हामी फुटबल हौं

डा लेखनाथ काफ्ले / ताइपेइ, ताइवान    

 हामी क्यारेम बोर्डका गोटी हौं

विबेक, आत्म-निर्णय र स्वतन्त्रता खोसिएका

भूपीले भनेथे ।

व्यवस्थाहरू र समय परिवर्तन सँगै

हामीले प्रगति गरेछौं

हामी

क्यारेम बोर्डका गोटीबाट फुटबल भएछौं ।

————————————–

फुटबल,

गतिमा हुँदा जीवन्त हुन्छ

तर

छिटो वा सुस्त

दायाँ वा बायाँ

ओल्तिर वा पल्तिर

सबै कृया

बलले होइन खेलाडीले निधो गर्छन् र ठोक्छन् ड्याम्म ।

————————————–

हामीहरू,

तीन करोड टाउकाहरु, फुटबल बनाइएर

कहिले दक्षिण तिरको पोस्टमा 

कहिले उत्तर तिरको मैदानमा घुमाइन्छौ फनफन्त्ति ।

जति गुडे पनि

जति उडे पनि

फ्री किक, कर्नर र पेनाल्टी नै पनि

अरूकै गोल बढाउन

हामी ठोकिन्छौ

नापी-नापी, तौलि-तौलि, यो वा उसको लातले

हाम्रो आफ्नै दिशा, अवस्थिति र सीमा हुँदैन ।

समग्रमा हाम्रो नियति, पक्ष-विपक्षका टाउकाहरुको सनकले निर्धारण गर्दछ ।

फाउल, पहेँलो वा रातो कार्डले

हामीलाई कुनै फरक पार्दैन

फरक त

लातको जोरले पार्छ

कता पुगेर बजारिनु पर्ने हो, त्यसले पार्छ । 

————————————– 

हामी

थाक्छौ, कमजोर हुन्छौं, च्यातिन्छौं

काम नै नलाग्ने भएपछि

नयाँ रूपमा फेरी आउँछौ ।

जे जस्तो रूपमा होस्

हाम्रो अन्तिम नियति

अरूको लात द्वारा उत्तर वा दक्षिण पुग्नु मै छ ।

किनकी

हामी

जमिन भाग लगाएर खेलिने खेलको साधन हौं ।

हामी साँच्चिकै फुटबल हौं ।

————————————–

यी तीन करोड टाउकाहरुको

निःशुल्क फुटबल खेल्छन्

अरबौ लातहरूले

छानी-छानी ठोक्छन्, बजार्छन् । 

हामी उछिट्टिनु, ठोक्किनु र उफ्रिनुको पिडा

अरूलाई के थाहा ?

किन कि हामीलाई नै पत्तो छैन

हामी किन र कसका लागी चोट खाँदैछौ ।

हैन, हामी खेलाडी बन्ने कि बल ?

एक दिन

हामीले पनि ती ताता मैदान र चिसा पोस्टहरूमा

अवस्य एउटा गह्रुंगो गोल गर्ने छौं, ड्याम्म

बरु

त्यो दिन कहिले आउला ?

म झर्ने ताराहरू गनेर बस्दै छु त्यही दिनको पर्खाइमा ।

तपाइँको प्रतिक्रिया