गडिमाइ
-कपिल अधिकारी / ताइपे, ताइवान
शक्ति को खोजीमा
शक्ति पीठमा
दिईन्छ बलि, आहूति
शक्ति प्राप्ति को खातिर
रगत को आहाल मा शक्ति आँउछ रे
उसले मुक्ति पाँउछ रे
त्यसैले शीर छेदन
बोको, राँगो, भैंसी, कुखुरा हाँस, भेडाहरूको
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
अरूलाई बलि चढाएर
शक्ति पाइने,
सत्ता पाइने भएपछी
यो नै हाम्रो संस्कृति रहेपछि
धनीराम हरू ले किन नपठाउनु
झुण्ड का झुण्ड
छेदन गर्न र छेदिन तयार टाउकाहरू
सडकमा, ब्यारेकमा, पोस्टमा
अज्ञानी भनिएका
बोको, राँगो, भैंसी, कुखुरा, हाँस, भेडाहरू
मुक्तिको, रक्षाको खातिर
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
जताततै छिन् गडिमाइ
पहाड, तराई, हिमाल जताततै
जता ततै छन् शक्ति का पुजारी
सत्ताका पुजारी
यो देशै सींचेको छ रगतले
राष्ट्रिय झन्डै रातो छ भिजेर
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
नरिवल फुटाएर हुने भए
किन दिने होला पंचबलि ?
कुनै दिन
मन्दिर नै मन्दिरको देश,
मन्दिर नै मन्दिरको शहर
अब,
सहिदहरूको देश भएको छ
सहादत प्राप्त गर्नेहरूको देश भएको छ
कति हजार नाम छन् !
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
अचम्म लाग्छ
अझै के सोच्दै होलान ?
के गम्दै होलान ?
यी सत्ता – शक्ति को पुजारी धनीरामहरू
गडिमाइको अगाडीको रक्त भेलमा उभिएर
नरिवल को
अथवा
फेरी अर्को बलि को,
थप नरवली को,
किन यी आँफै लाइ चाँही चढाउँदैनन् बलि ?
के यो भूमि लाई रगत अझै पुगेको छैन ?




