राष्ट्रिय सहमतीकालागि खनालको सकारात्मक प्रयास
नेपाली कांग्रेस र एनेकपा माओवादीले आआफ्नै प्रधानमन्त्री चुन्न दौडधूप गरिरहेका छन् । भोट माग्ने क्रममा प्रचण्ड राप्रपा नेपालका नेता सूर्यबहादुर थापा सम्म पुगे । उनले अन्य सबै खाले साना दलसितपनि भेटेरै भोट मागे । नेपाली कांग्रेसलेपनि भएजति सबै दलसित आफ्नै दलका नेतालाई जिताउन मत मागे । तर आफ्नै पार्टीको छिर्की लागेर बुधवार प्रधानमन्त्री बन्न नसकेका झलनाथ खनाल अहिले सहमतीकोलागि दौडिरहेका छन् । यो सकारात्मक पक्ष हो ।
किनभने कुनै नाटकीय परिवर्तन भएन भने आज हुने मतदानमापनि कुनै पार्टीको स्पष्ठ बहुमत आउने स्थिति बनेको छैन । साना दलहरू कुनैपनि पार्टीलाई मत दिने पक्षमा छैनन् । मधेशवादी दलहरू मधेश टुक्र्याउने सहमति नगरेसम्म मत नदिने पक्षमा दाउ हेरेर बसेका छन् । प्रमुख पार्टीको मतभिन्नतामा लडिरहेका बेला आफ्नो मतलाई उनीहरू धमिलो पानीमा माछा मार्ने जालका रूपमा प्रयोग गर्न खोजिरहेका छन् ।
अहिले आम नेपाली आकांक्षा भनेको चित्त बुझ्दो ढंगले विगतमा भएका सहमति अनुसार जनसेनाको थान्को लगाउने । तिन प्रमुख दलहरू मिल्ने । सहमतिमै सरकार बनाउने र नयाँ संविधान बनाउने । तर अहिले प्रमुख दलहरुनै विगतमा पञ्चायतको प्रिष्ठपोषण गरेका, नेपाली जनतालाई दशकौं तानाशाहहरूको पञ्जामा राखेका र देश टुक्र्याउन दाउ हेरेर बसेकाहरुको दैला दैलामा मत माग्न गएर जनताको उपहास गरिरहेका छन् । त्यसले प्रजातन्त्र फस्टाउँदैन बरु झन कमजोर बनाइरहेको छ । प्रतिक्रियावादी, बिखण्डनवादी र पञ्चायती व्यवस्थाका खम्बाहरूलाई नै बलियो बनाइरहेको छ । प्रजातान्त्रिक दलहरूलाई नै कमजोर पारिरहेको छ ।
प्रधानमन्त्री पदका लागि भोलिपनि बुधवार जस्तै दलहरू तानातानको अवस्थामा रहने तर कसैकोपनि बहुमत आउने अवस्था छैन । पटक पटक हुने यस्तो निर्वाचनले विदेशी चलखेललाई झन बढाउँछ । सभासद् र पार्टीहरू किनबेच गरेरै भएपनि निर्वाचन जित्ने विगतको घ्रिणित खेललाई दोहोर्याएर गणतन्त्रलाई पत्रु बनाउँछ ।
अहिले देशका समस्या कुनै एक दलले नेत्रित्व गरेर समाधान हुन सक्दैन । एक्लो दलको सरकारलाई सफल हुनपनि दिँदैनन् । त्यसैले झलनाथ खनालले भोलि हुने निर्वाचनलाई मुलुकको लागि दुर्घटना भनेका छन् । साँच्चै यो दूर्घटनानै हो । उनले नेपाली कांग्रेस र एनेकपा माओवादीलाई प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको सरकारकालागि आव्हान गरेका छन् । बिगतमा उनको भूमिका जे जस्तो रहेपनि अहिले उनले सहमतिका लागि गरेको प्रयास प्रशंसनीय मान्नुपर्छ । ढिलै भएपनि नेकपा एमालेका अध्यक्ष खनालको यो प्रयास, बुझाई र गम्भीरता स्वागतयोग्य छ । प्रशंसनीय छ । अझैपनि त्यसलाई लत्याएर एमालेसित उल्टो मत माग्ने, निर्वाचनमै जान्छौं भनेर माओवादी र कांग्रेसले बाह्रै टक्का नगरुन् ।




