शिक्षा र स्वास्थ्यका लागि अमेरिका पढ्ने युवाको पहल
-रामहरि ओझा / सिलगढी, डोटी
एक युवा, एक विद्यार्थी जो अमेरिका जस्तो बिकसित देशको सुविधा सम्पन्न कलेजमा अध्ययनरत छ त्यसले डोटी जस्तो बिकट ठाउँका बालबालिकाहरूको समस्याको खोजी गरे । उनको यो भावनाले आफूलाई समाजसेवी भन्ने नेपालीहरूले पनि पाठ सिक्नु पर्ने देखिन्छ ।
डोटी जिल्ला पुर्ख्यौली घर भएपनि काठमाण्डौंमा जन्मिएका २१ वर्षीय आदित्य महरा अमेरिकाको रोलिन्स कलेजमा स्नातक तहका विद्यार्थी हुन । आफू अमेरिकाको कलेजमा प्रवेश गरेदेखि नै डोटी जिल्लाका बालबालिकाहरूको समस्या समाधान गर्नका लागि योजना बनाउन थाले । उनको यो योजनालाई सोही कलेजका विद्यार्थी राघवेन्द्र के.सी र अन्य विद्यार्थीहरूले सहयोग गरे ।
विद्यार्थी मात्र नभई त्यस कलेजका प्राध्यापकहरूले पनि आदित्यलाई सहयोग गरे । करिब डेढ वर्षको प्रयत्नपछि सोमवार आदित्य डोटी जिल्लाका दुई विद्यालयहरूलाई सहयोग गर्न सफल भए । डोटी जिल्ला सदरमुकाममा रहेका पद्म पब्लिक मुक्ति नारायण उच्च माविलाई दुई कम्प्युटर, शौचालय निर्माण, खेल सामग्री र खानेपानीको फिल्टर सहितका ट्याङ्कहरू एक कार्यक्रमका बिचमा आदित्य र उनका साथीहरूले हस्तान्तरण गरे ।
सगरमाथा स्वास्थ्य प्रतिष्ठानको आयोजनामा डोटीको सिलगढीमा आयोजना गरिएको कार्यक्रममा बालमन्दिर प्राथमिक विद्यालयका बालबालिकाहरूलाई एक वर्षसम्म पुग्ने स्टेशनरी, दुई जोर लुगा, झोला, विद्यालयका लागि डिजिटल क्यामेरा, खेल सामग्री लगायतका सामग्रीहरू हस्तान्तरण गरियो ।
कहाँबाट आयो यस्तो प्रेरणा तपाईलाई ? युवक आदित्य महरा भन्छन् – मेरो बुवा र हजुरबुवाको समाजसेवी प्रेरणाबाट नै मैले पनि पाठ सिकेको हुँ । दुई वर्ष अगाडी आफू सुदुरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको भ्रमणका क्रममा जाँदा खेरी डोटीका थुप्रै समस्याहरू देखेको र त्यहीबाट यस क्षेत्रका लागि केही गर्नु पर्छ भन्ने भावना पलाएको आदित्य वताउछन । आदित्यका बुवा दीपक महरा काठमाण्डौं शिक्षण अस्पतालका विशेषज्ञ डाक्टर हुन ।
रोलिन्स कलेजमा रहेको “मेकिङ्ग लाईभ्स बेटर” नामक संस्थाको अध्यक्ष समेत रहेका आदित्य भन्छन – यस जिल्लाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा हामी निरन्तर सहयोग गर्ने प्रयासमा छौं त्यसका लागि यहाँको समुदायको सहयोगको पनि अपेक्षा गरेका छौं । आदित्यका साथी एवं “मेकिङ्ग लाईभ्स बेटर” का उपाध्यक्ष राघबेन्द्र के.सीले पनि डोटी जिल्लाको शिक्षा र स्वास्थ्यको विकासमा चासो देखाए । के.सीले भने – अर्को वर्ष डोटी जिल्लाका सम्पूर्ण विद्यालयमा खानेपानीको व्यवस्था गर्नका लागि सहयोग गर्ने योजना बनाएका छौं । हामी अझै यस जिल्लामा एक हप्ता जति बस्छौं, यो अवधिमा कुनै महत्वपूर्ण समस्या अगाडी आयो र समुदायका मानिसहरूले चासो देखाए भने हामी त्यसका लागि पनि योजना बनाउने छौं ।
सगरमाथा स्वास्थ्य प्रतिष्ठानको आयोजनामा र रोलिन्स कलेजको सहयोगमा डोटी जिल्ला अस्पतालमा सोमवार देखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विशेषतः नाक र कानको समस्या भएका बालबालिकाहरूलाई लक्षित गरि यो शिविर सञ्चालन गरिएको भएपनि शिविरमा अन्य रोगका बिरामीहरूको उपचार गरिने सगरमाथा स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष डा दीपक महराले जानकारी दिए ।
(यस्ता समाजिक हितका समाचार नेपालप्लसको प्राथमिकतामा पर्छन् । खोजि खोजि पठाउनुहोला तस्विर सहित-नेपालप्लस) ।




