आगमन

विद्या सापकोटा

चाहनाले आक्रान्त हुँदै

देउरालीको चोखो ढुङ्गामा

म खोप्दैछु आफ्नो खोपेचित्र

नियालिरहेकोछु,

झरनाको पानिमाथी

आफ्नै प्रतिबिम्ब ।। 

°°°°°°°°°°°°°°°°°°°°

 व्याकुल हुँदै प्रतिक्षामा

उमङ्गको घडासहित

उभिँदैछु संघारमा….

किनकी

म प्रतिक्षामा छु

पर्खाइमा छु कसैको

जो आउँदैछ

डँडाल्नामा भारी बोकेर

मेरो मन हल्का पार्न

पसिनाको गन्ध र दागले

छोपिदैं आफू, मलाई सिँगार्न  ।।  

°°°°°°°°°°°°°°°°°°°°

 आउँदैछ,

हो, कोही आउँदैछ

सपना खोज्दै मैतिर

मिहिनेतले रंगिएका चेहरा

देशप्रेममा खुम्चिएका

आँखाका किनाराहरुमा

प्रेमको दीप जलाउँदैं

आशाको जल्जलाउँदो विम्ब बोकेर ।। 

°°°°°°°°°°°°°°°°°°°°

 नियतीले चुँडालेका

ती कोमल मुनाहरु

संगाल्दै/चुम्दै, चुम्दै/संगाल्दै

देश दुख्दा लागेको घाउ

छाम्दै /सुम्सुम्याउँदै

हिमाली हाँसो हाँस्दैं/मुस्कुराउँदै

बिना संकोच आफ्नो माटोमा

प्रेम फूल उमार्दै/फुलाउन

हो, आउँदैछ ऊ

आशा हराएको बेला,

सम्भावनाको पूल  बनेर ।। 

°°°°°°°°°°°°°°°°°°°°

 साँच्चै,

गहिरो प्रेममा छु म 

अनि आतुर आगमनमा 

आइरहेछ ऊ दुरदेशबाट,

स्वाभिमानको कोदाली काँधमा भिरेर

मनका ड्याङ्गहरुमा प्रेमका मुनाहरु उमार्न

प्रेमिल सुगन्धले पसिनाको गन्ध मेटाउँदै

आत्मिक चुम्बनले हातका ठेलाहरु लुकाउन

खडेरीले खाएको उजाड बस्ती यो

जहाँ विश्वास र र्समर्पणको मूल फुटाउन  ।। 

°°°°°°°°°°°°°°°°°°°° 

हो, टुंग्याउँदैछ प्रतिक्षा……

फर्किँदैछ दुरदेशबाट,

माटो आफ्नो सुँघ्दै/पहिल्याउँदैं

कर्मयोगी नेपाली ऊ

स्वतन्त्रताको पक्षधर,

युग आवाज ऊ

भिरपाखा उजिल्याउने,

प्रेमिल ज्वाला ऊ

आफ्नो भाग्य आफैं कोर्ने

स्वाभिमानी योद्धा ऊ

मेरो प्रेम अनि जीवन

…………………..”मेरो ऊ” ।। 

कल्याणपुर ७, नुवाकोट

हालः शंकरदेव कलेज, काठमाडौं ।

तपाइँको प्रतिक्रिया