कथा-प्रारम्भ
-विद्या सापकोटा
झ्यालबाट घामका किरणहरुले चियाइसकेका थिए । चारहरूको रहरलाग्दो चिरविराहट सुनिँदै थियो । हिजो छतमा वल्लोछेउ र पल्लाछेउ गर्दैमा घडीका सुईहरुले १२ नाघिसकेकाले पनि बिहान ढिला जागी ऊ । अनि हठात् ब्युँझिँदै गुन्गुनाइ, आबुई कति सुतेछु ?
ए रामु, घर सिरानदेखी पुछारसम्म राम्ररी पुछेस्, सबै कुरा ठाँउको ठाँउमा मिलाएर राखेस् है । हतार हतार कपाल मिलाउँदै, झ्यालबाटै कराउन भ्याई ।
सुन न सुधा, म आउँदैछु नी, अव त तिमी खुसी छौं नी हैंन ?
ह्या के सोध्छौं तिमी, यो पनि कुनै सोध्ने कुरा हो…….. ऊ बोलेकी थिई ।
वास्तवमै खुसी थिई ऊ । खुसी हुनु नै पर्ने थियो । चार वर्षदेखि विदेशीएको उसको लोग्ने सुबोध फर्कँदै थियो । आम्मामा मैले यो चार वर्ष कसरी बसेँ होला ? सोच्दा सोच्दै सिँढीमा थुचुक्क बसी ऊ ।
झट्ट उसका आँखा ओरिपरि विगतका चित्रहरु तैरिन थाले । स्कूल देखी नै उनीहरू एक अर्कालाई मन पराउँथे । पागलपन थियो त्यो मायामा, अनौठो चुम्बकीय आकर्षण । दुनियाँको आँखा छल्दै उनीहरू एक अर्कालाई भेट्थे । त्यतीले नपुगेर अलकचो उमेरमा भागेथे, आफ्नो घर संसारबाट मायाको संसार बसाउन । त्यसपछिका हरेक पल ऊ उसको काँधमा टाउको राखेर लोलाइरहन्थी । उसको ऊ ‘सुबोध’ एकोहोरो सपना बुन्थ्यो, सुनाउँथ्यो, फकाउँथ्यो ।
हामी एक अर्कासँग एकदम खुसी छौं तर हेर जीवन त लामो छ नी ।
हाम्रो विवशता कहाँ लुकेको छ र ?
हामीले आफ्नो लागि नभए नी हाम्रा हुने वाला मुनाका लागि त केही गर्नुपर्छ नी हैन ?
तिमी यहाँ पढ्दै गर, म केही समय मिहिनेत गर्छु त्यसपछि हाम्रो दुनियाँ, संसार कै अनुपम बन्नेछ । थोरै प्रतिक्षा गर ।
यस्तै यस्तै संझाएर एक दिन ऊ मरुभूमि भासियो । ऊ गएपछिका प्रत्येक पल सुधाका लागि भारी परे । ऊ एक्लै एक्लै सुकसुकाउथी, मुस्कुराउँथी अनि हराउँथी कता कता ।
म यसरी कति दिन बस्न सक्छु ? प्लिज…सहनै नसक्ने भएर फोन मै पनि भक्कानो छोड्थी ।
सुबोध पनि मरुभूमिको तातो बाफमा आशुको उष्णता मिसाएर कयौं बेर भक्कानिन्थ्यो । त्यस्तैमा च्यातिएको चोली लगाएकी सुधा, पढ्न नपाएर धूलोमा खेल्दै गरेको सानो बाबु, उसका आँखामा भोलि बनेर नाच्थे अनि ऊ झट्ट रोकिन्थ्यो ।
सुधा, मेरी प्यारी ! अव थोरै प्रतिक्षा गर । अवरुद्ध गलाबाट निस्कन्थ्यो ।
तिमीलाई घरमा एक्लै बस्दा बस्दा बोर भयो है । मेरो साथीको अफिसमा कर्मचारी चाहिएको रहेछ । त्यहाँ ट्राइ गर न त । मन पनि बहलिन्छ । उसैले एक दिन फोन गरेर भन्यो ।
उसलाई सुबोधको कुरा चित्त बुझ्यो ।
सुबोध रातदिन नभनी उता सपनाका महल बनाउँदै थियो यता सुधा आफ्नो काममा रमाउँदै । बिहान बेलुका एक्लै हुँदा मनमा विचारहरूको हुन्डरी चल्थे । विस्तारै काममा रमाउन थाली ऊ । क्रमशः उसका हर किसिमका दुख सुख साट्ने, हर्ने काम सुबोध हैन उसैको मित्र सरोजले जिम्मा लियो । सुधालाई लाग्न लागेको थियो, आफ्नो सफलताको एक मात्र राज सरोज नै हो । आफ्नो सफल पहिचानमा ऊ हराइनै सकेकी थिई ।
यस्तैमा सुबोधले फर्कने कुरा गर्यो । सधैँ आऊ कि आऊ भनेर चिच्याइरहने ऊ सुबोध फर्कने कुराले पनि खुल्न सकिन यस पाला । मनै त हो । सधैँ राम्रै विचार आउँछ भन्ने पनि त हुन्न । नचाही नचाहिकन पनि कयौं पटक उसको तन्द्रामा सरोज, सुबोधसँग जोडिएर आइरहे ।
सरोज एक उच्च पदस्थ कर्मचारी, उँचो छवि । उसको आगमन मै गुडमर्निङ्ग सर भन्नेहरूको झुण्ड लाग्थ्यो ।
सुबोध इन्टर पनि नसकाई मुगलान भासिएको एउटा लाचार मान्छे ।
अरे…….. म पनि के सोच्छु छि । जे भएपनि, जस्तो भएपनि ऊ मेरो प्रेम हो, लोग्ने हो ।
अनि सरोजसँगको सामित्यता ? आफ्नै सवालका टक्करले टाउको खान्थ्यो ।
मनमा दुर्भावना मडारिँदै जाँदा उसलाई रिँगटा लाग्दैनथ्यो ।
म्याडम ,सरको फ्लाइट त सर्यो रे । अव भोलि बिहान ८ बजे मात्र आउनुहुन्छ रे । रामु चिच्याउँदै आयो ।
हँ……हो र ?
