हामी फुटबल हौं
डा लेखनाथ काफ्ले / ताइपेइ, ताइवान
हामी क्यारेम बोर्डका गोटी हौं
विबेक, आत्म-निर्णय र स्वतन्त्रता खोसिएका
भूपीले भनेथे ।
व्यवस्थाहरू र समय परिवर्तन सँगै
हामीले प्रगति गरेछौं
हामी
क्यारेम बोर्डका गोटीबाट फुटबल भएछौं ।
————————————–
फुटबल,
गतिमा हुँदा जीवन्त हुन्छ
तर
छिटो वा सुस्त
दायाँ वा बायाँ
ओल्तिर वा पल्तिर
सबै कृया
बलले होइन खेलाडीले निधो गर्छन् र ठोक्छन् ड्याम्म ।
————————————–
हामीहरू,
तीन करोड टाउकाहरु, फुटबल बनाइएर
कहिले दक्षिण तिरको पोस्टमा
त
कहिले उत्तर तिरको मैदानमा घुमाइन्छौ फनफन्त्ति ।
जति गुडे पनि
जति उडे पनि
फ्री किक, कर्नर र पेनाल्टी नै पनि
अरूकै गोल बढाउन
हामी ठोकिन्छौ
नापी-नापी, तौलि-तौलि, यो वा उसको लातले
हाम्रो आफ्नै दिशा, अवस्थिति र सीमा हुँदैन ।
समग्रमा हाम्रो नियति, पक्ष-विपक्षका टाउकाहरुको सनकले निर्धारण गर्दछ ।
फाउल, पहेँलो वा रातो कार्डले
हामीलाई कुनै फरक पार्दैन
फरक त
लातको जोरले पार्छ
कता पुगेर बजारिनु पर्ने हो, त्यसले पार्छ ।
————————————–
हामी
थाक्छौ, कमजोर हुन्छौं, च्यातिन्छौं
काम नै नलाग्ने भएपछि
नयाँ रूपमा फेरी आउँछौ ।
जे जस्तो रूपमा होस्
हाम्रो अन्तिम नियति
अरूको लात द्वारा उत्तर वा दक्षिण पुग्नु मै छ ।
किनकी
हामी
जमिन भाग लगाएर खेलिने खेलको साधन हौं ।
हामी साँच्चिकै फुटबल हौं ।
————————————–
यी तीन करोड टाउकाहरुको
निःशुल्क फुटबल खेल्छन्
अरबौ लातहरूले
छानी-छानी ठोक्छन्, बजार्छन् ।
हामी उछिट्टिनु, ठोक्किनु र उफ्रिनुको पिडा
अरूलाई के थाहा ?
किन कि हामीलाई नै पत्तो छैन
हामी किन र कसका लागी चोट खाँदैछौ ।
हैन, हामी खेलाडी बन्ने कि बल ?
एक दिन
हामीले पनि ती ताता मैदान र चिसा पोस्टहरूमा
अवस्य एउटा गह्रुंगो गोल गर्ने छौं, ड्याम्म
बरु
त्यो दिन कहिले आउला ?
म झर्ने ताराहरू गनेर बस्दै छु त्यही दिनको पर्खाइमा ।




