मलाई माफ गर !!!
अनुकुल प्रकाश, चितवन
बिद्या !!!!
तिम्रा स्वप्निल गगनचुम्मी इच्छा अनी आकांक्षाहरुसँग
मेरा वास्तविक झिना-मसिना आवश्यकताहरु
आफ्नो जीवनको वहीखातामा मिलाउनै सकिन,
तिमीलाई नै त, आफ्ना छरपस्ट छरिएका,
सपना अनी कल्पनाका पत्रहरु सँगाल्न भ्याइ-नभ्याइ थियो
त्यसैले तिमीलाई जीवनभर अगाल्ननै सकिन !!
मलाई माफ गर !!!
तिमी हर समय छुट्टै संसारमा हुन्थ्यौ
तर म वास्तविक नितान्त वास्तविक
खचा-खच भिडले भरिएको संसारमा
आफ्नो भोली नियालि रहेको हुन्थेँ ||
तिमी मसँग हुनु म तिमीसँग हुनु
आकाश- जमिनको मिलन थियो !!!
त्यसैले तिमीलाई जीवनभर अँगाल्ननै सकिन !!
मलाई माफ गर !!!
हो ! कुनै पल यस्ता पनि आए,
जब तिमी झस्केर व्युँझिन्थ्यौ….
सपना र कल्पनाका आफ्ना उडानहरु
केही क्षणको लागि अवतरण गर्थ्यौ
र हाम्रो मिलन घनिभुत हुन्थ्यो
म हर्षले गद् गद हुन्थेँ तिम्रो समिप
तर मेरो खुशी पानीका फोका जस्तै
तिमी फेरी आफ्नो उडान भरिहाल्थ्यौ
म हुन्थें एक्लो नितान्त एक्लो बस एक्लो
आफ्नै वास्तविकतामा रनभुल्ल !!!
त्यसैले तिमीलाई जीवनभर अँगाल्ननै सकिन !!
मलाई माफ गर !!!!
म अली स्वार्थी मान्छे बिद्या !!!
टुक्रा टुक्रा तिमीले दिएका खुशीहरुमा
बाँच्न सकिन ! हाँस्न सकिन !
सपना अनी कल्पनामा जिवन साट्न सकिन
मलाई वास्तविकताको खाँचो थियो
त्यसैले, तिमीलाई जीवनभर अगाल्ननै सकिन !!
मलाई माफ गर !!!