आगमन
–विद्या सापकोटा
चाहनाले आक्रान्त हुँदै
देउरालीको चोखो ढुङ्गामा
म खोप्दैछु आफ्नो खोपेचित्र
नियालिरहेकोछु,
झरनाको पानिमाथी
आफ्नै प्रतिबिम्ब ।।
°°°°°°°°°°°°°°°°°°°°
व्याकुल हुँदै प्रतिक्षामा
उमङ्गको घडासहित
उभिँदैछु संघारमा….
किनकी
म प्रतिक्षामा छु
पर्खाइमा छु कसैको
जो आउँदैछ
डँडाल्नामा भारी बोकेर
मेरो मन हल्का पार्न
पसिनाको गन्ध र दागले
छोपिदैं आफू, मलाई सिँगार्न ।।
°°°°°°°°°°°°°°°°°°°°
आउँदैछ,
हो, कोही आउँदैछ
सपना खोज्दै मैतिर
मिहिनेतले रंगिएका चेहरा
देशप्रेममा खुम्चिएका
आँखाका किनाराहरुमा
प्रेमको दीप जलाउँदैं
आशाको जल्जलाउँदो विम्ब बोकेर ।।
°°°°°°°°°°°°°°°°°°°°
नियतीले चुँडालेका
ती कोमल मुनाहरु
संगाल्दै/चुम्दै, चुम्दै/संगाल्दै
देश दुख्दा लागेको घाउ
छाम्दै /सुम्सुम्याउँदै
हिमाली हाँसो हाँस्दैं/मुस्कुराउँदै
बिना संकोच आफ्नो माटोमा
प्रेम फूल उमार्दै/फुलाउन
हो, आउँदैछ ऊ
आशा हराएको बेला,
सम्भावनाको पूल बनेर ।।
°°°°°°°°°°°°°°°°°°°°
साँच्चै,
गहिरो प्रेममा छु म
अनि आतुर आगमनमा
आइरहेछ ऊ दुरदेशबाट,
स्वाभिमानको कोदाली काँधमा भिरेर
मनका ड्याङ्गहरुमा प्रेमका मुनाहरु उमार्न
प्रेमिल सुगन्धले पसिनाको गन्ध मेटाउँदै
आत्मिक चुम्बनले हातका ठेलाहरु लुकाउन
खडेरीले खाएको उजाड बस्ती यो
जहाँ विश्वास र र्समर्पणको मूल फुटाउन ।।
°°°°°°°°°°°°°°°°°°°°
हो, टुंग्याउँदैछ प्रतिक्षा……
फर्किँदैछ दुरदेशबाट,
माटो आफ्नो सुँघ्दै/पहिल्याउँदैं
कर्मयोगी नेपाली ऊ
स्वतन्त्रताको पक्षधर,
युग आवाज ऊ
भिरपाखा उजिल्याउने,
प्रेमिल ज्वाला ऊ
आफ्नो भाग्य आफैं कोर्ने
स्वाभिमानी योद्धा ऊ
मेरो प्रेम अनि जीवन
…………………..”मेरो ऊ” ।।
कल्याणपुर ७, नुवाकोट
हालः शंकरदेव कलेज, काठमाडौं ।





