भर्याङ
–अनिल रुपाखेती
मेहनतीहरु उक्लिरहेछन् ।
सक्तहरु चढिरहेकाछन् ।
असक्तहरु सहाराको खोजीमा
तल्लो खुड्किलामा अड्किरहेकाछन् ।
तर म जहाँको तहिँ नै छु,किनकि म भर्याङ हुँ ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
प्रगतिशिलहरु खुड्किला फड्कँदैछन् ।
चिन्तकहरु खुड्किला गन्दैछन् ।
भन्दैछन भर्याङ के हो ?
यसको जीवनमा के महत्व छ ।
यथास्थितिवादीहरु भर्याङ ओगट्दैछन
न आफु चढ्छन न अरुलाई चढ्छन नै दिन्छन,
बुढो साँढेले बाच्छी ओगटे जस्तै, भन्दैछन
भर्याङ मेरो हो म भर्याङको ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
स्वार्थीहरु आफु चढेपछि भर्याङ झिक्ने दाउमा छन्।
अवसरवादीहरु आफु चढेपछि भर्याङ नै भाँच्ने दाउमा छन् ।
आम मानिसहरु भर्याङ जोगाउन पहरा दिइरहेका छन ।
तर म के गरुँ, मेरो कुनै दाउ छैन ।
भर्याङ बाहेक मेरो कुनै बाउ छैन ।
बिना भर्याङ मेरो जिवनको कुनै भाउ छैन ।
त्यसैले भर्याङलाई बचाउन आफैं मर्नु बाहेक अर्को उपाय छैन ।
पलपलमा मरिरहेछु ।
तर थयार्थमा मर्ने मेरो कुनै हृयाउ छैन ।





