अव्यक्त प्रेम पीडा
–विद्या सापकोटा “निर्जला”
म कल्पनामा उडिरहेको थिएँ
मसँग चाहानाका उत्माद थिएँ
सपना र चंचलताका बहाब थिए
एक्कासी कतैबाट,
ऊ मृदु–मुस्कान लिएर आयो
आखाँ आँखा जुधिरहे
मलाइ मुक बनाएर गयो
आकांक्षामा रुझाएर गयो ।।
अनाहकमै प्रतिक्षाले डेरा जमायो,
मसँग छुट्टिँदाको पीडा थिए
आँखा रुझाइको तिक्तता थिए
र पनि विश्वासको ढुकढुकी थियो ।।
ऊ फेरी तृष्णा बोकेर आयो,
उसका सजल नेत्रले प्रश्न गरे
मैले केहि सुनाउनै सकिन
ऊ चाहानाको प्याला पिलाएर गयो
प्रतिक्षाको ढुकढुकी अझ बढाएर गयो ।।
मेरो प्रतिक्षा रोकिएन,
ऊ पटक–पटक आइरह्यो र गइरह्योपनि
मभित्र प्रश्नका चाङ चुलिँदै थिए
समाजका औंला ठडिदैं थिए
प्राप्तिको व्याग्रतामा म जल्दै थिएँ
म मदहोशीले बोल्नै सकिन ।।
मेरो प्राथना टुटेन,
म व्यग्र प्रतिक्षामा थिएँ
यसपटक मसँग आँट थियो
समाजसँग लड्ने शक्ति थियो
उसलाइ सुनाउन हजार कुरा थिए
म प्राप्तिको कल्पनामा पुलङ्गति थिएँ ।।
मेरो मृगतृष्णा ऊ,
आयो, साँच्चै आयो
म बोल्नै आँटेको थिएँ
ढुकढुकि सुनाउनै लागेको थिएँ
तर……तर यसपटक ऊ,
आँधि बोकेर आयो
तुफान बनेर आयो
पराइ अंगालोमा कसिएर पो आयो
मसँग केहि बाँकि रहेन
मलाइ उठ्नै नसक्ने गरी चिप्ल्याएर गयो
म हेरेको हे–यै भएँ ।।
कल्याणपुर-७, नुवाकोट
(हाल-शंकरदेव क्याम्पस MBS)