रातो राहदानी ताक्ने साहुजीको रहस्य

सरकारले आगामी वर्षका लागि नेपाल पर्यटन वर्ष २०११ घोषणा गरेको छ । यो उद्देश्य पूरा गर्न अहिले नेपालका कन्सुलर अफिस र विदेशीसित सम्बद्ध संघसंस्थालाई भ्याइ-नभ्याई हुनुपर्ने हो । तर, व्यवहारमा चाहिँ बिल्कुल यस्तो पाइन्न । पोर्चुगलका लागि नेपालमा कन्सुलर तोकिएका छन्- व्यापारी राजेन्द्र खेतान । उनी नेकपा (माले) का सभासद् पनि हुन् । तर, उनले पोर्चुगलमा नेपालको प्रवर्धन गर्ने काम त परै जाओस् नेपाल गएर उनलाई भेट्न खोजेका पोर्चुगाली नागरिकलाई समेत भेट्दैनन् । काठमाडौं कन्सुलर कार्यालयको फोन नै उठ्दैन । फोन उठिहाले पनि भेट गर्नै चाहँदैनन् भन्ने गुनासो पोर्चुगालीको छ । केही पोर्चुगालीले उनको हैसियत रद्द गर्नुपर्ने मागसमेत गरेका छन् ।

अहिलेसम्म चन्द्रमामा १२ व्यक्ति पुगिसके । तर, विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने व्यक्तिको संख्या भने जम्मा १० छ । यसैबाट पनि बुझिन्छ कि चन्द्रमा पुग्नुभन्दा पनि कठिन काम हो विश्वकै १४ अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नु । यस्ता मानिसलाई विश्वकै हिरोका रूपमा लिइन्छ, चिनिन्छ । यिनैमध्येका हुन्- जोआओ गार्सिया । उनी सडकमा कतै देखा पर्दा पनि पोर्चुगालका दर्जनौँ मानिस तत्कालै आएर बधाई दिन्छन्, हात समाउन आइपुग्छन् । तर, पोर्चुगलको कन्सुलर कार्यालय लिएर बसेका राजेन्द्र खेतानले भने यिनलाई भेटसम्म दिएनन् ।

राजधानी लिस्बनमा नेपाल र नेपालीसँग सम्बद्ध तीन घन्टा लामो बातचितका क्रममा पंक्तिकारसित उनले नेपालस्थित कन्सुलर कार्यालयले आफूले भेट्न चाहँदा पनि नभेटेको गुनासो गरे । ‘नेपाललाई प्रवर्धन गर्ने के कुरा गर्नुहुन्छ ? काठमाडौंको पोर्चुगाली कन्सुलरलाई म को हुँ भन्ने त थाहा छैन,’ गार्सियाले भने, ‘त्यसवेला म पोर्चुगलको लोकप्रिय टिभी पत्रकारसित थिएँ । ती पत्रकार राजेन्द्र खेतानको दृष्टिकोण चाहन्थे केही विषयमा । तर, पत्रकारसित बोल्न पनि उनी सक्षम भएनन् । मलाई काठमाडौंमा के सुनाए भने- उनलाई पोर्चुगल र नेपालबीचको हित प्रवर्धन गर्नु छैन । बरु कन्सुलर हुँदा पाउने कूटनीतिक पासपोर्टबाट विनारोकतोक यात्रा गर्नु मात्र उनको उद्देश्य हो ।’ परराष्ट्र मन्त्रालय गएरै म कुनै दिन मन्त्रीसित यस विषयमा कुरा उठाउनेछु,’ उनले भने ।

 त्यसो त नेपालका लागि पोर्चुगलका कन्सुलरको हालत पनि उस्तै छ । नेपालको कन्सुलर कार्यालय राजधानी सहर लिस्बनमा नभएर पोर्तो भन्ने सहरमा छ । जम्मा सातपटक मात्रै पाकिस्तान पुगे पनि आफूले सजिलैसित दुईपटकसम्म पाकिस्तानी राजदूतलाई भेटेको, तर नेपाली राजदूत र कन्सुलरलाई भने एकपटक पनि नभेटेको खुलाए । ‘म को हुँ भनेर त उनले पक्कै चिनेकी होलिन्, तर मलाई अहिलेसम्म भेटौँ भनेर निम्तो गरेकी छैनन्,’ गार्सियाले भने, ‘ सातपटक मात्रै गएको देशको राजदूतले सजिलैसित दुईपटक भेटे । तर, ३२ पटक गएको देशको कन्सुलरले चाहिँ निम्तासम्म गर्दैनन् ।

त्यस्तो गुनासो गर्ने गार्सिया एक्ला होइनन् । नेपालसम्बन्धी एउटै कार्यक्रम तीस लाखभन्दा बढी पोर्चुगाली दर्शकसम्म पुर्‍याउने एसआइसी टिभीका पत्रकार ओरेलियो फारियाको अनुभव पनि उस्तै छ । काठमाडौंस्थित पोर्चुगाली कन्सुलर राजेन्द्र खेतानले नेपाल र पोर्चुगालीको हितका लागि कुनै काम नगरेको गुनासो उनले पोखे । फारिया पोर्चुगलमा नेपालबारे जानकार पत्रकारका रूपमा चिनिन्छन् । ‘पोर्चुगलको कन्सुलर भएर बसेपछि नेपाल र पोर्चुगाली नागरिकलाई निकट बनाउनुपर्ने हो । दुई देशको व्यापारिक, सांस्कृतिक र अन्य हितका लागि काम गर्नुपर्ने हो । तर, उनी पोर्चुगाली कन्सुलर भएर बोकेको कूटनीतिक पासपोर्ट आफ्नो व्यापारका लागि प्रयोग गर्छन् । उनबाट नेपाल र पोर्चुगालका लागि कुनै पनि काम भएको छैन ।

‘दुवै देशका कन्सुलरले दुई देशका लागि कुनै पनि काम गरेका छैनन् । तिनले भिसा दिने, सिफारिस गर्ने भन्दै पैसा असुल्छन् । कूटनीतिक पासपोर्ट र पहुँच प्रयोग गरेर आफ्नो व्यापार मात्रै गरेका छन्,’ फारियाले आरोप लगाए । आफूलाई राष्ट्रको हिरोका रूपमा दाबी नगरे पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बर्सेनि सयौँ पर्यटक नेपाल पठाउँछन्, गार्सिया । लाखौँले चिन्छन्, उनलाई । उनले नेपालमा हिमाल आरोहण गरेपछि पोर्चुगाली नेपाल जाने क्रम बढेको छ ।

– ददि सापकोटा, पोर्चुगलबाट

(आज वर्ष १६, अंक २८, ३० भदौ २०६७ का दिन जनआस्था साप्ताहिकमा प्रकाशित)

तपाइँको प्रतिक्रिया