रहस्यको अर्थ

-राम प्रसाद घिमिरे / सालझण्डी-७, रुपन्देही

माइक्रोसफ्ट कम्पनीको वरिष्ठ मेनेजर

पद, प्रतिष्ठा र प्रियसी छाडेर

सुख खोज्दै बाहुनडाँडासम्म आउनुको राज ?

सेवा रोपेर सन्तुष्टि फलाउने ज्ञान ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

मरुभूमिमा तिर्खाले छटपटिएका राजाले

वैभवशाली विशाल राज्य

एक गिलास पानीसँग साटिएको अर्थ ?

ब्यत्ति वा बस्तुको आ-आफ्नै महत्व ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

सदियौ देखिको भव्य दरवारमा सुरक्षित

अरबौं दौलतको प्रतिष्ठित परिवार

मध्यरातमा एक चिहान हुनुको रहस्य ?

दौलत र प्रतिष्ठाको चरम मोह ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

सानैमा पोलियोको शिकार भएकी महिला

सपाङ्ग संगको ओलम्पिक प्रतिष्पर्धामा 

स्वर्ण पदककी धाविका बन्नुको परिणाम ?

दृढ संकल्प, दृढ अभ्यास, दृढ विश्वास ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

आजीवन एकाकारको आशिर्वाद माग्दै

अपलक प्रार्थना गरिरहेकी प्रेमिकालाई

मंन्दिर भित्रै हत्यागर्ने कलङ्कको कारण ?

धर्म र धार्मिकताको निरन्तर विनास ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

घनघोर गरिबीको भार थेग्न नसकेर

पुरै परिवारको सामुहिक आत्महत्या

राष्ट्रिय समाचारमा छाइरहनुको नतिजा ?

राज्य विहीनताको चरम पराकाष्ठा ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

तारे होटलहरुमा बालदिवस मनाईरहँदा

मक्किएर फ्याँकिएको औषधीको थुप्रोमाथी

उपचार नपाएर मरेको बालकको लास ?

एक्काइसौं सताब्दीको मानव अधिकार ।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

नेपाली झण्डा उचाल्दै राष्ट्रगान गाइरहँदा

खाँटी देशभक्त हुन दौरा सुर्वाल लाइरहँदा

विदेशीको गोटी बनेर राष्ट्रघात गर्नुको अर्थ

पद-पैसाको पर्याय पुँजीवादको अन्तिम पराजय ।

तपाइँको प्रतिक्रिया