मधेशी-माओवादी गठबन्धन, माओवादीभित्रै विरोध
एनेकपा माओवादी र मधेशी मोर्चाबिच गठबन्धन हुने भएको छ । यो गठबन्धन निकट पुगेको काठमाडौंबाट नेपालप्लस स्रोतले जानकारी दियो । स्रोतका अनुसार माओवादीले मधेशी मोर्चाले राखेका कडा शर्तहरु स्विकार गर्न राजी देखिएपछि उक्त गठबन्धन बन्न लागेको हो । मधेशी मोर्चाले राखेका शर्तमा प्रमुखरुपमा, मधेशीहरुलाई समूहगत रूपमा राष्ट्रिय सेनामा प्रवेश गराउनु पर्ने, समग्र प्रदेश एक स्वायत्त प्रदेश स्विकार गर्नु पर्ने र राज्य पूनर्संरचना बनाउन नपाइने भन्ने छ । मधेशी मोर्चाले ती शर्तहरु मानेर लिखित सम्झौता नै गर्नु पर्ने शर्त राखेका छन् । शर्तमा यदि मधेशी मोर्चाका ती माग पूरा नगरे कुनैपनि बेला सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार भंग गर्न सकिने भन्ने पनि छ । तर त्यो गठबन्धन राष्ट्रका लागि घातक हुने, राष्ट्र टुक्र्याउन सक्ने र माओवादी पार्टी पतन हुने भन्दै माओवादी भित्रैबाट विरोध समेत भएको छ ।
त्यसको विरुद्धमा प्रचण्डका निकट रहँदै आएका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र डा बाबुराम भट्टराई, पोलिटब्युरो सदस्य नेत्रबिक्रम चन्द, मोहन वैद्य ‘किरण’ लगायतका शक्तिशाली नेताहरू रहेका छन् । उता माओवादीका अध्यक्ष प्रचण्ड भने मधेशी शर्तलाई मानेर जसरीपनि आफ्नै नेत्रित्वमा सरकार बनाउने पक्षमा गएका छन् । गठबन्धनको विरोधमा लाग्नेहरुले पार्टीमा तीव्र छलफल गराएर मात्रै स्विकार गरिनु पर्ने तर्क गरेका छन् ।
नारायणकाजी श्रेष्ठले यस्ता कडा शर्त राखेर सरकार बनाउँदा पार्टी अध्यक्ष प्रचण्डको बचेखुचेको साखपनि गिर्ने र त्यसले समग्ररुपमा पार्टीलाई नै खत्तम बनाउँछ भन्दै चिन्ता व्यक्त गरेका छन् । श्रेष्ठले त्यस्तो शर्त मानेर सरकार बनाउन नदिन अहिले पार्टीमा तीव्र छलफल चलाउन लागेका छन् । हिजो दिनभरि पनि उनी त्यसैको लागि व्यस्त रहेका थिए । उनी ‘लौन प्रचण्डलाई यस्तो शर्त मानेर सरकार बनाउन दिन रोक्नु पर्यो’ भन्दै निकटका केही पत्रकारहरू समक्ष गुनासो पोख्न पुगेका थिए ।
श्रेष्ठले मधेशी मोर्चाले अहिले राखेका कडा शर्त भारतीय मिलोमतोमा ल्याएको र मोर्चा मार्फत भारतले मधेश टुक्र्याउन खोजेको, भारतीय हस्तक्षेप माओवादी समर्थनमै झन् नांगो रूपमा भित्र्याउन खोजेको भन्दै त्यसलाई कुनैपनि हालतमा स्विकार गर्न नहुने तर्क राखेका छन् ।
मधेशी मोर्चाका कडा शर्त मानेर सरकार बनाएपनि तिनलाई विश्वास गर्न नसकिने, दीर्घकालीन नहुने र तिनले कुनैपनि बेला समर्थन फिर्ता लीन सक्ने हुनाले तिनका शर्त मान्न नहुने भन्दै तिनले सरकार बनाउन नहुने अडान राखेका हुन् । मधेशी मोर्चासित मिलेर सरकार बनाउँदा एमाले र नेपाली कांग्रेस संसद बाहिर रहने, प्रतिपक्षी बलियो हुनालेपनि सरकार टिक्न नसक्ने, गणतन्त्रवादीहरू कमजोर बन्ने, प्रतिक्रियावादीहरू झन् बलियो बन्ने, ठूला दललाई बाहिर राख्दा संविधान बनाउनपनि सहज नहुने र बनिहालेपनि त्यस्तो सरकार अलोकप्रिय हुने भन्दै त्यसलाई घातक कदम भनेका छन् ।




