातीहरु
सल्बलाई रहेका छन् । चल्मलाई रहेका छन् ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
बिहानीपख कति नराम्रो सपना देखिएछ आज
नेपाली बन्धुहरुबीच पुनः युद्धको घोषणा,
रगतको खोला, लासको पहाड, आसुको सागर
टुहुराहरुको रोदन, विदुवाहरुको चित्कार
धाइतेहरुको छट्पटी, बाँचेकाहरुको वेदना
शोक, शंका र सन्त्रासको मौन मनोदशा
भातृत्व, अपनत्व र सद्भावको खडेरी
उफ ! विन्ति- विपनीमा यस्तो नहोस् ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
अहो ! यो सतीले सरापेको देश
कस्तो विडम्बना ! लोकतन्त्रमा लोकमतकै अपमान
चुनाव जित्न गुण्डा पाल्ने नक्चराहरुले
लाज पचाएर कानूनी राजको वकालत गर्छन् ।
देशप्रेमीहरुको कि हत्या हुन्छ कि अपमान
आकासवाणीको निर्देशनमा
युद्धपि्रय हनुमानहरुले देश चलाउँछन् ।
जनताको नाङ्गो अपमान गर्दै,
तस्करहरुको झुण्ड, सुशासनको ठेकेदार बन्छ
भ्रष्टहरुको झुण्ड, अनिमियता छानविन गर्छ ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
सधैँ एउटा डर लाग्छ, कतै
दुधका साक्षि बिरालाहरु
आाखा भएका तर दृष्टि नभएका अन्धाहरु
गिदी भएका तर गुदी नभएका विद्धानहरु
नेता भएका तर नीति नभएका मूर्खहरु
जल, जमिन, जडिबुटी र जंगल भएका
तर
कुशल शासक नभएर पिछडिएका, अभागीको
परिचय बोकेर कहिलेसम्म लडिरहने हो ???
सालझण्डी ७, रुपन्देही