अँ हजुरको मोवाइल रिसिभ भएन रे, त्यसैले ल्याण्डलाइनमा फोन गर्नु भएछ ।
ला , मेरो ध्यान … मोवाइल मिसकल प्रशस्त देखेर झस्किइ ऊ ।
भित्तामा झुन्डिएको घडीले ११ बजेको संकेत गर्दै थियो । मन एकतमासको भइरहेको थियो । यसैपनि रहरले घरमा बसेकी थिइन ऊ । त्यसमा पनि सुबोध नआउने भएपछि किन बसिरहनु ऊ हिँडी । सुबोध/सरोज,सरोज/सुबोध विभिन्न भावभङ्गीमा ऊ माथि साम्राज्य जमाउँदैथे । ऊ कहिले आफूलाई दोषी देख्थी, कहिले सुबोधलाई नालायक…..र्. तर्कनै तर्कनामा अफिस आइ पुग्यो ।
उसको कार्य कक्ष जाँदा जाँदैको ढोका छेउमा थियो । यताउता कोही देखिएनन् । कहाँ गए छन् सबका सब ? सोच्दा सोच्दै ऊ आफ्नो सिटमा पुगी । थचक्क बस्नै लागेकी मात्र थिई सँगैको यानकी सरोजको कोठाबाट छुट्दै गरेको अट्टहास कानैमा ठोक्किए ।
एक्कासी तपाइको सरुवाको खबरले कसै कसैको त ज्यानै जाने भो नी ?
हामीलाई त छड्के आँखा पनि लगाउँदिन त……यसो कुरा मिलाइ दिएर जानुस् यार । कुइरे बस्नेतले साउती मार्यो ।
तपाइहरू खुसी हुनुहोस् बस्नेत जी/कल्याण जी अव चिट्ठा तपाइहरूको भागमा । सुबोध नुहुँदा मैले लिएको ठाम अव निस्फिक्रि लिनोस् ।
तपाई र सुबोध त मिल्ने साथी त्यस्तो नगर्नू पर्ने थियो कि ? ख्याउटे कल्याणले अट्टहास छाड्यो ।
पाकेको फल टिपेर खान छाडेर यसको/उसको भन्दै को मुख वायर बस्छ यार ! नामर्द कुरा नगर्नुस्, टिप्नुस्, खाइहाल्नुस् । हा हा हा…………..सरोजको धोत्रो स्वरले उसको कान छेडे । कम्पारो तातेर आयो ।
त्यो भन्दा बढि सुन्न सकिन उसले । उसलाई पुरै धर्ती फाटे झैँ लाग्यो । उसका हात कामे । कम्पन छुट्यो । आफूलाई नमस्कार म्याडम, केही पर्यो भने भन्नुस् है भन्ने ती अनुहारदेखि घृणा उम्लिएर आयो । आफ्नो जागिर, पद र अभिवादन प्रति नै ग्लानि भएर आयो । उसका हात यन्त्रवत चले । एकैछिनमा पत्र तयार भयो ।
ढ्याङ्ग ढोका तान्दै ऊ पल्लो कोठामा पसी ।
यहाँ, सही गर्नुस् सरोज जी । ऊ जंगिई ।
हँ……..म्याडम तपाई यहाँ ? सबै जना एक अर्का मुखमा हेर्न लागे ।
सरोज रातोपिरो देखियो ।
यो मेरो राजीनामा पत्र, तपाइको जागिर तपाई खानुस् हाकिम सा’प…….दाह्रा किट्दै फन्फनिदै हिँडी ऊ । टक्टक् जुत्ता बजेको आवाज एकैछिनमा विलीन भयो । उसले महसुस गरी, सुबोध विना संसारमा ऊ कत्ति एक्लै रहिछ । छटपटि मै उसका रात विते ।
भोलिपल्ट बिहानै, एउटा बुके बोकेर एयर पोर्टतिर लागि ऊ । उसको हिँडाईमा जीवन थियो । उसका अंग अंग स्वतस्फूर्त खुलेका थिए । फूल झैँ देखिई ऊ, नयाँ जीवनको प्रारम्भमा ।
–हालः शंकरदेव कलेज, काठमाडौं




