कठै मेरो जुनी
–केशव पुन
बाउ बाजेको विंडो थाम्न परदेश आएँ
बिरानो यो मुलुकमा खानु हन्डर खाएँ
सुख पाउला भन्ने थियो पाउनु दु:ख पाएँ
मनको लड्डु घ्यू सँग खानु सम्म खाएँ ।
खल्ती खाली हुन थाल्यो काम पाउने हैन
काम पनि पाउँछु पाउन्न केही ठेगान छैन
कतै काम पाइएला कि भन्ने आशा पनि
उडाएर लैजादैछ चैते हूरी बनि ।
कल्पनाको महल मेरो आकाश छुँदै थियो
एकै झड्का भुइँचालोले भष्मै बनाइदियो
स्वदेश फर्कि जानु पनि लाजै मर्नु भा,छ
लाहुरे हुन्छु भन्दाखेरी खेतबारी गा,छ ।
आफन्त नि पराइ जस्ता हुँदा रै,छन यहाँ
मुखले साथी भन्दा रै,छन मनले त कहाँ
साँचो कुरो बेग्लै रै,छ जस्तो मैले सोंचे
हराएको नेपालीपन ब्यर्थ मैले खोंजे ।
दोबाटोमा पछारिदा मज्जासँग जब
बन्द आँखा खुले पनि के गर्नु र अब
न त शान्ति पाएँ मैले न त पाएँ धन
गर्नु गल्ती गरिएछ थामिएन मन ।
स्वदेशमै केही गर्न नखोज्या त हैन
छेउकै साथी महलमा मनमा शान्ति भै,न
ठूलो भागमा आँखा लाउँदा भाको यस्तो सबै
वालुवाको विरुवा भो मेरो जुनी कठै !!
कुँहु-७ (म्याग्दी )
हाल, जापान