विदेशी गुप्तचरलाई सँगै राखेर तिन दलको बैठक
नारा र भाषण गर्दैमा चोखो हुने भए सबै हुँदा हुन् । अरूलाई गाली गर्दैमा असल भइने भए कति गर्दा हुन् गाली हाम्रा नेताले ? विदेशी प्रतिक्रियावादी, बिस्तारबादी, हैकमवादी, साम्राज्यवादी भनेर बाहिर बाहिर जति गाली गरेपनि नेपालका कुनैपनि दललाई तीनै विदेशी हैकमवादी, बिस्तारवादी नभै नहुने रहेछ । कुनैपनि दल चोखा रहेनछन् । पहिले पहिले त बरु फलाना दलका फलाना नेताले यस्ता यस्ता गुप्तचरसित भेट गरे रे भन्नेसम्म सुनिन्थ्यो । यी यी नेताले विदेशी गुप्तचरसित सम्पर्क गर्छन् भन्ने अखबारमा पढिन्थ्यो । तर अहिले ? तिन वटै प्रमुख दलले हाकाहाकी विदेशी गुप्तचरलाई साथमै राखेर बैठक बस्न थालेका छन् । हिजो बिहान त्यसै गरे कांग्रेस, माओवादी र एमालेले ।
माधव नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अहिले विदेशी चलखेल अति बढेको छ सतहमा नदेखीएपनि । भारतले विगतमा झैँ सकेसम्म फेरी आफ्नै लँगौटिया सरकार निर्माण गर्न खोजिरहेको छ । त्यसको लागि उसले प्रतिनिधि खटाएको छ- अमरेश कुमार सिं । उनी अहिले भारतीय राजदूत भन्दापनि बढि सक्रिय छन् । यद्यपि बाहिरचाँहि भारतीय राजदूतको सक्रियता देखिने गर्छ ।
भारतले कति गतिलो पात्र छानेको छ । अमरेशकुमार सिं नेपाली कांग्रेसको तर्फबाट पूर्व सांसद हुन् । काँग्रेसका नेतापनि । खासमा चाहिँ उनी भारतीय गुप्तचर संस्था “र” का लागि नेपालका प्रतिनिधि हुन् भन्नेपनि निकै पहिले देखिनै स्पष्ट भएकै हो । तीनै “र” का एजेन्टसित नेपालका नेताहरूको उठबस हुँदै आएको छ । हिजो बिहानै ६.३० बजे प्रचण्ड निवास नयाँ बजारमा एमाओवादीका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन बैद्य र डा बाबुराम भट्टराई भेला भए । त्यहाँ आइपुगे नेपाली कांग्रेसका क्रिष्ण सिटौला र शेखर कोइराला । अनि तेस्रो ब्यक्ति थिए- अमरेश कुमार सिं । उनीपनि नेपाली कांग्रेसकै तर्फबाट बार्ता टोलीकै सदस्य बनाएर लिएर गयो । माओवादीहरुले कुनैपनि नाईनास्ती गरेनन् । सहर्ष स्विकार गरे । किनकि माओवादी पो के कम ? बिगतमा तिनै एजेन्टसित माओवादीले पटक पटक वार्ता गरेकै हुन् नेपाली जनतालाई थाह नदिईकनै । अनि तीनै “र” का एजेन्टका अगाडि नेपालको सुरक्षा मामिला लगायतका विषयमा चर्काचर्की बहस गरे तिन वटै दलले ।
नेपालप्लस स्रोतका अनुसार दुई पक्षका नेताबिच वार्ता शुरु भएपछि माओवादी लडाकूको नेपाली सेनामा समायोजन गर्ने विषय उठ्नासाथ विवाद निस्किहाल्यो । माओवादीले लडाकू समायोजन तथा पुनर्स्थापनामा स्पष्ट कार्य योजना ल्याउनुपर्छ भनेर कांग्रेसका नेता कड्किए । त्यसको लगत्तै माओवादीका अध्यक्ष प्रचण्डले लडाकू समायोजन जस्तो जटिल प्रक्रियामा कसैलाई बाँधेर सहमति गर्न नसकिने र त्यस्तो जटिल विषय तत्काल समाधान हुन नसक्ने जवाफ दिए । उनले लडाकूसँग छलफल नगरि कुनैपनि दलको दबाबमा त्यो संभव नभएको जवाफ दिए । अनि दुबै पक्षबिच सहमतीको छाँटकाँट देखिएन । वार्तामा नेपाली कांग्रेसका तर्फबाट तिनै भारतीय गुप्तचर अमरेश कुमार सिं हावी भएका थिए । लडाकू समायोजनका विषयमापनि तिनै अमरेश कुमार सिं बढि कुड्किएका थिए ।




