दास शासक
-नास्तिक / बंगलादेश
युद्धको दुन्दुभी मच्चाएर
अट्टहास गर्दै
फेरि शान्तिको लागि भन्दै
विदेशी प्रभुसँग
हतियारको भिख मागेर
सत्तामा शान्त हुन चाहन्छ
भिखारी शासक !
°°°°°°°°°°°°°°°°°°°°°°
दिनरात टेलिभिजनका पर्दाहरुमा
दाँत ङिच्च्याएर
“हामी शान्ति चाहन्छौ”
भनिसकेर
लगत्तै
हेलिकप्टरबाट बारुदको गोला
झार्ने आदेश दिन चाहन्छ
नौटंकी युद्धप्रेमी शासक !
°°°°°°°°°°°°°°°°°°°°°°
विदेशीको खटनमा
खाईपिई गरेर
शौच गरेर
उठबस गरेर
अन्त्यमा, म स्वतन्त्र देशको
स्वतन्त्र नागरिक भन्छ
मूख्यमन्त्री दास शासक !
°°°°°°°°°°°°°°°°°°°°°°
कवितामा अलिकति हाँसोखुशी भरुँ भन्छु
कसैलाई गाली नगरुँ भन्छु
पटक पटक मलाई असफल बनाउँछ
ज्यानमारा राष्ट्रघाती शासक !!





