नेपालीले राजदूत पाए फ्रान्सेली खुशि
झण्डै पाँच वर्षदेखि फ्रान्समा नेपाली राजदूत पद खाली थियो । स्वभावैले संयुक्त राष्ट्र संघका पाँच भिटो राष्ट्र मध्ये एक फ्रान्समा त्यति लामो समय राजदूत नुहुँदा नेपाललाई धेरै क्षेत्रमा घाटा पर्यो । नेपालले लिन सक्ने धेरै फाइदा गुमे । मुखले असल भनेपनि व्यवहारमा नेपाल-फ्रान्सबिचको कूटनीतिक सबन्ध सकारात्मक रहेन । अनि कोही नेपाली खुशि हुन्छ ? अहिले यतिका वर्षपछि नेपालीले बल्ल राजदूत पाएका छन् – मोहनक्रिष्ण श्रेष्ठ (दाहिने तिरका फ्रान्सेली परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल हुन् ) । नेपालीले राजदूत पाए यसै खुशि हुने नै भए । अझ खुशि फ्रान्सेली पो देखिएछन् त । शुक्रबार राजदूत मोहनक्रिष्ण श्रेष्ठले फ्रान्सेली राजदूत निकोला सारकोजी समक्ष ओहदाको प्रमाण पत्र बुझाएकै दिन त्यही खुशियालीमा फ्रान्सेली मित्रहरू जम्मा भएर हाम्रा राजदूतलाई बधाई दिए, शुभ कामना टक्र्याए ।
(तस्बिरमा दाहिनेबाट यूनेस्कोका नेपाली कर्मचारी, राजदूत मोहनक्रिष्ण श्रेष्ठ, दुतावासका काउन्सिलर जिवनप्रकाश श्रेष्ठ र फ्रान्सेली कूटनितिज्ञहरु)
एलिजे प्यालेसमा राष्ट्रपतिसित भेटमा श्रेष्ठले नेपाल भ्रमणको निम्तो दिएछन् । फ्रान्सेली राष्ट्रपतीले भनेछन् “यस यस”। नेपालका तर्फबाट राजदूत पाएकामा नेपाली व्यापारी, संघ संस्थाका प्रतिनिधि र नेपालका मित्रहरू रमाए । फ्रान्सेली पूर्व राजदूतहरू फँसिस द नोइयल, रोलँ बारो, मिसेल लुमोसमेत आएर बधाई दिएछन् ।
(तस्विरमा देब्रेबाट नेपालका प्रथम आरोही मोरिस हेर्जोग, हाम्रा राजदूत, हेर्जोग पत्नी र हाम्रा राजदूत पत्नी)
यस अघि नेपालको दूतावासको निम्तोमा खासै वास्ता नगर्ने नेपालका प्रथम आरोही फ्रान्सेली नागरिक मोरिस हेर्जोगपनि आए । नवनियुक्त राजदूत श्रेष्ठले नेपालको पर्यटन, निकासी, बैदेशिक लगानी प्रबर्द्धन तथा जलश्रोतको विकास र बैदेशिक रोजगार व्रिद्दी गर्ने अठोट गरे ।
कस्ता छन् त नयाँ राजदूत ?
उनी राजनीतिक क्षेत्रबाट नियुक्त नभएर परराष्ट्र मन्त्रालयबाट आएका हुनाले बैदेशिक मामिलामा राम्रो ज्ञान हुनु स्वभाविकै हो । शक्ति, पहुँच र सम्पन्नताका आधारमा नभएर सबै नेपाली सित राम्रो सबन्ध राख्ने र नेपालको प्रवर्धन गर्नुपर्छ भन्ने मान्यता राख्छन् । हामीसित पैसा नभएपनि पैसा भित्र्याउन सकिने अथाह स्रोत छ र त्यसलाई सदूपयोग गर्नुपर्छ भन्नेमा विश्वस्त देखिन्छन् उनी । यस अघि उनले जापान र यूएईमा बसेर प्रशंसनीय काम गरेको बताइन्छ । यूएईमा उनी कार्यवाहक राजदूत नै थिए । फ्रान्समा कार्य नगरेपनि उनले लामो समयदेखि फ्रान्स-नेपालबिचको संबन्धलाई नियाल्दै आएका छन् ।
ठुलै पारिवारिक प्रिष्ठभूमिका उनका परिवारमा फ्रान्सेली भाषा जान्ने उनी बाहेक धेरै नै छन् । उनी आफू फ्रान्सेली त बोल्छन् नै जापानी भाषामा अति राम्रो दक्षता राख्छन् । स्पेनी भाषामापनि उनको दख्खल छ । मुखले फ्याट्ट विरोध गरिनहाल्ने, अरूका कुरा सुन्ने र मिहिन रूपमा प्रस्तुत हुने बानी छ । उनी आफ्नो निर्णयमा अडिग रहन्छन् भन्नेपनि उत्तिकै छन् । परराष्ट्र मन्त्रालयमा उनी स्वच्छ छवि भएका, मेहनती कर्मचारीका रूपमा चिनिन्छन् ।
नेपाली दूतावासलाई सुधार गर्ने, नेपालका हरेक क्षेत्रलाई प्रवर्धन गर्न वार्षिक कार्यक्रमनै ल्याउने, नेपाल – फ्रान्सबिचको संबन्धलाई साँच्चै सुधारेर जाने र केही वर्षमा परिवर्तन महसुस गराउन सके उनी पक्कै सफल हुनेछन् । निकै वर्षदेखि लथालिंग रहेको नेपाली राजदुतावासलाई आएदेखि सुधार्न लागेका काउन्सिलर जिवनप्रकाश श्रेष्ठ (पहिलेका कार्यवाहक राजदूत) को साथ, लगनशिलता, कार्य तत्परता, मेहनत र अनुभव मिलेको छ उनलाई । त्यसलेपनि उनलाई सफल बनाउन पक्कै मद्दत गर्ने छ । तरपनि उनको कार्य क्षमताका बारेमा भने अहिलेनै टिप्पणी गर्नु चाहिँ हतार हुन्छ कि ?
(तस्बिरहरु – नेपाली दुतावास, पेरिस) ।






