गीत
-मोहन स्वरूप / उत्तराखण्ड, भारत
लाग्छ मलाई फूल बनी, रेशमी त्यो चुल्ठो सजाउँ
लाग्छ रूपको वर्णन गरी, एउटा ठूलो काव्य बनाउँ
°°°°°°°°°°°°°°°°°°°°°°°°°
वसन्तको पाउलो जस्तो, हुर्किएको जवानीमा
लाग्छ मलाई जून बनी, शीतका ती थोपा वर्षाउँ
°°°°°°°°°°°°°°°°°°°°°°°°°
मिरमिरेमा पूर्वबाट, अलिकति लाली चोरी
लाग्छ मलाई मुहारको, सौन्दर्यलाई अझै बढाउँ
°°°°°°°°°°°°°°°°°°°°°°°°°
उनका लागि सात सुर भई, आफ्नै एक धुन बनाउँ
लाग्छ रूपको प्याला पिई, आज नै यो रोधी सजाउँ




