नितुलाई पत्र (भाग -१ )

-तिर्थराज पाण्डेय / अमेरिका

प्यारी नितु समधुर नमस्कार !!

हुन त अतीत बिना को जीवनको के नै अर्थ छ र ? अनि हाँसो बिनाको यौवनमा के नै मजा छ र ? तर किन हो किन त्यो अतीत अनि त्यो हाँसोले गोदावरीका चौरहरू र असनको गल्लीमा तिमि र मलाई रुमल्यो र अनन्त गुणा गहिरो सागरमा धकेल्यो जहाँ केवल तिमि र तिम्रो नाम को पवन थियो । नयाँ संसारको नयाँ बाटोमा पल प्रतिपल म नौलो बटुवा बन्दै दगुरिरहें । केवल तिम्रो छाँयामा । तिम्रो ममतामा ! मैले तिम्रो खुसीको संसार नाप्ने कुनै यन्त्र भेट्टाइन । जे होस तिमी अति प्रसन्न थियौ हर पल मेरो मायामा । त्यसैले त निर्धक्कताका साथ तिमि मलाई तिम्रो घरमा लैजान्थ्यौ र सोध्थ्यौ- भित्ता माथि सजाइएको हाम्रो तस्विर…. तिमि भन्दा मै राम्री !!

त्यो अति प्यारो समयको आहुतिमा हाम्रो यात्रा अघि बढीरह्यो । र म सोच्थें – संसारको सबै भन्दा खुसी जोडी हाम्रो नै हुनुपर्छ । तिम्रो छाँयामा म लुक्न पाउँदाको त्यो क्षण अनि तिम्रो पवित्र हाँसोमा भएको त्यो मादको वर्णन गर्ने शब्द मसँग छैन । तर पनि ती अतीतका आहुतिहरूले मलाई पत्र लेख्न आज बाध्य बनायो ।

प्रेम र धर्मको सिमा हुँदैन । तर पनि तिम्रो र मेरो प्रेमको बीचमा सिमा कोरियो । त्यो सिमा जसको मैले कल्पनासम्म पनि गरेको थिइन । बाध्यता भनुँ की विवशता; तिमि बिनाको मेरो जीवन सुन्य भयो । र पनि बाँच्दै थिएँ । लामो समय पछि त्यो ठूलो गगनचुम्बी महलको ढोकामा तिम्रो जस्तै छाँया देखे म झस्किएँ र सम्झिएँ । हो तिम्रो र मेरो प्रेमको बीचमा रेखा कोरी दिने त्यो डी वि चिट्टा परेपछि तिमि अमेरिका तिर हानिएकी थियौ ।

हुन सक्छ यो छाँया तिम्रै पनि हुन सक्छ …. यो अथाह सागरमा मेरी अतीत, मेरी नितु नभन्दै म हेर्दा हेर्दै तिमीसित नजिकिन पुगेँ । नियाली रहेँ । तिमि कसैको अँगालोमा बाँधिएर हिँड्दै थियौ अलौकिक रङ्गमा रंगीएर । अनि नौलो संसारमा करिब एक दशक पछिको हाम्रो मिलन !!!!!!

तपाइँको प्रतिक्रिया