एकै बगैंचाको दुई गुलाफ

-विद्या सापकोटा 

चौघेरो उही

काख-पोल्टो एउटै

अथाह प्रेम र स्नेहबीच

रगमगाउँदैं/खितखिताउँदैं

हुर्किदैं-बढ्दै

मातक /सार्थक दुई शैशव ।। 

बढ्दो लाली, चढ्दो यौवन

खुल्दोथ्यो सौन्दर्य, 

………………… 

झुल्किदियो बसन्त

कस्सिए (ती), रीतको फेरोमा

निस्सासिए, मायाको भोकमा

अन्ततः

छुट्टिए/टुक्रिए/हुत्तिए पर-पर ।। 

………………… 

फक्रने बहानामा

दौडाइएको/दौडेकी

(एउटी)

खूव रमाई /रौसिई/विलाई

(सु)बासनाको महलभित्र 

…………………………. 

अलिकति बिडम्बना,

गोधुलीको अलच्छिनी कूचोमा

लत्पतिए रङ्ग, हराए राग 

……………………… 

झट्ट,

कल्पदै बबचना, सम्झँदै संगी

ओइलिदैं/पहेलिदैं/मुर्झाउँदैं

फुत्किई चुसाइको सीमाबाहिर ।। 

दुःखद संयोग,

समानान्तर उमेर

समानान्तर भोगाइ

समानान्तर नियती 

……………………..

 प्रफुल्ल विहानीमा

लाभ्रे कीराले

ढकमक्क/छपक्क

पहेंला गुलाफहरु ।।

-हालः शंकरदेव कलेज, काठमाडौं

तपाइँको प्रतिक्रिया