झोला

 -विद्या सापकोटा

सपनाको खोजीमा

रम्दै रमाउँदै

गाउँ छिचोलेर

निस्केको एउटा झोला

आइपुगेको छ, मान्छेको बस्तीभन्दा पर

जहाँ मान्छे कम, रोवर्ट बस्छन् ।।

 °°°°°°°°°°°°°°°°°°°°°

देखिरहेको छु म,

मिर्मिरेको झुल्को

कलिलो बालक घामसँगै

सपनाका नागबेली ओढेर

त्यो निस्किरहन्छ/हिँडिरहन्छ

एउटा नादान मान्छेको काँध चढेर ।।

  °°°°°°°°°°°°°°°°°°°°°

मृगतृष्णा

पाइतालामा बोकेर……….

सानो गोरेटो,

गाउँखर्क

देउराली

छोडेर आएको

त्यो कसैको आस्थाको भारी

विश्वासको परिधि

सपनाको कोदाली

भविष्यको दर्पण

हिँडिरहन्छ /दौडिरहन्छ

सडक नाप्दै, पाइला गन्दै……..

गल्लीदेखि आलिशान महलसम्म

भित्ते अक्षरदेखि

अखबारका प्रत्येक विज्ञापनसँग ।।

  °°°°°°°°°°°°°°°°°°°°° 

अनि फर्किरहन्छ समसाँझै,

कतै विसिइने चाहना भुले जस्तै

परिधि नाघ्न नसकेको पीडा

विवशताको भारी

विवशताकै काँध

हराएका सपना

बिर्सिएका पाइतालाका डोबहरू

गन्दै, पछ्याउँदै

निरीह/थकित/चकित ।।

  °°°°°°°°°°°°°°°°°°°°°

सायद ,

यो शहरले उसलाई चिनेन

वा उसले शहरलाई …

देख्नेहरु हाँस्छन्, ऊ झोला छाड्दैन

म कुँडिन्छु, झोलाले उसलाई छाड्दैन ।।

  °°°°°°°°°°°°°°°°°°°°°

एउटा प्रश्न खडि्करहन्छ,

पर्खाइको यो देउराली

अग्लिनेक्रम कहिलेसम्म ??

रसाउन सक्थ्यो पहरा

सम्याउन सक्थ्यो पहाड

साहसी त्यो ज्वालामुखी

निस्तेजीकरण

कहिलेसम्म ???????????????

हाल : शंकरदेव कलेज, काठमाडौं

तपाइँको प्रतिक्रिया